'बालअधिकार उल्लंघन गर्ने थलो'
'बालअधिकार उल्लंघन गर्ने थलो'
काठमाडौं : गत सोमबार भक्तपुरकाे थिमीमा फरक दृश्य देखा पर्यो। शरीरमा कपडासमेत नलगाएका केही युवाहरू रड बोकेर सडकमा निस्किए।
उनीहरू बाटोमा गुडिरहेका सवारीसाधनलाई रोकेर जुन बाटोबाट आएकाे हाे, उतै फर्काउन आदेश दिइरहेका थिए। मान्छेहरू आफ्ना घरका छतबाट उक्त दृश्य माेबाइलमा कैद गरिरहेका थिए।
कतिलाई यो दृश्यले आश्चर्यमा पारेको थियो। यसअघि हुने सडक आन्दोलनमा यो किसिमकाे खतरनाक 'स्टण्ट' आन्दोलनकारीले गरेका थिएनन्। तर, सोमबार देखिएको दृश्य फरक थियो। अहिले पनि सामाजिक सञ्जालमा ती भिडियोहरू भाइरल छ।
हातमा रड बोकेका र शरीरमा कपडा पनि नभएका ति युवाहरू कुनै आन्दोलनकारी थिएनन्उ । उनीहरू विभिन्न अपराध कसुरमा जेल सजाय र पुर्पक्षका लागि राखिएका बाल सुधारगृह सानोथिमीका कैदीबन्दी थिए। उनीहरू त्यसदिन सुधारगृहको मूल ढोकानै फोडेर बाहिर निस्किए। उनीहरूको रवाफ यस्तो थियो कि मानौँ कुनै महान युद्ध जितेका छन्।
भक्तपुर सुधार गृहभित्र कूल २५३ किशोर र ४२ किशोरी थिए । त्यसमध्ये २२६ जना सोमबार एकाएक तोडफोड गर्दै भागेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेश मैनालीले बताए। हालसम्म २२० जना नियन्त्रणमा आइसकेका छन् भने ६ जनाको खोजीकार्य जारी राखिएको छ। नियन्त्रणमा लिएकाहरू मध्ये केहीलाई अन्य सुधार गृहमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ।
बलात्कार अभियोगमा २९ जेठ ०७७ देखि भक्तपुर बाल सुधार गृहमा राखिएका कमल बस्नेतको गत आइतबार मृत्यु भएपछि भोलिपल्ट सोमबार उक्त घटना भएको थियो।
देशभरका सुधार गृहमा क्षमताभन्दा बढी कैदी
देशभर ८ वटा सरकारी बालसुधार केन्द्र रहेका छन्। जहाँ क्षमताभन्दा बढी बालकैदीहरू रहेका छन्। उनीहरू काेचाकाेच अवस्थामा छन्। क्षमता ५७५ रहेको छ तर, त्यहाँ १ हजार १८७ जना बालबालिका रााखिएकाे छ। यस्तै अठार वर्ष कटेका पुरूष ४६५ र महिला १४ जना छन्।
यो वर्ष ४२६ जनाको मुद्दा फैसला भइसकेको र ४६ मुद्दाकाे सुनुवाइ जारी रहेकाे महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ। बालसुधार गृह मोरङमा २१५ (क्षमता ५०), पर्सामा १३१ (क्षमता ६०), मकवानपुरमा ६१ (क्षमता ७०), कास्कीमा ८८ (क्षमता ५०), बाँकेमा २५५ र (क्षमता १५०), रुपन्देही ७७ ( क्षमता) र डोटीमा ४२ र (क्षमता २५) जना छन्।
सुधारगृहमा अभावैअभाव
बालकको बानी व्यवहार सुधार्न, पारिवारिक तथा सामाजिक पुनर्मिलन र पुनःस्थापनाका लागि चाहिने वातावरण, शिक्षा, स्वास्थ्य, खेलकुदको सुविधा अपुग भइरहेको छ। सरकारले देशभर स्थापना गरेको सुधार गृहमा सजाय तोकिएमा बालसुधार गृहमा राख्नुपर्ने कानुनी व्यवस्था भए पनि भौतिक संरचना र कर्मचारी पर्याप्त देखिँदैन।
कास्कीको पोखरा महानगरपालिका-२६ सराङ्कोटमा रहेको बाल सुधारगृहका इन्चार्ज अजय थापाले क्षमताभन्दा दोब्बर बालकहरू रहेको बताउँछन्। सुत्ने खाटदेखि खानेपानीसम्मको अभाव रहेको उनले थाहाखबरलाई बताए।
‘भौतिक संरचनाहरू पनि पूराना भइसके। झ्याल ढोकाहरू पनि मक्किसकेका छन्’, उनले भने, ‘बच्चाहरू बिरामी भएको खण्डमा अस्पताल पुर्याउने साधन छैन।’ बच्चाहरू जटिल खालको बिरामी हुँदा पनि क्षमताभन्दा बढी राख्नुपर्ने भएकाले व्यवस्थापन गर्नै गाह्रो हुने उनले सुनाए।
नाम मात्रका सुधारगृह
जुनसुकै समाजमा पनि विभिन्न विकृति एवम् कानुन विपरितका अपराधजन्य गतिविधि कुनै न कुनै रुपमा भइरहेकाे छ। यस्ता गतिविधिमा बालबालिकाको संलग्नता हुँदै आएकाे छ। बालबालिकाले संगत, लोभ, लालच, दबाबजस्ता कुराले प्रभावित पार्ने हुँदा उनीहरू विद्यालय जाने उमेरमा सुधार गृहको पर्खालभित्र जीवन गुजार्न अभिशप्त छन्।
अपराधमा जोडिएका बालबालिकालाई सुधार गरी उनीहरूको सुन्दर भविष्य निर्माणका लागि राज्यले लगानी गर्ने हेतुले बालगृहको परिकल्पना गरिएको हो। सुधार गृहभित्र उनीहरूका लागि शिक्षादिक्षा हरेक कुराको व्यवस्थापन गरिएको हुन्छ।
तर, राज्यले स्थापना गरेका सुधार गृहहरूलाई राम्रोसँग व्यवस्थापन गर्न नसकेको बताउँछन् बालअधिकारकर्मी राजेश शर्मा। गत सोमबार थिमीमा भएको उक्त घटना सुधार गृहभित्र गरिएको राज्यविरुद्धको विद्रोहका रुपमा अर्थ्याउँछन् उनी।
उनले यी सुधार गृहले बालबालिकाहरू कुनै अपराधमा मुछिइसकेपछि उनीहरूलाई सुधार गर्न गृहको निर्माण गरिए पनि हाम्रा सुधार गृहहरू क्षमताभन्दा बढी बालबालिका राख्नु आफैँमा बालअधिकार उल्लंघन रहेको बताए।
‘हाम्रा सुधार गृहको विश्लेषण गर्ने हो भने राज्यद्वारा संरक्षित बालअधिकार उल्लंघन गर्ने थलो भएको महसुस हुन्छ’, उनले भने।
आफ्ना सन्तानले के गरिरहेका छन् भनेर अभिभावकले साेचेका छन् ?
नाबालकहरू कानुनी राज्यको पूर्ण ज्ञान हासिल गर्ने क्षमता राख्न नसक्दा कानुनको विवादमा पर्ने गरेको प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मैनालीले बताए। बालबालिकामा हिरोइज्म देखाउने लालसाले पनि अपराध कर्ममा लागिरहेको बताउँछन्।
‘उनीहरूमा देशको कानूनबारे पनि खासै ज्ञान भएको हुँदैन। कतिपय घटना सामान्य देखिए पनि देशको कानुन आकर्षित गर्छ भन्ने ज्ञान नहुन, हिरोइज्म देखाउन खोज्नु, आफूभन्दा ठूला मान्छेले प्रलोभनमा पारेर फसाउनु नै अहिलेको समस्या देखिरहेको छ’, उनले भने, ‘प्रविधिको बढ्दो प्रभाव, इन्टरनेटमा आइरहेका विकृतिले पनि यस्तो समस्या आइरहेको छ।'
अपराध कर्ममा बालबालिका लाग्नुमा दोष बालबालिकाको छैन। अभिभावकले उनीहरूलाई असल संस्कार दिन नसक्नुले पनि यहाँ अपराधमा बालबालिका प्रयोग भइरहेका छन्। हरेक दिन अभिभावकले आफ्ना सन्तानले के गरिरहेको भन्ने कुरा गम्भीर भएर सोच्न जरूरी छ।
‘आफ्ना सन्तानले मोबाइलमा के गर्छ? उ कहाँ जान्छ? कसको संगतमा छ? भन्ने कुरा हरेक अभिभावकले विचार गर्नुपर्छ’, उनी थप्छन्, ‘सन्तानलाई समय दिन नसके उनीहरूले गर्ने हर्कतहरू विस्तारै अपराधतिर मोडिन सक्छन्। यसले थप समस्या पैदा हुन्छ।‘
तपाईंको ईमेल गोप्य राखिनेछ ।