|
फाइल तस्वीर

पोखरा : ‘वर्डक्याम्प नेपाल’को छैठौँ संस्करण कास्कीको पोखरामा हुने भएको छ।

सूचना प्रविधिको क्षेत्रमा महाकुम्भ मेलाका रुपमासमेत लिइने उक्त सम्मेलन सन् २०२४ को जनवरी १२ र १३ तारिखमा हुने तय भएको छ। आयोजक समितिका सदस्य पारस देवकोटाका अनुसार वर्डप्रेस नेपालले सन् २०१२ देखि नेपालमा वर्डक्याम्प आयोजना गर्दै आएको छ।

पछिल्लो पटक वर्डक्याम्प सन् २०२२ मा भरतपुरमा सम्पन्न भएको थियो। ‘वर्डक्याम्पहरू अनौपचारिक तथा स्थानीय रूपमा सङ्गठित सम्मेलन हुन् जसले वर्डप्रेस सफ्टवेयरसँग सम्बन्धित विभिन्न विषयका बारेमा जानकारी दिने, प्रशिक्षण गराउने साथै आपसी सहयोग तथा सहकार्यलाई मजबुत बनाउन भूमिका खेल्छन्,’ उनले भने।

वर्डप्रेस एक निःशुल्क तथा खुला स्रोतको व्यक्तिगत प्रकाशन सफ्टवेयर भएको जानकारी दिँदै देवकोटाले यसको प्रयोगले आज विश्वभर झन्डै ४० प्रतिशत वेबसाइटको उत्पादन र सञ्चालनमा प्रत्यक्ष सहयोग पुगेको बताए।

विश्वमा पहिलो वर्डक्याम्प सन् २००६ मा वर्डप्रेसका सह–संस्थापक म्याट मुलेनवेगको अगुवाइमा अमेरिकाको सान–फ्रान्सिस्कोमा सम्पन्न भएको थियो। त्यसयता विश्वभरका वर्डप्रेस सम्बद्ध स्थानीय समुदायको सहकार्यमा सयौँं अरू वर्डक्याम्प सम्पन्न भएका छन्।

आजसम्म ६५ देशका ३९१ सहरले १ हजार १७२ वर्डक्याम्प सम्पन्न गरिसकेको देवकोटाले जानकारी दिए।

कार्यक्रममा नेपाल, भारत, अमेरिका, युरोपका विभिन्न देश, बङ्गलादेशलगायतबाट झन्डै एक हजार स्वदेशी तथा विदेशी प्रतिनिधि सहभागी हुने बताइएको छ।

सम्मेलनमा वर्डप्रेस सफ्टवेयरलाई अझ सुरक्षित, उत्कृष्ट तथा सबल बनाउन कसरी योगदान गर्न सकिन्छ भन्ने सम्बन्धमा छलफलसँगै राष्ट्रिय तथा अन्तरराष्ट्रिय वक्ताले वर्डप्रेसका साथै सूचना प्रविधिसम्बन्धी विभिन्न विषयमा जानकारी एवम् प्रशिक्षण दिने जानकारी देवकोटाले दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.