|

काठमाडौं : सरकारले सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिमा विवाद र मनोमानी हुने कार्यलाई रोक्न खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्न स्थानीय तहलाई प्रोत्साहित गर्ने नीति नै लिएको छ। उक्त योजनासँगै केही स्थानीय तहहरूले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गरिसकेका छन्। 

भक्तपुरको सूर्यविनायक नगरपालिकाले खुला प्रतिस्पर्धाका आधारमा गत वैशाखमा नै प्रधानाध्यापकहरूको नियुक्ति गरेको छ। नगरपालिकाले नगरपालिकाको सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०७९ नै जारी गरिसकेको छ।

उक्त कार्यविधिमा प्रधानाध्यापकको लागि दरखास्त दिन आवश्यक योग्यता तोकिएको छ। आधारभूत तह कक्षा १–३ वा १–५ को लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको र सम्बन्धित तहको शिक्षक पदमा कम्तीमा ५ वर्ष स्थायी सेवा गरेको  हुनुपर्छ।

आधारभूत स्तर कक्षा १-८ का लागि कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको र सम्बन्धित तहको शिक्षक पदमा कम्तीमा ५ वर्ष स्थायी सेवा गरेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ।

माध्यमिक तह कक्षा १–१० वा १–१२ का लागि कम्तीमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको र सम्बन्धित तहको शिक्षक पदमा कम्तीमा ५ वर्ष स्थायी सेवा गरेको हुनुपर्ने योग्यता तोकिएको छ।

लालबन्दी नगरपालिकामा ३५ जना प्रअ नियुक्त

सर्लाही जिल्लाको लालबन्दी नगरपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गरेको छ। नगरपालिकाले गते साउन २४ गते प्रअहरूको नतिजा नै सार्वजनिक गरिसकेको छ।

नतिजाअनुसार मावितर्फ ८ जना, आधारभूत तहमा ७ जना र आधारभूत तहमा १–५ मा २० जना प्रधानाध्यापकले नाम निकालेका छन्। कुल ३५ जना प्रधानाध्यापक नियुक्ति भएका छन्। 

मन्थली नगरपालिकाले पनि प्रअ छनोट

रामेछापको मन्थली नगरपालिकाले पनि खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापकको छनोट गरेको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईका अनुसार प्रधानाध्यापक व्यवस्थापन कार्यविधि, २०७१ अनुसार शिक्षकहरूको विद्यालय विकास प्रस्ताव, शैक्षिक योग्यता, जेष्ठता, वरीष्ठता, शैक्षिक तालिम, नेतृत्व क्षमता र अन्तर्वार्ताको समेत कुल प्राप्ताङ्क जोड्दा न्यूनतम ४५ अंकभन्दा माथि प्राप्ताङ्क ल्याउने प्रधानाध्यापकलाई छनोट गरिएको छ।

साउन १२ मा प्रकाशित नतिजाअनुसार ५३ जना प्रधानाध्यापकहरू उत्तीर्ण भइ नियुक्ति भएका छन्।

दिक्तेल रूपाकोट मझुवागढीले अघि बढायो प्रकृया 

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि प्रक्रिया अगाडि बढाइसकेको छ। नगरपालिकाले यही भदौ ७ गते नै प्रधानाध्यापक छनोटका लागि विज्ञ (रोष्टर)का लागि आवेदन माग गरेको छ।

नगरपालिकाका शिक्षा शाखाका अधिकृत तीर्थबहादुर विश्वकर्माले विज्ञको पूर्णता पाएपछि खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्ने बताए। ‘हामीले प्रअ छनोट गर्ने विज्ञको लागि सूचना जारी गरेका छौँ, सबै प्रकृयाबाट पूर्णता पाइसकेपछि खुला प्रतिस्पर्धाबाट प्रअ छनोट हुन्छ,’ उनले भने।

घोडाघोडीले प्रअको लागि आवेदन माग्यो

कैलालीको घोडाघोडी नगरपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तिको लागि आवेदन माग गरेर पनि म्याद थप गरेको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यका अनुसार नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयहरूमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तिको लागि साउन ९ गते सूचना प्रकाशन गरिएको थियो। कार्यालयको साउन ३१ गतेको निर्णयबमोजिम पुनः भदौ १४ गतेसम्मका लागि म्याद थपिएको छ।

बूढानीलकण्ठ नगरपालिकाले पनि खुला प्रतिस्पर्धाबाट प्रअ छान्ने

काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्ने भएको छ। नगरपालिकाले सरकारी विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि तोकिएअनुसार माध्यमिक तह, आधारभूत र प्राथमिक तहको परीक्षा साउन १८ गते नै सम्पन्न भइसकेको छ।

चौरजहारी र पालुङटार नगरपालिकामा पनि प्रकृयामै

रूकुम (पश्चिम)को चौरजहारी नगरपालिकाका उपप्रमुख ईश्वरीकुमारी शर्मा विएमले अब छिट्टै उक्त नगरपालिकामा पनि खुला प्रतिस्पर्धाबाट विद्यालयका प्रधानाध्यापक छनोट गर्ने जानकारी दिइन्।

यस्तै, गोरखाको पालुङटार नगरपालिकाले पनि खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोटको तयारी गरेको छ। शिक्षा शाखा प्रमुख माधव पोखरेलले छनोट गर्ने योजना रहेको बताए। ‘अब ऐन कानुनअनुसार हामीले पनि प्रअ छनोट गर्ने भनेका छौँ,’ उनले भने।

सबै स्थानीय तहमा खुला प्रतिस्पर्धाबाट प्रअ छनोट गरिने

सरकारले देशभरका ७ सय ५३ स्थानीय तहमार्फत खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापकको छनोट गर्ने नीतिगत योजना ल्याएको छ। तर केही जिल्लाका स्थानीय तहहरूले मात्रै यो कार्यान्वयनमा ल्याएका छन्।

गत जेठमा अर्थमन्त्री डा प्रकाशशरण महतले आव ०८०/८१ को बजेट सार्वजनिक गर्दै भनेका थिए, ‘खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्न स्थानीय तहलाई प्रोत्साहित गरिनेछ।’ 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका सूचना अधिकारी सुरेशकुमार जोशीले पनि सबै स्थानीय तहमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्नेमा सरकार रहेको बताए।

‘सबै विद्यालयमा दक्ष, योग्य व्यक्ति चाहिन्छ, त्यसैले सरकारको पनि सबै स्थानीय तहमा खुला प्रतिस्पर्धाबाट प्रअ छनोट गर्नुपर्छ भन्ने छ, स्थानीय तहहरूले कार्यविधि बनाउँदै छन्, अब क्रमशः खुला प्रतिस्पर्धाबाटै प्रअ छनोट हुन्छन्,’ उनले भने।

हालसम्म कति स्थानीय तहमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापकहरू छनोट भए भन्नेमा यकिन तथ्यांक नभएको उनले जानकारी दिए। ‘अब हामी यसको पनि तथ्यांक लिदैँ छौँ,’ उनले भने।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.