|

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद पशुपति समशेर जबराले ठूला राजनीतिक दलहरूले नेपालजस्तो स्वर्गभूमिलाई दूषित बनाएको बताएका छन्।

मंगलवार काठमाडौंमा आयोजित विश्व हिन्दु महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले ठूला राजनीतिक दलहरूले नेपाल जस्तो पुण्य भूमिलाई दूषित गरेको बताए। उनले जति दूषित, घुसखोरी, भ्रष्टाचार गरे पनि पुण्य भूमिको सम्भावना कसैले बिगार्न नसक्ने दाबी गरे।

उनले नेपालमा अपार जलस्रोतको सम्भावना रहेको, अलैंची, चिया, कफीको ठूलो निकासी संसारभर भइरहेको बताए। उनले हिन्दु, बौद्ध, जैन सबै मिलेर देशको विकासमा लाग्नुपर्ने बताए।

उनले भने, ‘ठूला पार्टीले मुलुक चलाइरहेका छन्, आफूलाई ठूला पार्टी भन्नेहरूले यस्तो पुण्य भूमिलाई कताकता अलि दूषित गरेका छन्। तर जति घुसखोरी, भ्रष्टाचार गरे पनि यो पुण्य भूमिको यसको सम्भावना कसैले बिगार्न सक्दैन। यो मुलुकलाई कसैले दूषित गर्न सक्दैन। त्यसका लागि हामी हिन्दु, बौद्ध, जैन सम्पूर्ण थरका मान्छे जम्मा हुनुपर्छ, बुढा किराँत, सम्पूर्ण एक ठाउँमा आउनुपर्छ।’

कार्यक्रममा वरिष्ठ संस्कृतिविद् जगमान गुरुङले देशमा सद्भाव बनाउन नेपालीहरूलाई नेपाली भाषा, सामाजिक संरचनामा र संस्कृतिमा रहेर बुझाउनुपर्ने बताए। उनले नेपालमा हजारौँ वर्षपूर्व नै सूर्यको ध्वनि पहिचान गरेर ओमकार ध्वनि उच्चारण गर्दै आएको बताए।

गुरुङले भने, ‘नेपालीहरू बिनामियोको दाइँ जस्तो भए। हामी अलमलिएका छौँ। सद्भाव बनाउन नेपालीहरूलाई नेपालीकै भाषामा सामाजिक संरचनामा र संस्कृतिमा कुन तन्तुले अड्याएको छ, त्यसलाई बुझेर हामीले विश्व हिन्दु महासंघले धर्म, संस्कृतिको विश्लेषण गर्नुपर्छ। हामीले सूर्यको ध्वनि पहिचान गरेर ओमकार गायौँ।’
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.