प्लाष्टिक प्रयोग रोक्ने योजना पनि भएन प्रभावकारी

|

काठमाडौँ : काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले असार १० गते आव २०८०।०८१ को बजेट प्रस्तुत गर्दै भनेकी थिइन्, ‘सार्वजनिक स्थलमा धुम्रपान गर्न निषेध गर्ने व्यवस्था तथा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐनलाई प्रभावकारी कार्यान्वयन गर्ने प्रबन्ध मिलाइनेछ।’ 

बजेटमा भनिएजस्तै महानगरले साउन १ गतेदेखि महानगरका सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान गर्न नपाइने निर्णय गर्‍याे। महानगरले पहिलो चरणमा बानेश्वर क्षेत्रबाट निषेध गर्न शुरु गर्ने र यसलाई क्रमिक रूपमा ३२ वटै वडामा विस्तार गर्ने तयारी रहेको जनायो तर घोषणा भएको २ महिना बित्दा पनि सार्वजनिक स्थानमा मद्यपान निषेध गर्न सकेन। महानगरपालिकाले यसका लागि अनुगमन थालेकै छैन। 

महानगर भन्छ : अब अनुगमन थाल्छौँ

महानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले अनुगमन शुरु नगरिएको बताए। उनले भने, ‘हामी अनुगमन गर्नका लागि प्रक्रियागत ढंगबाट जाँदै छौँ, विस्तारै यसको अनुगमन थालिन्छ।’

महानगरका तत्कालीन प्रमुख विद्यासुन्दर शाक्यको कार्यकालमा पनि धुम्रपान तथा सुर्तीजन्य पदार्थमुक्त शहर घोषणा भएको थियो। काठमाडौं महानगरले २०७४ फागुन ११ गते प्रमुख शाक्यले पत्रकार सम्मेलन गरी मुटु रोग, श्वासप्रश्वास सम्बन्धी रोग, क्यान्सर लगायत प्राणघातक रोगबाट बचाउन महानगरलाई ‘हेल्दी सिटी’को रूपमा विकास गर्न धुम्रपान तथा सुर्तीजन्य पदार्थमुक्त शहर घोषणा गरेका थिए। त्यतिखेर पनि कार्यान्वयन हुन सकेन।

हाल पनि सार्वजनिक स्थानमा खुलमखुला धुम्रपान गरिरहेका छन्। यसले अन्य व्यक्तिको स्वास्थ्यमा गम्भीर असर गरेको छ। पछिल्लो समय बाइक लगायत सवारीसाधन चलाउँदा पनि चालकहरूले धुम्रपान गर्दै सवारी हाँकिरहेका छन्। यसतर्फ ट्राफिक प्रहरीले बेवास्ता गरेका छन्।

प्लाष्टिक प्रयोगमा निषेध गर्ने योजना प्रभावकारी भएन

महानगरपालिकाले महानगरभित्र प्लाष्टिक प्रयोगमा निषेध गर्ने योजना पनि प्रभावकारी भएको पाइएको छैन। महानगरले साउन १ गतेदेखि नै प्लाष्टिक निषेध गर्ने निर्णय गरेको थियो। महानगरपालिका वातावरण विभागका निर्देशक रविनमान श्रेष्ठले साउन १४ गतेदेखि टोलीसहित अनुगमन शुरु भएको जानकारी दिएका थिए। तैपनि सर्वसाधारणले प्लाष्टिक प्रयोग गरिरहेकै छन्। 

महानगरले भने पहिलाभन्दा अहिले प्लाष्टिक प्रयोगमा कम हुँदै गएको दाबी गरेको छ। महानगरका नगरप्रहरी निरीक्षक किशोरकुमार भट्टराईले भने, ‘अहिले पनि प्लाष्टिक अनुगमन रोकिएको छैन। हामीले अनुगमन गरेर सचेत गराएपछि प्रयोगमा निकै कमी आएको छ।’

बानेश्वर,कोटेश्वर,बौद्ध,शंखमूल लगायत क्षेत्रमा अनुगमन गरिसकेको उनको भनाइ छ। ‘हामीले अनुगमन गरी ४० माइक्रोनभन्दा कम मोटाइको प्लाष्टिक प्रयोग नगर्नु भनेर सचेत गरायौँ, सम्झाएका छौँ। उपभोक्ता  र व्यापारीले पनि प्रयोग गर्दैनौँ भनेका छन्’‚ उनले भने।

उनले अहिले कारबाही भने नगरिएको जानकारी दिए। ‘अहिले सचेत मात्रै गराउँदै आएका छौँ’‚ उनले भने, ‘फेरि अनुगमन गर्दा त्यस्ता प्लाष्टिक प्रयोग गरेको पाए कारबाही गर्छौं।’

महानगरपालिका वातावरण विभागका निर्देशक श्रेष्ठका अनुसार माइक्रोमिटरबाट पोलिथिनको मोटाइ नापेर अनुगमन गरिन्छ। यसको मोटाइ नाप्ने माइक्रोमिटर महानगरपालिकासँग ५ वटा छन्। 

काठमाडौं उपत्यकामा दैनिक करिब ५० लाख थान प्लाष्टिक झोलाको प्रयोग हुने महानगरको अनुमान छ। महानगरका अनुसार शहरमा उत्पादन हुने फोहरमध्ये ७५.५ प्रतिशत जैविक र २४.५ प्रतिशत नकुहिने फोहर छ।

(याे पनि)



तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.