|

काठमाडौं : सरकारी स्वास्थ्य संस्थामा ज्येष्ठ नागरिकलाई व्यवस्था गरिएको उपचार तथा सेवा सुविधा नपाएको गुनासो बढेपछि स्वास्थ्य मन्त्रालयले ज्येष्ठ नागरिकसम्बन्धी ऐन कार्यान्वयन गर्न आग्रह गरेको छ।

अस्पतालले राम्ररी नियम पालना नगरेको पाइएपछि स्वास्थ्य मन्त्रालयले विभाग र केन्द्रीय अस्पतालहरूलाई पत्राचार गर्दै ज्येष्ठ नागरिकको सेवामा गम्भीर हुन निर्देशन दिएको छ।

पत्रमा भनिएको छ‚ 'संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रको बुँदा नं ५ मा उल्लेख भएअनुसार ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ मा यातायात र स्वास्थ्य क्षेत्र लगायतका क्षेत्रमा ज्येष्ठ नागरिकहरूलाई दिने भनिएका सेवा सुविधा यातायातका सबै साधन र स्थान तथा सबै अस्पतालमा कार्यान्वयन गरियोस् भनी लेखी आएकाले ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ मा उल्लेख भएअनुसार सेवा उपलब्ध गराउन अनुरोध छ।'

स्वास्थ्य मन्त्रालयले देशभरका ६० भन्दा बढी संघीय तथा प्रदेश सहित जिल्ला अस्पतालमा ज्येष्ठ नागरिकको उपचारका लागि व्यवस्था गरेको छ। नरदेवी आयुर्वेदिक अस्पताल, कीर्तिपुरस्थित बर्न अस्पताललाई मन्त्रालयले यसै वर्षदेखि ज्येष्ठ नागरिकको सेवाका लागि थपेको छ।

ज्येष्ठ नागरिकलाई प्रदान गर्ने स्वास्थ्य सेवामा एकरूपता प्रदान गर्न र ज्येष्ठ नागरिक मैत्री सेवा प्रदान गर्ने उद्देश्यले  ज्येष्ठ नागरिक (जेरियाट्रिक) स्वास्थ्य सेवा मार्गदर्शन २०८०-८१  ल्याएको मन्त्रालयले जनाएको छ।

(जेरियाट्रिक) स्वास्थ्य सेवा मार्गदर्शनमा परिचयपत्रको आधारमा अस्पताल व्यवस्थापनले उमेरहद, शारीरिक अशक्तता र आर्थिक स्थितिका आधारमा मापदण्ड बनाई ६० देखि  ६९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिनुपर्ने उल्लेख छ। ७० देखि ७९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई शारीरिक अशक्तता, दीर्घरोग र आर्थिक स्थितिका आधारमा अस्पताल व्यवस्थापनबाट उपदफा (क) मा तोकिएका सेवाको दायरा बढाई स्वास्थ्य सेवामा ७५ प्रतिशत छुट दिनुपर्ने व्यवस्था छ।

८० देखि ८४ वर्षसम्मका ज्येष्ठ नागरिकलाई उपदफा (ख) मा तोकिएका सेवाको दायरा बढाई स्वास्थ्य उपचार सेवामा शतप्रतिशत छुट दिनुपर्ने व्यवस्था गरेको छ। ८५ वर्षभन्दा माथिका व्यक्तिलाई अस्पतालमा उपलब्ध सबै स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गर्नुपर्ने व्यवस्था छ। प्राइभेट वार्ड वा क्याबिनमा बसी उपचार गर्दा लागेको खर्चमा भने कुनै छुट सुविधा नहुने निर्देशिकामा उल्लेख छ।

५० शय्याभन्दा माथिका अस्पतालले ज्येष्ठ नागरिक बिरामीलाई प्रभावकारी सेवा दिन छुट्टै बहिरङ्ग कक्षको व्यवस्था गर्नुपर्ने उल्लेख छ। साथै ज्येष्ठ नागरिकको उपचारका लागि भनेर अस्पतालले लगेको सबै रकम अनुदान ज्येष्ठ नागरिकको उपचारमा खर्च गर्नुपर्ने, प्राप्त अनुदानको ३० प्रतिशत बजेट भौतिक पूर्वाधार निर्माण, शय्या, औजार, उपकरण खरिदमा खर्च गर्न सक्नेछन् भने बाँकी  ७० प्रतिशत बजेट अशक्त असहाय, ज्येष्ठ नागरिकको उपचारमा खर्च गर्नुपर्ने र स्वास्थ्य बिमामार्फत सेवा दिने सुविधा भएका स्वास्थ्य संस्थाले यदि ज्येष्ठ नागरिकहरू स्वास्थ्य बिमामा आबद्ध छन् भने उपचारमा प्राथामिकता दिनुपर्ने निर्देशिकामा उल्लेख छ।

ज्येष्ठ नागरिका लागि उपचार व्यवस्था गरिएका अस्पतालहरू

काठमाडौँस्थित चिकित्सा स्वास्थ्य विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल‚ आयुर्वेद शिक्षण अस्पताल‚ नरदेवी आयुर्वेदिक अस्पताल‚ कीर्तिपुर बर्न अस्पताल‚ राष्ट्रिय ट्रमा सेन्टर‚ शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल छन्। यसैगरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (ललितपुर)‚ भक्तपुर अस्पताल (भक्तपुर), भरतपुर अस्पताल (चितवन), हेटौँडा अस्पताल (मकवानपुर), धादिङ अस्पताल (धादिङ) र त्रिशूली अस्पताल  (नुवाकोट) रहेका छन्।​

यसैगरी बैतडी अस्पताल, सेती अस्पताल (धनगढी), डडेलधुरा अस्पताल, महाकाली अस्पताल (कञ्चनपुर), दार्चुला अस्पताल, टीकापुर अस्पताल (कैलाली), बाजुरा अस्पताल, बझाङ अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (सुनसरी), कोशी अस्पताल (विराटनगर), मेची अस्पताल (झापा), उदयपुर अस्पताल, इलाम अस्पताल, सङ्खुवासभा अस्पताल, इनरुवा अस्पताल (सुनसरी), ताप्लेजुङ अस्पताल‚ इनरुवा अस्पताल, धनकुटा अस्पताल‚ भोजपुर अस्पताल, दमौली अस्पताल (तनहुँ), पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठान (कास्की), धौलागिरी अस्पताल (बाग्लुङ), गोर्खा अस्पताल, म्याग्दी अस्पताल,रोल्पा अस्पताल, भेरी अस्पताल (बाँके), लुम्बिनी प्रादेशिक अस्पताल (रूपन्देही), राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान (दाङ), पृथ्वीचन्द्र अस्पताल (नवलपरासी), गुलरिया अस्पताल (बर्दिया), प्यूठान अस्पताल, पाल्पा अस्पताल, राप्ती प्रादेशिक अस्पताल (दाङ), तौलिहवा अस्पताल (कपिलवस्तु), तम्घास अस्पताल (गुल्मी) लगायतका अस्पताल रहेका छन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.