|

सल्यान : सल्यानको त्रिवेणी गाउँपालिकाका तिलक बोहराले भैँसीपालनबाट मनग्गे आम्दानी गर्दै आएका छन्। विगत ६ वर्षदेखि व्यावसायिक भैँसीपालन गर्दै आएका बोहराले मासिक ६० हजारभन्दा बढी आम्दानी गर्दै आएका छन्।

विदेशमा गएर पसिना बगाउनुभन्दा देशमै श्रम गर्दासन्तुष्टि मिल्ने बताउँदै उनले विदेशमा जत्तिको श्रम स्वदेशमै गर्न सके यहीँ मनग्गे आम्दानी हुन्छ। ठूला १० र साना ५ गरी १५ भैँसी पाल्दै आएका बोहराले दैनिक दुई हजारका दरले मासिक ६० हजारभन्दा बढी आम्दानी हुँदै आएको बताए। 

साथीभाइ विदेश जान थालेपछि आफू कतार गए पनि गत ५ महिनामै विरामी भएपछि स्वदेश फिर्ता भएको उनको भनाइ छ। उनले भने, ‘गाउँ समाज स्वदेशमा बस्नेभन्दा विदेश जानेको लहर बढी छ। त्यही लहरमा म पनि कतार गएँ तर पुगेको ५ महिना नहुँदै बिरामी परेर फर्किएँ।’ 

विदेश जाँदा लागेको ऋण तिर्न नपाउँदै स्वदेश फर्किएपछि आफ्नै गाउँघरमा केही गर्छु भन्ने सोचका साथ भैँसीपालनमा लागेको उनले बताए। दूधको बजारीकरणका लागि समस्या नभएको उनको भनाइ छ। घरदेखि एक मिनेट पनि नलाग्ने ठाउँमा गाउँपालिकाले डेरी सञ्चालन गरिदिएको छ।

‘साँझबिहानको दूध त्यही डेरीमा लगेर बेच्छु’, उनले भने। प्रतिलिटर ८० का दरमा डेरीले दूध संकलन गर्ने गरेको बोहराले बताए। पहिले त्रिवेणी गाउँपालिकाले प्रतिलिटर दुई रुपैयाँ र अहिले कर्णाली प्रदेश सरकारले प्रतिलिटर ५ रुपैयाँ लिटर अनुदान दिएपछि किसानलाई सहज भएको उनको भनाइ छ।  

यसैगरी बनगाड कुपिण्डे नगरपालिका–१ का दीपबहादुर बस्नेत व्यावसायिक भैँसीपालनमा चार वर्षदेखि रमाउँदै आएका छन्। साना ठूला गरी २३ भैँसीपालन गर्दै आएका उनले मासिक ८० हजार आम्दानी गर्दै आएका छन्।

२०७७ सालदेखि जनप्रिय भैँसीपालन फर्म दर्ता गरी ३ वटा भैँसीबाट व्यावसाय सुरु गरेको उनले बताए। उनले भने, ‘पैसा कमाउन र जीविकोपार्जन गर्न जागिर खानैपर्छ वा विदेश जानैपर्छ भन्ने छैन। आफूले पढेको कुरा व्यवहारमा लागू गर्ने हो भने कृषि व्यावसाय राम्रो क्षेत्रका रूपमा सावित हुन सक्छ।’ 

सल्लीबजारमा डेरी नहुँदा दूध बिक्रीमा भने समस्या रहेको बस्नेतको भनाइ छ। गाउँघर र बजारमा अहिले बिक्री भइरहे पनि धेरै दूध उत्पादन भएको समयमा बिक्री गर्न समस्या हुने गरेको उनले बताए।

राज्य नारामा मात्र सीमित नभई कृषि व्यवसायमा लाग्नेलाई व्यावहारिक रूपमा सहयोग गरे कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन सके कृषिमा आत्मनिर्भर हुनेको संख्या बढ्ने उनको धारणा छ। उत्पादित कृषि सामग्रीलाई उचित बजारको व्यवस्था गर्न सकेमा किसानलाई थप हौसला प्राप्त हुने उनको अनुभव छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.