|

ललितपुर : एसिया कप क्रिकेट प्रतियोगिता बुधबार शुरु हुँदैछ। उद्घाटन खेलमा आज नेपालले पाकिस्तानसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजे पाकिस्तानको मुल्तानस्थित मुल्तान क्रिकेट रंगशालामा शुरु हुनेछ। 

पहिलोपटक सहभागी भएको नेपाललाई जति महत्त्वपूर्ण छ, त्यो भन्दा बढी विश्व क्रिकेट इतिहासमा बलियो छाप रहेको पाकिस्तानका लागि छ। जित हार जे नतिजा भए पनि नेपालका लागि त्यो स्वाभाविक मानिएला तर पाकिस्तानका लागि जित महत्त्वपूर्ण हुनेछ। 

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को एकदिवसीय विश्व वरियतामा १५ औँ स्थानमा रहेको नेपालका लागि केही दिनअघि मात्र अफगानिस्तानलाई हराएर विश्व वरीयताको पहिलो स्थानमा पुगेको पाकिस्तानसँग खेल्न त्यत्ति सहज छैन। विश्वस्तरका ब्याट्स्म्यान र बलर रहेको पाकिस्तानका लागि घरेलु मैदान र घरेलु दर्शकको साथ अर्को फाइदाको विषय बनेको छ। 

तीव्र गतिको बलिङलाई भन्दा स्पीन बललाई सहज हुने मुल्तानको पिच ब्याट्स्म्यानका लागि रन बनाउन पनि सहज हुने देखिन्छ। झण्डै कीर्तिपुरको त्रिवि मैदान जस्तै भएकाले नेपालका लागि रन बनाउन र अनुकुलित भएर खेल्न सहज हुने अनुमान गर्न सकिन्छ।

टस जितेको खण्डमा पहिले ब्याटिङ गरेर कम्तीमा ३२० भन्दा बढी रन बनाउन सके नेपालका लागि सहज हुने देखिन्छ। किनकी यतिको लक्ष्य दिएमा नेपाली स्पिनर सन्दीप लामिछाने या ललित राजवंशीले पाकिस्तानी ब्याटरलाई थोरै थोरै रनमा आउट गर्न सक्ने सम्भावना देखिन्छ। किनकी मैदान फास्ट बलरलाई भन्दा स्पिनरलाई फाइदा दिने खालको छ। यस्तोमा अरु बलरले पनि राम्रो नतिजा नल्याउलान् भन्न सकिन्न। पाकिस्तान फाष्ट बलरको हतियार बोकेको टिम हो। 

अर्कोतर्फ एसिया कपको २ पटक उपाधि विजेता पाकिस्तानी टिमसँग पर्याप्त अनुभव छ भने तुलनात्मक रूपमा नेपालसँग त्यस्ता अन्तराष्ट्रिय जगतका अनुभव कम छ। 

विश्व क्रिकेट जगतमै तहल्का मच्चाएका कप्तान बाबर आजम, इमाम उल हक र फाकर जमान जस्ता अनुभवी ब्याट्सम्यानले भरिएको पाकिस्तान नेपालको जीतका लागि तगारो बन्न सक्छ। फाकर र इमामको ओपनिङ जोडीलाई नेपाली बलरले वेलैमा तोड्न सकेनन् भने त्यो घातक सिद्ध हुनसक्छ। 

फेरि पाकिस्तानका अन्य ब्याट्सम्यानले पनि कमजोर छैनन्। तल्लो ब्याटिङ क्रममा आउने उपकप्तान सदाब खान हुन या मध्यक्रममा क्रिज सम्हाल्ने मोहम्मद रिजावन, आघा सलमान र इफ्तिकार अहमदलाई पनि कमजोर आँक्न मिल्दैन। 

त्यसो त नेपाली खेलाडीलाई पनि ब्याटिङमा कमजोर मान्न मिल्दैन। पछिल्लो समयका प्रदर्शन हेर्ने हो भने नेपालका ओनर ब्याट्सम्यानदेखि अन्तिममा ब्याटिङ गर्न आएका बलरसम्मले राम्रै रन हान्न थालेको अभ्यास भइसकेको छ। 

चाहे त्यो आईसीसी विश्व लिग २ होस् या विश्वकप छनोट या इमर्जिङ एसिया कप सबैमा फरक फरक खेलाडीले राम्रो राम्रो रन बनाएका छन्। फेरि मुल्तानको पिच झण्डै कीर्तिपुरको त्रिवि मैदान जस्तै भएकाले नेपालका लागि खुलेर ब्याटिङ गर्ने सम्भावना हुनसक्छ। कुशलद्वय, रोहित,भीम, आशिफसँगै गुल्सन झालाई पनि आवश्यक पर्दा राम्रो खेल्ने खेलाडीका रूपमा लिइएको छ।  

पहिले ब्याटिङ गर्दा खुलेर खेल्न सकिन्छ भने ठूलो योगफलको लक्ष्य पाएमा भने दबाबमा खेल्नुपर्दा विकेटको खतरा पर्न सक्छ। तसर्थ नेपालले पहिले बलिङ गर्दा सकेसम्म २५० भन्दा कम नै रनमा रोक्न उपयुक्त देखिन्छ। 

साइन साह अफ्रिदी र नासिम साह लगायतका फास्ट बलरको चुनौती पार गरेर स्पिनर सदाब खानलाई पनि बलिङमा खासै उपलब्धिमूलक नतिजा ल्याउन रोक्न सके पाकिस्तानविरुद्ध राम्रो खेल पस्किन सकिन्छ। सोमपाल कामी, करण केसी र सन्दीप बलर मात्र नभए टिमलाई आवश्यक पर्दा राम्रो रन समेत उनीहरूले बनाएका छन्। 

केही खेल विश्लेषक आफ्नो अनुकुलमा ब्याटिङ र बलिङ रहेमा जित टाढा नरहेको बताउँछन्। ‘हामीसँग एकसे एक खेलाडी उत्पादन भइरहेका छन्। हामीले राम्रो गर्दै गइरहेका छौँ‘, पूर्व कप्तान एवं विश्लेषक पवन अग्रवाल भन्छन्,‘रोहितले भनेजस्तो अनुभव कम छ तर हामी खेल्न नसक्ने होइनौँ।’ 

पाकिस्तान र नेपालबीचको खेलअघि भएको पत्रकार सम्मेलनमा पाकिस्तानी कप्तान बाबर आजमले नेपाललाई सहज रुपमा नलिने बताएका थिए भने नेपाली कप्तान रोहितले पाकिस्तानविरुद्ध प्रतिस्पर्धात्मक खेल्ने बताएका थिए। उनले खेलाडी उस्तै उस्तै भए पनि पाकिस्तानसँग अनुभव भने बढी रहेको उल्लेख गरेका थिए। 

६ राष्ट्र सहभागी एसिया कपमा नेपाल समूह ए मा छ। शीर्ष वरीयताको पाकिस्तानपछि नेपालले भदौ १८ गते तेस्रो वरीयताको  भारतसँग श्रीलंकाको केण्डी खेल्नेछ। समूह बीमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्। दुवै समूहबाट शीर्ष २ मा रहने चार टोलीले सुपर फोरमा प्रतिस्पर्धा गर्नेछ। सुपर फोरमा पुग्न एक खेल जित्नैपर्छ। 

यो म्याचमा उत्कृष्ट ब्याट्सम्यानका रूपमा पाकिस्तानका फाकर जामान र बाबर अजाम रहेका छन् भने नेपाली ब्याटर कुशल भुर्तेल र भीम सार्की छन्। पाकिस्तानका फाकरले पछिल्लो १० म्याचमा ५२३ रन बनाएका छन्। यस्तै पाकिस्तानी बाबरले १० खेलमा ४ सय ७१ रन बनाएका छन्। नेपालका ब्याट्स्म्यान भुर्तेलले १० खेलमा २९७ रन बनाएका छन्। यस्तै सार्किले १० म्याचमा २ सय ५८ रन बनाएका छन्। 

यस्तै बलरहरुमा पाकिस्तानका हारिस रौफ र साहिन शाह अफ्रिदी तथा नेपालका सन्दीप लामिछाने र करण केसी सबैको नजरमा पर्ने खेलाडी हुन्। पछिल्लो आठ म्याचमा मात्र पाकिस्तानका हारिसले १५ विकेट लिँदा ७ खेलबाटै साहिनले १४ विकेट लिएका छन्। यता नेपाली बलर सन्दीपले १० खेलमा १८ विकेट लिँदा करणले ९ खेलबाट १७ विकेट लिएका छन्। 

नेपाली टोली
कुशल भुर्तेल, आशिफ शेख (विकेट किपर), भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी र ललित राजवंशी। 

पाकिस्तानी टोली 
फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), अघा अली सलमान, मोहम्मद रिजवान(विकेटकिपर), इफ्तिखर अहमद, सादब खान (उपकप्तान) , मोहम्मद नवाज, साहिन शाह अफ्रिदी, नसिम साह र हारिस रौफ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.