उपत्यकामा पहिलोपटक गरियो लिब्जु पूजा

|

काठमाडौं : किरात वाम्बुले राईहरूको महान् चाड हो ‘ढ्वाङकुमो’। वाम्बुले राईहरू यसलाई ढ्वाङकुम पनि भन्दछन्। उनीहरू हिन्दु पात्रोअनुसार जनैपूर्णिमा तिथिमा यो चाड मनाउँछन्। प्रायः भदौ महिनामा पर्ने भएकाले यसलाई भदौ पूर्णिमा पनि भनिन्छ।

वाम्बुले समुदायमा यो तिथिलाई ढ्वाङ्कुमपुर्ने भन्दछन्। मुन्दुम परम्पराअनुसार ढ्वाङ्कुमो चाड मनाइने भएकोले हिन्दु संस्कृतिभन्दा फरक मूल्यमान्यता रहेको छ। संस्कृति अध्येता एवं वाम्बुले राई समाज नेपाल(वाम्रास)का उपाध्यक्ष गणेश राईका अनुसार ढ्वाङ्कुमोमा लिब्जु उपो (लिब्जु बाजे), भुम्जु उपो (भुम्जु बाजे), दिब्जु उपो (दिब्जु बाजे), सिसी सिकारी, आकाश, धरती र पितृहरूको पूजा गरिन्छ।

सिसी नाक्सो, ढ्वाङकुर्मो नाक्सो, काउर्मो नाक्सो र बुलु नाक्सो गरी चारजना नाक्सो (मुन्धुमी पूजारी)रहन्छन्। नाक्सो रहेनन् भने ढ्वाङकुम हुन सक्दैन। 

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकास्थित वडा–३ उबु गाउँमा रहेको ढ्वाङकुमटारलाई मुख्यचाड मनाउने थलो मानिन्छ। सोही ठाउँको शिरमा रहेको (पहाड समुद्री सतहदेखि करिब २ हजार मिटर उचाइ)को जंगलयुक्त अग्लो चुचुरो ‘लिब्जु’, त्यसैको सामु पश्चिमतर्फको चुचुरो ‘दिभुजु’ र दूधकोशी पारिको ‘भुम्जु’लाई इष्टदेवताको रूपमा पूजा गर्छन्। पहिले उत्पत्तिस्थल लिब्जु डाँडामै गएर मान्ने र पुज्ने गरेका थिए।

                                                                           लिब्जु डाँडा

तर, लिब्जु अग्लो डाँडा, धेरै टाढा उचाइमा रहेको हुँदा त्यहाँ बुढापाका, केटाकेटीहरू पुग्न असजिलो भएपछि भयो। त्यसैले समाज बसेर थोप्लोम डाँडा अर्थात् साम्फालिम डाँडामा लिब्जु थानको मठ थपना ल्याई पूजाआजा गरी ढ्वाङकुमो चाड मनाउँदै आएका थिए। पछि जनसंख्या बढ्दै जाँदा साम्फालिम डाँडामा रहेको लिब्जुको मठ उखेलेर भूमथली डाँडा (हालको ढ्वाङ्कुमटार)मा ल्याई थानवान बनाएर पूजा गर्न थालिएको भन्ने रहेको छ। 

‘परापूर्वकालमा ‘लिब्जु’ पूजा गर्दा माले गोरु बलि दिन्थे र गोरुको टाउको र जुरो चढाउने र उक्त बलिको प्रसादलाई चारचौरासका सबैलाई बाँड्थे, त्यसलाई मंसिरमा धानबाली पाकेपछि ढ्वाङ्कुम गर्दा उक्त प्रसादलाई अदुवामा मिसाएर पितृलाई चढाइन्छ।

 ​तर, कालान्तरमा हिन्दुधर्म विस्तार भएपछि गोरुको बलि दिन कानुनमा प्रतिबन्ध लाग्यो, अहिले राँगालाई धनुर्वाणले हानेर बलि चलाउने गरिन्छ,’उपाध्यक्ष राईले भने। 

प्रत्येक घरबाट थुन्से लैजाने परम्परा

ढ्वाङकुमो चाडको बेला प्रत्येक घरबाट टोलुम अर्थात् थुन्सेमा कागुनीको भात, एक मटिया जाँड, मकैका झुत्ता राखेर ढ्वाङकुमटारमा पुग्नुपर्छ। यसैगरी यस वर्ष पनि किरात वाम्बुले राईहरले मूख्य थलो ढ्वाङकुमटारमा रीत पुर्‍याई थुन्से लगेर ढ्वाङकुमो मनाएका छन्। सांस्कृति कार्यक्रम पनि आयोजना गरे। यस्तैगरी, मानेभञ्ज्याङ गाउँपालिका वडा–५ स्थित उदयपुरमा पनि ढ्वाङकुमो मनाएका छन्।

वडा–५ का अध्यक्ष रामकुमार राईका अनुसार उक्त ठाउँमा दिउँसो ढ्वाङकुमोको पूजा गर्ने र रातभर बृहत रूपमा सांस्कृतिक कार्यक्रमको आयोजना हुन्थ्यो। तर,पछिल्लो समय मान्छेहरू सहरीकारण हुँदा कार्यक्रम हुन सकेको छैन।

​यद्यपि, संगीना चाम्दो भने प्रदर्शन हुँदै आएको छ। ‘यो ढ्वाङकुमो हाम्रो मौलिक चाड हो,तीन दिनसम्म मनाउँछौँ,’उनले भने। ढ्वाङकुमो चाड मनाउने अर्को महत्वपूर्ण क्षण भनेको परम्परागत वाम्बुले पहिरनमा महिला तथा पुरुषहरू गोलाकार भएर संगीना गाउनु र नाच्नु हो। 

प्रकृतिको पूजा गरी ढ्वाङकुम मनाउँदा वर्षासँग परिवारमा सुुख, शान्ति र इच्छाएको कुरा पूरा हुने विश्वास छ। वाम्बुलेहरू लिब्जु उपोलाई मनोकामना पूरा गर्ने शक्तिको आराध्यदेवका रूपमा मान्दछन्। 

उपत्यकामा पहिलोपटक लिब्जु पूजा गरी ढ्वाङकुमो मनाए

काठमाडौं उपत्यकामा रहेका वाम्बुले राईहरूले काठमाडौं उपत्यकामा पहिलोपटक लिब्जु पूजा गरी विधिवत् रूपमा ढ्वाङकुमो चाड मनाएका छन्। यद्यपि, उक्त अवसरमा यसअघि देखि नै शुभकामना आदानप्रदान कार्यक्रम भने हुँदै आएको थियो।

बिहीबार वाम्बुले राई समाज, नेपाल (वाम्रास)को आयोजनामा उनीहरूले किरात धार्मिक वन, सानो हात्तीवनमा लिब्जु पूजा गर्दै ढ्वाङ्कुमो मनाएका हुन्।

उक्त चाडका अवसरमा भेटघाट तथा शुभकामना आदानप्रदान गरी वाम्बुले भेषभूषामा सांस्कृतिक नाच, परम्परागत संगीना चाम्दो (नाचगान)समेत प्रदर्शन गरेका थिए। उनीहरूले राम्दले भाकामा मादल बजाउँदै गीत गाए। नाचगान गरे। आफन्त,साथीभाइ सङ्ग भेटघाट गर्दै शुभकामना आदानप्रदान गरेका थिए। वाम्बुले राई समाज नेपाल (वाम्रास)का केन्द्रीय अध्यक्ष गजुरधन राईका अनुसार वाम्बुले राई समुदायमा नयाँ बाली पाकेपछि ग्रहण गर्ने बेला भव्य रूपमा मनाउने सामूहिक चाड हो ढ्वाङकुमो।

​‘यो एतिहासिक र मौलिक चाड हो, विभिन्न रीत पुर्‍याएर ढ्वाङ्कुमलाई विधिपूर्वक आकाश, पाताल (जमिन), पाखापर्वत, वनजंगलको पूजा गरिन्छ,’उनले भने।उनका अनुसार ढ्वाङ्कुमको अवसरमा काठमाडौं उपत्यकामा पनि २०५८ सालदेखि भेटघाट कार्यक्रम निरन्तर आयोजना गरिएता पनि विगत केही वर्ष अगाडिको विश्वव्यापी महामारी कोभिड–१९ का  कारण स्थगित भएको थियो।

यस वर्ष भने वाम्रासको पहलमा हात्तीवन, ललितपुरमा पहिलोपटक ढ्वाङ्कुमोको अवसरमा भेटघाट कार्यक्रम गरिएको र उक्त ठाउँमा लिब्जु उपो(लिब्जु बाजे)को थान बनाई लिब्जु सामासमेत विधिवत रूपमा गरिएको उनले जानकारी दिए।

‘वाम्बुलेहरूको रैथाने परिकार अब होटलको मेनुमा हुनुपर्छ’

हिजोको उक्त कार्यक्रममा संस्कृति,पर्यटन तथा नागरिक उड्ड्ययनमन्त्री सुदन किराती प्रमुख अतिथि थिए। उनले लिब्जु थान,वाम्बुले राईहरूको मौलिक परिकारको पनि अवलोकन गरे।

वाम्बुले राईहरूले ढ्वाङकुमो चाड संरक्षण गर्दै आएकोमा खुसी व्यक्त गर्दै उनले भने,‘ हिजो माथिल्लो पुर्वपहाडबाट काठमाडौं बसाइसरेका वाम्बुले राईहरू गाउँबाट सहरमा सरेनन्,संस्कृति पनि सारेछन्, सहरमा पनि संरक्षण गरिरहेछन्, हामी साँच्चै प्रकृतिको पूजक हौँ, प्रकृतिप्रेमी हौँ,संस्कृतिको सधै जगर्ना गर्नु आवश्यक छ।’

उनले किराती राईहरू संसारको जुनसुकै कुनामा गएपनि संस्कृति बोकेर इन्द्रेणी जस्तै सजिएर संसारभरी फैलिएको बताए। ‘हाम्रो इतिहासको जरा खुवालुङबाट फैलिएका हामी,हागाहरू जहाँ हामी विभिन्न रंगमा विभिन्न हागाहरूमा फुलेका छौँ,हामी फक्रेका छौँ,संस्कृतिको धनी किराती हौँ,एक आपसमा २६ भाषाहरू छन्, यसमा पुर्खाको ठूलो योगदान छ,’उनले भने।

प्रकृतिमा रोपेको कागुना वा अन्नहरू फलिसकेपछि वाम्बुले राई चेलीहरूले थुम्सेमा बोकेर पूजा गर्ने गरेको बताए। ‘विद्धवानहरूको भनाइअनुसार १० हजार वर्ष अगाडिदेखि यो धर्तीमा कागुनी खेती हुन्थ्यो, कागुनीखेतीसँग हाम्रो इतिहास र संस्कृति र सभ्यता जोडिएको छ,’उनले भने,‘यो हाम्रो संस्कृति कागुनी अन्नको संस्कृतिमा मात्र होइन इतिहासमा पनि जोडिएको छ।’ 

उनले वाम्बुले राई लगायत सबै जातिको रैथाने परिकारकारहरू होटलका मेनुहरू बन्नुपर्ने पनि बताए।  उनले भने,‘यसका लागि हामी बहस गरिरहेका छौँ, संस्कृति प्रकृतिमैत्री हुनुपर्छ।’

संस्कृतिको संरक्षण गरी नयाँ पुस्तालाई पुस्तान्तरण गर्दै छौँ : वाम्रास 

वाम्बुले राई समाज नेपाल (वाम्रास)का केन्द्रीय अध्यक्ष राईले पहिलो पटक हात्तीवनमा लिब्जु पूजा गरी चाड मनाएको भन्दै अझै थप कार्यक्रमहरू आयोजना गर्नमा अब सहज मिल्ने बताए।

उनले भने,‘वाम्बुलेहरूको मात्रै होइन,समग्र किरात समुदाय र समग्र देशबासीको उन्नती र प्रगतिको लागि हामीले लिब्जु पूजा गरेका छौँ,सुख,शान्ति,शक्ति मागेका छौँ।’ उनका अनुसार हिजो उदयपुर जिल्ला,धरानलगायत वाम्बुले राईहरूको बसोबासित स्थानमा धुमधामका साथ ढ्वाङकुमो मनाएका छन्। 

कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिका अध्यक्ष एवं वाम्रासका महासचिव जीवन हाताचो राईले वाम्बुले राईहरूको संस्कार संस्कृतिको संरक्षण गर्दै आएको  बताउँछन्। उनले भने,‘हामी थातथलो छोडेर विभिन्न शहरहरूमा आइसकेपछि पनि संस्कार संस्कृतिको खोजी, संरक्षण गर्ने र नयाँ पिढीलाई पुस्तान्तरण गर्दै गएका छौँ।’

(याे पनि)


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.