वर्षा बाधक बने भारत सुपर फोरमा

|

ललितपुर : ​एसिया कप क्रिकेटमा सोमबार (आज) नेपालले भारतको सामना गर्दैछ। खेल सोमबार दिउँसो श्रीलकाको केन्डिस्थित पालेकेले अन्र्तराष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ।  नेपाल र भारत दुवका लागि सुपर फोरमा पुग्न यो खेल महत्वपूर्ण छ।

भारतलाई जितले त सजिलै सुपर फोरमा लैजान्छ भने बराबरी या वर्षा बाधक बन्दा पनि फाइदा पुग्छ। नेपालका लागि भने जितको कुनै विकल्प छैन। त्यहाँको मौसम विभागका अनुसार पानी पर्ने संभावना पनि देखीएको छ। पानी परेर खेल स्थगीत भए नेपालका लागि भारतजस्तो टिमसँग खेल्ने अवसर समेत गुम्नेछ। 

नेपालका लागि एसियाकप र विश्वकप नै जितिसकेको भारतसँग खेल्न पाउनु नै ठूलो अवसर हो। आजको खेलमा राम्रो प्रदर्शन गर्नाले मात्रै पनि नेपालको छवि उच्च हुनेछ भने खराब प्रदर्शनले भारतको साखमा गिरावट आउनेछ। त्यसैले पनि नेपालभन्दा भारत बढि दबाबमा हुनेछ। 

नेपालले उमेर समूहबाहेक सिनियर भारतीय टिमसँग खेलेको छैन। २०१७ को यू–१९ एसिया कपमा नेपालले भारतलाई हराएको थियो। त्यत्ति बेला नेपाली युवाटोलीका ब्याटिङ प्रशिक्षक मोन्टी देशाई रहेका थिए ,। दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल , आसिफ शेख, भिम सार्की लगायतका खेलाडीले भारतीय युवाटोलीलाई हराएका थिए। अहिले त्यही खेलाडी भारतीय सिनियर टिमसँग भिड्न तयार भएको छ। 

नखेलेको टोली त्यसमाथि पनि विश्वस्तरका ब्याट्स्म्यान र बलरको सामु नेपालका लागि निकै चुनौती हुनसक्छ। तर क्रिकेटलाई अरु खेलको जस्तो पूर्व अनुमान ठ्याक्कै नमिल्ने हुनसक्छ। 

यदि भारतीय ब्याट्स्म्यान र बलर चल्न सकेनन् र त्यसको फाइदा नेपालले उठाएर खेल्न सक्यो भने जित असंभव नरहेको पूर्व क्रिकेट कप्तान पवन अग्रवाल बताउँछन्। र, खेलमा असंभव भन्ने चाँही हुँदैन, बलियो टिम हो खेल्न कठिन हुन सक्छ, उनले भने ‘बाउण्ड्रीसँगै सट रन पनि खेल्नुपर्छ, टस हाम्रो पक्षमा गएर ब्याटिङ राम्रोसँग खेल्न पाए भारतमाथि दबाब हुनसक्छ।’ 

भारत १ अंक सहित समूहको दोस्रो स्थानमा छ भने नेपाल पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनको भारी अन्तरले हार्दै शून्य अंकका साथ पुछारमा छ। पाकिस्तान ३ अंकसहित सुपर चारमा पुगिसकेको छ। 

भारत भने आफ्नो पहिलो खेलमा पाकिस्तानसँग अंक बाँड्न बाध्य भएको थियो। पहिले ब्याटिङ गरेको भारतले सबै विकेट गुमाएर २ सय ६६ बनाएपछि पाकिस्तानले जवाफी ब्याटिङ गर्ने मौका पायो तर वर्षाका कारण उसले ब्याटिङ गर्न नपाएपछि खेल अवरुद्ध भयो। जसका कारण दुबैले १–१ अंक बाँडेका थिए। 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को एकदिवसीय विश्व वरियतामा १५ औँ स्थानमा रहेको नेपालका लागि तेस्रो वरियताको भारतसँग खेल्न पाउनु नै ठूलो अवसरका रुपमा नेपाली क्रिकेटर लिन्छन्। तर अवसरलाई सक्दो सदुपयोग गर्ने ध्याउन्नमा यसपाली खेलाडीहरु रहेका छन्। उनीहरुले आईसिसी विश्व लिग २ मा देखाएको जादुमयी प्रदर्शनको खाँचो रहेको छ। 

विश्व क्रिकेटका उत्कृष्ट ब्याट्स्म्यान विराट कोहली र रोहित शर्माको विस्फोटक ब्याटिङ भंग गर्न सक्ने गरी नेपाली बलरले बलिङ गरे तथा भारतीय बलर मोहम्मद शामी , मोहम्मद सिराज र स्पीनर कुलदीप यादव जस्ता बलरविरुद्ध नेपाली ब्याटरले रनको जादु देखाए नेपालको संभावना हुनसक्छ।

तर मुल्तानमा पाकिस्तानविरुद्धको खेलका दौरान बाबर आजमलाई आउट गर्न नसकेको घटना दोहोर्‍याए ,सुपर फोर त परै जाओस् भारी अन्तरको हार पनि हुनसक्छ।

सोमबार भारतीय तीब्र गतिका बलर जस्प्रित बुमराह नहुने भएकाले नेपाललाई फाइदा हुने भएको छ।  उनको तीब्र बलको आज नेपाली ब्याटरले सामना गर्नुपर्ने छैन। बुमराह  व्यक्तिगत कारणले मुम्बई फर्किएकाले आजको खेलमा उनी टिममा हुने छैनन्।  बुमराहको स्थानमा मोहमम्द शामी वा प्रसिद कृष्णले खेल्ने संभावना रहेको क्रिकइन्फोले जनाएको छ।

भारतका शुभमन गिल, श्रेयस ऐर, ईशान किशनसँगै हार्दिक पान्ड्या र रविन्द्र जडेजा जस्ता विश्व प्रसिद्ध अलराउन्डरको चुनौती फेस गर्नु नेपाली क्रिकेटरलाई सजिलो देखीन्न। 

उसो त उत्साह , उमङ्ग बोकेका जोशीला नेपाली युवाखेलाडी पनि कम छैनन्। उनीहरु एकै पटक आफूभन्दा धेरै माथिल्ला स्तरका टिमसँग खेल्दैछन्। 
कुशल भूर्तेल , कुशल मल्ल, कप्तान रोहित, दीपेन्द्र सिंहले राम्रो रन बनाएर सन्दीप लामिछाने , करण केसी , ललित राजवंशी र सोमपाल कामीले धारिलो बलिङ गर्नु आवश्यक छ। 

पहिले ब्याटिङ गर्दा ३ सय रन माथी हान्नुपर्ने र बलिङ रोज्दा २ सय मुनि नै रोक्न सके नेपालका लागि फाइदा पुग्ने देखिन्छ। हरेक नेपाली खेलाडीले कम्तिमा २५–३० रन हानेको खण्डमा पनि खेल आफ्नो पक्षमा पार्न सजिलो हुने विश्लेषकहरु बताउँछन्। 

एसिया कपको समूह बी मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन्। हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन्। सुपर फोरमा चार टोलीले एक अर्काबीच खेलेपछि त्यहााबाट शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.