|

ललितपुर : मलेसियामा जारी महिला टी–२० विश्वकप क्रिकेटको एसियाली छनोटमा नेपालले सेमिफाइनलको संभावना बलियो बनाएको छ।  

लगातार तेस्रो खेलमा पनि जित हात पार्दै नेपालले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको हो। आयोजक मलेसिया, बहराइन र भुटानलाई हराएपछि नेपालको सेमिफाइनल संभावना प्रबल बनेको हो। 

नेपालले अब कतार र यूएईसँग खेल्न बाँकी छ। समूह ए को शीर्ष स्थानमा रहेको यूएईको ३ खेलबाट नेपालसरह अंक भए पनि नेट रनरेटमा माथि छ। तर कतारमा खेलेका सबै खेलमा नेपालले पराजित गरेको हुँदा यूएईसँगको खेल नेपालका लागि सहज हुने अनुमान गरिएको छ। 

कतारलाई पराजित गरेमा नेपाल सेमिफाइनल पुग्ने निश्चित हुनेछ। नेपालले सोमबार कतारसँग र बुधबार यूएईसँग खेल्नेछ। समूह ए मा ३ खेलबाट ६ अंक बटुलेको युएई पहिलो र उति नै अंक बटुलेको नेपाल तालिकाको दोस्रो स्थानमा छ। 

सेमिफाइनलमा पुग्न सहज देखिए पनि अहिलेको नेपालको खेल स्तर त्यति उत्साहजनक छैन। यो छनोट प्रतियोगिताको फाइनल पुग्ने दुवै टोली विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन्। 

नेपाल सेमिफाइनलमा पुगेको खण्डमा समूह बी का हङकङ, थाइल्याण्ड र कुवेतमध्ये एकसँग खेल्ने संभावना हुनसक्छ। 

समूह बी मा ३ खेलबाट ६ अंक बटुलेको हङकङ शीर्षस्थानमा छ। थाइल्यान्डको २ खेलबाट ४ अंक जोडेको छ। कुवेतले पनि एक खेल जित्दै २ अंक पाएको छ।
५ वटा टोली रहेको समूहबाट चीन र म्यानमारले लगातार हार्दै ग्लोबल छनौटमा स्थान बनाउन नसक्ने भइसकेका छन्। 

भुटान ३ विकेटले पराजित 

आइतबार नेपालले भुटानलाई ३ विकेटले हराएको छ। भुटानले दिएको ४० रनको लक्ष्य नेपालले १३ दशमलव २ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो। 

नेपालका लागि कप्तान रुबिना क्षेत्रीको १२ रन जितका लागि महत्वपूर्ण रह्यो। उनी सर्वाधिक १२ रनमा अविजित रहिन्। कविता कुँवर, अस्मिना कर्माचार्य, इन्दु बर्मा र सम्झना खड्का डकआउट भए। 

कवितासँग ओपनिङ पार्टनरसिप गर्न आएकी अनुभवी खेलाडी सीता राना मगर ८ रनमै आउट भइन्। कविता जोशीले १ चौकासहित ८ रन बनाइन्। त्यसपछि नेपाली ब्याटिङ कमजोर रुपमा प्रस्तुत भयो। 

एक समय लगातार खेलाडीहरु शून्य रनमा आउट भइरहँदा धर्मराएको नेपाललाई कप्तान रुबिनाले टिकेर सम्हालिन्। पूजा महतो ३ रनमा आउट भइन्। नेपालले अतिरिक्त ९ रन पायो। 

भुटानका लागि अन्जुली घलेले सर्वाधिक ३ विकेट लिँदा छिरिङ जाङ्मो, सोनाम र अन्जु गुरुङले १/१ विकेट झारे। 

त्यसअघि, यूकेएम–वाईएसडी क्रिकेट ओभल बाङ्गीमा टस हारेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ३९ रन बनाएको थियो।

भुटानका लागि कप्तान दिचान वाङ्मोले सर्वाधिक २१ रन बनाएकी थिइन्। छिरिङ जाङ्मोले ६ रन तथा सोनाम छोदेनले ३ रन बनाइन्।

नेपालका लागि सर्वाधिक ३ विकेट लिएकी पूजा महतो खेलको उत्कृष्ट ब्याट्सवुमन भइन्। यसबाहेक कविता कुँवर र रुबिना क्षेत्रीले पनि १/१ विकेट लिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.