सागमा स्वर्ण पदक जित्न कसरत

|

ललितपुर : स्क्वास खेलाडी स्वस्थानी श्रेष्ठ अहिले दिनहुँ मेहनत गरिरहेकी छिन्। पहिलो पटक एशियाली खेलकुदमा सहभागी हुन लागेकी उनलाई कसरी हुन्छ राम्रो प्रदर्शन गर्ने हुटहुटी चलेको छ।

९ औँ राष्ट्रिय खेलकुदमा रजत जित्न सफल भएकी उनले केही दिनअघि सम्पन्न पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगितामा तृतीय स्थान हासिल गरेकी थिईन्। 

१९ औँ एशियाली खेलकुद प्रतियोगितामा नेपालले स्क्वासमा ३ इभेन्ट्सबाट ५ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्न लाग्दा महिला खेलाडी स्वस्थानी पनि भाग लिने टोलीमा अटाएकी छिन्। 

पहिलो पटक महिला टोलीले भाग लिन लाग्दा दोलखा घर भएकी स्वस्थानी पनि ओलम्पिकपछिको सबैभन्दा विश्वस्तरको प्रतियोगिता एशियाडमा खेल्न लागेकी हुन्।

उनले महिला टिम्स इभेन्ट्समा विपना ब्लोन र  कृष्णा थापासँगै खेल्ने छिन्। त्यसैगरी मिक्स डबल्समा स्वस्थानीले अमिर ब्लोनसँग मिलेर प्रतिस्पर्धा गर्ने छिन्।

​ उनले नेपाल स्क्वास एण्ड र्‍याकेट्स संघ (एनएसआरए)को सातदोबाटोस्थिति स्क्वास हलको कोर्टमा दिनको २ पटक अन्य खेलाडीसँगै प्रशिक्षण लिइरहेकी छिन्।

‘प्रशिक्षण राम्रो भइरहेको छ, हामीले आफ्नो तबरबाट पनि सक्दो प्रयास गरिरहेका छौँ,’ उनले भनिन्, ‘हिरा गुरुले पनि हामीलाई राम्रो प्रशिक्षण दिईरहनु भएको छ।’

हरेक दिन विहान १० देखि १२ बजेसम्म र दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म प्रशिक्षण हुने गरेको छ। बुधबार भने एक समय विहानमात्र प्रशिक्षण रहेको छ।

धेरै माथिल्लो स्तरका टिमसँग खेल्नुपर्ने भएकाले पदक नै ल्याउन कठिन भए पनि विपक्षीको प्वाइन्ट लिन सक्दो प्रयास गर्ने उनले बताईन्। ‘सकेसम्म गेम नै जितौँ भन्ने चाहना हो,’ उनले हाँस्दै भनिन्, ‘तयारी राम्रै छ, हेरौँ के हुन्छ।’ 

सन् २०१३ बाट खेल्न सुरु गरेकी उनले २०१५ देखि २०१७ सम्म पढाईका कारण खेल्न छोडीन्। विदेश जाने योजना सफल नभएपछि उनी फेरि सन् २०१८ बाट स्क्वास खेलमै फर्किएकी छिन्। 

नवौँ राष्ट्रिय खेलकुदपछि राष्ट्रिय स्तरमा रमाएकी स्वस्थानी एशियाली खेलकुदमा अनुभव बटुलेर दक्षिण एशियाली खेलकुदमा राम्रो पदक जित्ने ध्याउन्नमा छिन्।

‘एशियाली खेलकुद नौलो–नयाँ मात्र नभएर अनुभव लिएर दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदकसम्म जित्ने माध्यम बन्न सक्छ भन्ने विश्वास छ,’ उनले भनिन्, ‘हामी हाम्रोभन्दा स्तर माथिका खेलाडीसँग विदेशमा गएर अभ्यास म्याच खेलेर हुन्छ या उनीहरुलाई यही बोलाएर खेल्न सकिन्थ्यो, यसले हाम्रो स्तर उकासिन्थ्यो।’

आगामी असोज ६ गतेदेखि २१ गतेसम्म चीनको हाङझाउमा हुने एशियाली खेलकुदमा नेपालले भाग लिने २९ खेलमध्येको एक स्क्वास हो। 

यसअघि सन् २०१८ को १८औँ एशियाली खेलकुदमा नेपालले स्क्वासको पुरुष ओपन र टिम इभेन्ट्समा प्रतिस्पर्धा गरेको थियो। जुनबेला नेपालको प्रदर्शन सहभागितामै सीमित थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.