काठमाडौंका सडकमा २० हजार कुकुर रहेको अनुमान

|

काठमाडौं : काठमाडौं उपत्यकाभित्र पछिल्लो समय देखिएको जल्दोबल्दो समस्या हो– सडकका कुकुर। बाटोमा मानिसलाई छाडा कुकुरहरूले आक्रमण गर्दा सर्वसाधारणहरू ज्यानको जोखिम मोलेर हिँडीरहेका छन्।

तर यसको व्यवस्थापन गर्नेतर्फ भने काठमाडौं महानगरपालिका उदासीन छ। महानगरपालिकाको कृषि तथा पशुपक्षी विभागले अपेक्षित काम नगरेको र यसका लागि छुट्याएको बजेट सधैँ फ्रिज हुने गरेको भन्दै महानगरपालिकाकै जनप्रतिनिधिहरूले गुनासो गरेका छन्।

गत साउन ३२ गते २१ औं नगर कार्यपालिका बैठकमा महानगरपालिका वडा-७ का अध्यक्ष विमलकुमार होडाले अपेक्षाअनुसार कुकुर बन्ध्याकरणमा काम नभएको भन्दै आक्रोश पोखे।

उनले भनेका छन्, ‘कुकुर व्यवस्थापनको विषयमा आजको दिनसम्म पनि मलाई दुःख लागेको छ, हाम्रो भेटेरिनरी डाक्टरले यो काम गर्न सकेको छैन, हामीले दैनिक निजी संघसंस्थाबाट गर्नुपर्ने अवस्था आएको छ, यत्रो बजेट फ्रिज भएको छ, प्रयोग हुन सकेको छैन।’

उनले भुस्याहा कुकुर कसरी व्यवस्थित गर्ने भनेर सिर्जनात्मक छलफल गरिएको तर कार्यान्वयन नभएको बताए। उनका अनुसार कुकुर बन्ध्याकरणका लागि बजेट छुट्याए पनि त्यसको उपयोग नभएका कारण फ्रिज भइरहेको छ। 

उनले कुकुरमात्र नभइ बाँदर, गाई, साँढेलगायत पशुपन्छीहरूलाई पनि व्यवस्थापन गर्नुपर्ने बताए। ‘अब यी पशुपन्छीहरूलाई कसरी व्यवस्थापन गर्ने भनेर कार्यविधि बन्ने कुरा छ, अब व्यवस्थापन हुँदै जान्छ होला,’ उनले भने।  

महानगरपालिका कृषि तथा पशुपक्षी विभागका अनुसार गत आव ०७९/८० मा कुकुर बन्ध्याकरणको लागि १ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको थियो तर उक्त रकम खर्च भएन। 

छाडा कुकुर व्यवस्थापनमा राज्य उदासिन

भित्री सडक र चोक क्षेत्रमा बढी साँझ वा बेलुकी मोटरसाइकल वा स्कुटरमा यात्रा गर्नेले अझ ठूलो समस्या भोगिरहेका छन्। कुकुरका बथानले लखेटेर कतिपय स्थानमा दुर्घटना नै भएका छन्।

गोकर्णेश्वर नगरपालिका वडा-२ नाम्गेलका मोटरसाइकल चालक हरि महर्जनले यस्तै समस्या भोग्नु पर्‍यो। ‘सडकमा कुकुरका बथान हुन्छन्, त्यस्ता ठाउँमा टोक्ला कि भन्ने चिन्ताले विस्तारै चलाउँछु, कहिले कुकुरले बाटो काट्न खोज्दा त्यसलाई बचाउँदा आफैँ लडेको छु,’ उनले भने।

धेरैजसो राति सवारी चलाउँदा कुकुरले लखेट्ने गरेको उनले बताए। ‘तर पनि सरकारले केही व्यवस्थापन नै गरेको छैन, स्थानीय तह पनि अब त बेकामे बने, कहाँ बन्ध्याकरण गर्छ नि?, यसप्रति सरकारको चासो होस्,’ उनले भने।

उनले भनेजस्तै केन्द्र, प्रदेश सरकार होस् या स्थानीय सरकार यसको व्यवस्थापनमा उदासीन छ। कतिपयले कुकुरको टोकाइपछि रेबिज सुई लगाउनु परेको छ। 

घरपालुवा कुकुरलाई बाहिर शौच नगराउन माग

उक्त बैठकमा महानगरपालिका वडा-१६ का अध्यक्ष मुकुन्द रिजालले घरपालुवा कुकुरलाई पनि घरबाहिर दिसापिसाब गर्ने प्रवृत्ति रोक्न जरिवानाको व्यवस्था गर्न माग गरे।

उनले भने, ‘कुकुरलाई माया गर्नुपर्छ तर यहाँका धनाढ्य मान्छेहरूले बिहानको समयमा बाटोमा दिसापिसाब गराउनुहुन्छ, बाटोमा दिसापिसाब गराउन मिल्ने हो?, यसले गर्दा विभिन्न रोगको समस्या निस्किएको छ, त्यसैले हामीले टोली पठाएर दिसापिसाब गराएको अवस्थामा ५ देखि १० हजार रुपैयाँ जरिवाना गराउनुपर्छ, यसो गरे यो रोकिन्थ्यो।’

उनले आफ्ना छोराछोरीहरूलाई घरभित्रै शौच गराएजस्तै घरपालुवा कुकुरहरुलाई पनि घरभित्रै शौच गराउनुपर्ने बताए।

वडा-८ का अध्यक्ष आशामान संगतले भने बाँदरले धेरै दुःख दिन थालेको भन्दै तिनलाई अन्तै जंगलमा छाड्ने व्यवस्था गर्न माग गरे।

महानगर भन्छ : कार्यविधि पारित भएपछि कुकुर व्यवस्थापन हुन्छ 

महानगरपालिकाको कृषि तथा पशुपक्षी विभागका प्रमुख डा‍‍. अवधेश झाले सडक कुकुर, घरपालुवा कुकुरलगायत व्यवस्थापनको लागि कार्यविधि बन्दै गरेको बताए। ‘कार्यविधि बन्दै छ, पारित भएपछि यसको व्यवस्थापनको काम सुरू हुन्छ,’ उनले भने।

उनका अनुसार कार्यविधिमा कुकुर पाल्दा दर्ता हुनुपर्ने नियम राखिएको छ। यस्तै, कुुकुर व्यवस्थापनका लागि संस्थाहरू तोकिएका छन्। कुकुर व्यवस्थापनको लागि चालु आव ०८०/८१ मा १ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन भएको जानकारी उनले दिए।

उनका अनुसार अहिले सडकमा करिब २० हजार छाडा कुकुर रहेको अनुमान छ। ‘हामीले हालसम्म १४ हजार कुकुरको अप्रेसन गरी व्यवस्थापन गरेका छौँ,’ उनले भने। 

(याे पनि)


सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.