|

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान शुरु गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले थप जाहेरीमाथि दोस्रो चरणको अनुसन्धान थालेको हो।

प्रहरी स्रोतका अनुसार नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने मुख्य योजनाकार सानु भण्डारी, केशव दुलाल र रामशरण केसीविरूद्ध दोस्रो चरणको अनुसन्धान सुरू गरेको हो। 

साउनको अन्तिम साता भुटानी शरणार्थी प्रकरणमा थप १८ जना पीडितले दिएको जाहेरीमा भण्डारी, दुलाल र केसीले आफूहरूलाई नक्कली भुटानी शरणार्थी बनाउन एक करोड ८५ लाख ९२ हजार रुपैयाँ लिएको उल्लेख छ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाइ अमेरिका लैजाने प्रलोभन र विश्वासमा पारी लमजुङ, सुनसरी, सिन्धुपाल्चोक, गोरखा, ललितपुर, चितवन र काठमाडौँलगायत जिल्लाका थप १८ पीडितले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका थिए। उनीहरुले छुट्टाछुट्टै तीन वटा किटानी जाहेरी दर्ता गराएका थिए ।

कार्यालयले जाहेरी लिएर कारबाहीका लागि साउन २६ गते जिल्ला प्रहरी परिसर काठमाडौँ पठाएपछि परिसरले दोस्रो चरणको अनुसन्धान सुरु गरेको हो। 

जाहेरीकर्ताले भण्डारी, दुलाल र केसीलाई पैसा दिएको प्रमाण बैंक स्लिप प्रहरीलाई उपलब्ध गराएपछि प्रहरी अहिले बैंक स्लिप सक्कली हो होइन प्रमाणित गर्न लागि परेको स्रोतले थाहा खबरलाई जानकारी दिए। उनका अनुसार जाहेरीकर्ताले उल्लेख गरेअनुसार भेट गरिएको भनिएका होटल तथा रेष्टुरेन्टका  फुटेजसमेत प्रहरीले अनुसन्धान गरिरहेको छ। 

पीडितले दिएको बयानका बारेमा सोधपुछ गरेको प्रहरीले जनाएको छ। यसअघि १२३ जनाले दिएको जाहेरीमा २० जना पक्राउ परेका थिए । उनीहरुसहित ३० जनाविरुद्ध काठमाडाैँ जिल्ला अदालतमा मुद्दा दर्ता भएकाे थियाे । त्यसमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १८ जना अहिले पनि पुर्पक्षका लागि थुनामा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.