|

काठमाडौं : खानेपानी मन्त्रालयले कात्तिक महिनादेखि मेलम्ची खानेपानी काठमाडौं उपत्यकामा आउने जनाएको छ। मन्त्रालयकी प्रवक्ता मीना श्रेष्ठले बाढीले पुगेको क्षति मर्मतपछि पानी ल्याइने जानकारी दिइन्।

उनले भनिन्, ‘हाम्रो त वर्षात सकिएपछि उपत्यकामा पानी पठाउने लक्ष्य थियो तर पहिला जस्तै बाढीले आयोजनामा क्षति पुग्यो। अब मर्मत गरेर उपत्यकामा पानी पठाउन डेढ महिना लाग्छ भन्ने जानकारी आएको छ।’ उनका अनुसार आगामी असोजसम्ममा क्षति पुगेको मर्मत गरिसक्ने र कात्तिकदेखि पठाउने गरी काम गरिनेछ। उनले क्षति मर्मतको काम भने वर्षात सकिएपछि थालिने बताइन्।

‘पहिलाजस्तै बाढीले हेडबक्स पुरिएको छ, अझै पानी पर्ने सम्भावना भएकाले तत्काल काम सुरु हुँदैन। वर्षा सकिएपछि मात्रै काम सुरु हुन्छ’, उनले भनिन्।सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा–१ का अध्यक्ष दावा ग्याल्जेन लामाका अनुसार साउन अन्तिमतिर निरन्तर परेको वर्षाका कारण खोलामा बाढी आउँदा आयोजनामा क्षति पुगेको छ।

यसैगरी त्यहाँ जाने बाटोसमेत अवरुद्ध भएको थियो। त्यस वेला आयोजनाको मुहानमा कार्यरत दुर्गारमण लामिछानेले बाढीले आयोजनाको गेट नम्बर ९ र १० पुरिएको जानकारी दिएका थिए। 

विकास समिति भन्छ : धेरै सुरुङ नपुरिए छिट्टै पानी पठाइन्छ 

मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तले सुरुङ धेरै नपुरिएको खण्डमा मर्मत गरी छिट्टै उपत्यकामा पानी पठाउन सकिने जानकारी दिए।

उनले भने, ‘यसपालि पनि २०७८ सालको जस्तै गरी बाढी आएर आयोजनामा क्षति पुगेको छ। अहिले नै यो समयमा पानी पठाउन सकिन्छ भन्न त सकिँदैन‚ काम थालिएपछि मात्रै थाहा हुन्छ। सुरुङभित्र धेरै माटो पुरिएको भए समय लाग्न सक्छ।’

उनका अनुसार अहिले क्षति मर्मतका काम गर्न सकिने अवस्था छैन। वर्षा सकिएपछि मात्रै क्षति मर्मतको काम थालिने उनको भनाइ छ। क्षति मर्मतमा कति खर्च लाग्छ भन्ने प्रश्नमा उनले भने, ‘अहिले नै यति खर्च लाग्छ भन्न सकिँदैन। त्यहाँ निरीक्षण गरेर मात्र थाहा हुन्छ।’ 

दीर्घकालीन व्यवस्थापन नहुँदा पटक पटक पानी बन्द

सरकारले मेलम्ची खानेपानीलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न नसक्दा पटक–पटक पानी बन्द र बाढीले क्षति पुर्‍याएकाे छ। आयोजना सुरु भएको दुई दशकपछि अर्थात् २०७८ चैत्र १५ गते उपत्यकाभित्र पहिलो पटक वितरण थालिएको थियो।

पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण भयो तर २०७८ सालको असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुग्यो। क्षति भएको ९ महिनापछि अर्थात् २०७९ वैशाख ११ गते अस्थायी रूपमा फेरि पानी काठमाडौं ल्याइयो।

सरकारले पहिला जस्तो बाढीबाट क्षति हुन नदिन भन्दै २०७९ जेठ १७ गतेबाट मेलम्चीको पानी ल्याउन बन्द गरेको थियो। बर्खा सकिए पनि सरकारले समयमा पानी ल्याउन सकेन। बन्द गरेको ६ महिनापछि मात्र मेलम्चीको पानी सरकारले काठमाडौं ल्यायो।

क्षति मर्मतपछि गत मंसिर २३ गतेदेखि पानी वितरण भएको थियो। फेरि मेलम्ची खानेपानी विकास समितिले यो वर्षामा पनि मेलम्चीको पानी ल्याउन संरचना मर्मतको काम गरिने भन्दै गत जेठ ५ गतेदेखि १५ गतेसम्म अर्थात् १० दिन पानी पठाउन बन्द गर्‍याे।

उक्त संरचना मर्मतपछि पानी उपत्यकामा आयो। विकास समितिले वर्षा कालमा पनि पानी आउने जनाएको थियो तर पुनः बन्द गरियो र बाढीले पनि क्षति पुर्‍यायाे।

उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग 

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का अनुसार उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ तर सरकारले यी मागअनुसार अझै पानीको व्यवस्थापन गर्न सकेको छैन।

मेलम्चीको पानी बन्द हुँदा अरू स्रोतबाट दैनिक १५ देखि १६ करोड लिटर पानीको आपूर्ति भएको केयूकेएलका प्रवक्ता प्रकाशकुमार राई बताउँछन्। उनका अनुसार सुक्खा याममा झनै घटेर दैनिक १०-११ करोड लिटर मात्रै आपूर्ति हुन्छ।

यसले गर्दा पानी अभाव भई केयूकेएलका दुई लाख ३० हजार ग्राहक जारको पानी खरिद गरेर खान र घरायसी प्रयोगका लागि ट्यांकरको पानी प्रयोग गर्न बाध्य छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.