दुर्वाष्टमी पर्व पनि मनाइँदै

|

काठमाडौं : उमामहेश्वरको पूजा गरेर सुदूरपश्चिमले बिहीबार उज्याली गौरा पर्व मनाउँदैछन्। 
 

यो पर्व चान्द्रमासअनुसार भाद्र महिनामा मनाइने भए पनि यो वर्ष भाद्र शुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले श्रावण शुक्ल अष्टमीमै मनाउन लागिएको हो।

चान्द्रमासअनुसार भाद्र महिनाअगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने श्रावण शुक्ल अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्रा.तोयराज नेपालले बताए।  
      
शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ। यसैले यो वर्षको गौरालाई उज्याली भनिएको छ। 
   
कन्या राशिमा सूर्य गएपछि अर्थात् असोज महिना लागेपछि पनि गौरा मनाउनु हुँदैन। सिंह राशिमा सूर्य भएका बेला अर्थात् भदौ महिनामा गौरा मनाउनुपर्ने मानसखण्ड, निर्णय सिन्धु, हेमाद्रिलगायत ग्रन्थमा उल्लेख गरिएको छ।

गौरालाई सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन्। राजधानीमा पनि सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसको बसोबास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको हो। 
  
सत्य युगमा हिमालय पुत्री पार्वतीले ‘महादेव स्वामी पाऊँ’ भनी वर्षा ऋतुको भाद्र महिनामा तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन सुरु गरिएको देउडा संस्कृतिविद् गायक नन्दकृष्ण जोशीले जानकारी दिए।
  
गौरा पूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा, तितेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ। यसरी बनाइएको देवीलाई भाद्र कृष्ण अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर व्रतालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको देउडा संस्कृतिविद् जोशीले बताए।
 
देवीलाई गाउँका नायकले भित्र्याउनुपर्ने चलन छ। यसरी भित्र्याउँदा कसैले पनि हेर्नु नहुने मान्यता छ। गौरा भित्र्याउने घरमा जम्मा भएका गाउँलेले खोज्दा नभेट्ने गरी नायकले लैजान्छन्। ‘यो पर्वका लागि श्रावण शुक्ल पञ्चमीका दिन केराउ, जौ, मस्याङ, मास र गुराँसको गेडा भिजाएर राखिन्छ, यसलाई बिरुडा भनिन्छ, अष्टमीमा भगवतीलाई पूजा गरेर प्रसादका रुपमा बिरुडा चढाइन्छ, भक्तजनलाई पनि प्रसादका रुपमा बिरुडा नै बाँडिन्छ, पाँच किसिमका गेँडागुडी भिजाउने दिनलाई बिरुडा पञ्चमी भनिन्छ’, उनले भने।

यसरी दुई तीन दिन पूजा गरिसकेपछि मंगल र शनिबार नपारी देवीलाई नदी, कुवा, पोखरी वा जलाशयमा लगी सेलाइन्छ। जुठो, सुतक परेका बेला देवीलाई विसर्जन गर्न नहुने परम्परा छ। देवीलाई विसर्जन गरेपछि मागल अर्थात् मांगलिक कर्ममा गाइने भजन, गीत आदि गाएर रमाइलो गर्ने परम्परा छ। देशका अन्य भागमा तीज मनाए जस्तै पश्चिममा यो पर्व विशेषगरी नारीले मनाउने गरेका छन्।   

आज दुर्वाष्टमी पनि 
  
दुवोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दुर्वाष्टमी पनि भनिन्छ। विशेषगरी मध्यपश्चिममा यो पर्व मनाइन्छ। दुवो जसरी फैलिन्छ त्यसरी नै सन्तान, दर सन्तान फैलियुन् भन्ने कामनाले यो पर्वमा उमा महेश्वरको पूजा, उपासना र व्रतसमेत गरिने धार्मिक नियम छ। 

सन्तान राम्रा र गुण सम्पन्न हुन्, आयु तथा स्वास्थ्य राम्रो होस् भन्ने कामनाले पनि गौरा एवं दुर्वाष्टमी पर्व मनाइन्छ। अष्टमीका दिनमा पूरै ज्येष्ठा र मूल नक्षत्र परेमा भने दुवोको पूजा गर्न नहुने शास्त्रीय मान्यता रहेको पनि धर्मशास्त्रविद् नेपालले बताए। अष्टमी तिथिभर ज्येष्ठा र मूल नक्षत्र नपरेमा भने दुवोको पूजा गर्नहुन्छ भन्ने शास्त्रीय मान्यता छ। 

यस दिन दुवो र गौराको पूजा गरे सौभाग्य, सन्तान प्राप्त हुने, कार्य सिद्धि हुने धर्म ग्रन्थ हेमाद्रिमा उल्लेख गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.