|

ललितपुर :  नेपाल एशिया कप क्रिकेटको समूहचरणबाटै बाहिरिएको छ। समूह ए को आफ्नो दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित हुँदै नेपालको सुपर फोरमा पुग्ने संभावना सकिएको हो।

१ सय ४५ रनको नयाँ लक्ष्य पछ्याएको भारतले १७ बल बाँकी छँदै भेट्टायो। भारतका लागि २० दशमलब १ ओभरको खेलमा जितका निम्ति २ रन चाहिँदा शुभमन गिलले चौका प्रहार गरेका थिए। उनको सो चौकापछि भारतले बिना कुनै विकेट १ सय ४७ रन बनाएर खेल जितेको हो। 

यसअघि नेपालले दिएको २ सय ३१ रनको लक्ष्य भारतले पछ्याउने क्रममा वर्षा भएपछि खेल २ घण्टा रोकिएको थियो। वर्षाका कारण डकवर्थ लेविस पद्धतिको आधारमा २३ ओभरमा छोट्याइएको खेलमा भारतले जितका निम्ती १ सय ४५ रनको नयाँ लक्ष्य पाएको थियो। 

पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनको भारी रन अन्तरले हारेको नेपालले भारतसँगको खेलमा निकै सुधार गर्‍यो।   सोमबार भारतका लागि ओपनरद्धय कप्तान रोहित शर्मा र शुभमन गिलले उत्कृष्ट इनिङ खेले। शर्माले ५९ बलमा ६ चौका र ५ छक्का हान्दै ७४ रन जोडे। गिलले भने ६२ बलमा ८ चौका र १ छक्काको मद्दतमा ६७ रन बनाए। भारतले अतिरिक्त ६ रन पाउको थियो। 

ब्याटिङ जमे पनि नेपाली बलिङ भने भारतीय विस्फोटक ब्याट्स्म्यानको अगाडी केही सीप चलेन। बलरहरुका लागि  विकेट त परै जाओस् किफायती रन दिन पनि हम्मे–हम्मे प¥यो।  

नेपालले ७ जना खेलाडीलाई त बलिङ मै उता¥यो। सन्दीप लामिछाने , ललित राजवंशी र करण केसीले ४–४ ओभर बल फ्याँके। ​सन्दीपले ३ चौका र ३ छक्का सहित ३९ रन खर्चिदा ललितले १ छक्का सहित २४ रन दिए। करणको बलिङमा ३ चौका र १ छक्कासहित भारतले २६ रन बटुल्यो।

२ ओभर बलिङ गरेका सोमपाल कामीले ५ चौकासहित २३ रन खर्चिए। दिपेन्द्र सिंह ऐरीले २ ओभरमा १ छक्का सहित १२ रन भारतलाई सुम्पिए। ​ यसैगरी कुशल मल्लले ३ ओभरमा १ चौकासहित ११ रन खर्चिए। गुल्सन झाले १ दशमलब १ ओभर बलिङ गर्दै २ चौका सहित ११ रन दिए। 

वर्षा बाधक नबनेको भए सायद नेपाली ब्याट्स्म्यानले दिएको लक्ष्य भेट्टाउन भारतलाई पनि त्यत्ति सहज हुने थिएन होला। 

यसअघि श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा नेपालले दिएको २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको भारतले २ दशमलव १ ओभरमा १७ रन बनाउँदा वर्षाका कारण खेल केहीबेर रोकिएको थियो। खेल रोकिनुपूर्व भारतीय सुरुवाती ब्याट्स्म्यान शुभमन गिल र कप्तान रोहित शर्मा क्रिजमा रहेका थिए।

गिलले ६ बलमा ३ चौकासहित १२ रन बनाउँदा शर्माले भने ७ बलमा १ चौकासहित ४ रन बनाएका थिए। नेपाली तीव्र गतिका मिडियम बलर करण केसीले पहिलो ओभरमा एक रन मात्रै दिँदै उत्कृष्ट सुरुवात गरेका थिए। त्यो एक रन पनि वाइड थियो। दोस्रो ओभरमा सोमपाल कामीलाई शुभमन गिलले तीन चौका प्रहार गरेका थिए।

यसअघि श्रीलंकाको पाल्लेकिल्ले स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले विश्व क्रिकेटकै पावर हाउस भारतविरुद्ध उत्कृष्ट ब्याटिङ गर्न सफल भएको थियो। 

विश्वस्तरमै ख्याती प्राप्त मोहम्मद शामी , मोहम्मद सिराज र स्पीनर कुलदीप यादव जस्ता भारतीय बलर तथा हार्दिक पान्ड्या र रविन्द्र जडेजा जस्ता विश्व प्रसिद्ध अलराउन्डरको चुनौती फेस गर्न नेपाली खेलाडी सफल नै देखिए। 

तीब्र गतिका बलर जस्प्रित बुमराहको अनुपस्थिती नेपाललाई फाइदाजनक देखियो।  विश्वकप र एसिया कप जितीसकेको आइसिसीको वान डे वरियतामा तेस्रो स्थानमा रहेको भारतविरुद्ध १५ औँ वरियताको नेपालले २ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

नेपालले ४८ दशमलब २ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाउन सफल भएको थियो।  नेपालका लागि सानदार योगफल खडा गर्न आशिफ शेख,सोमपाल कामी, कुशल भुर्तेल , गुल्सन झाले महत्वपूर्ण भूमिका निर्वाह गरे। 

आशिफले अर्धशतक बनाए भने सोमपाल अर्धशतक बनाउनबाट मात्र २ रनले चुके। १ छक्का र २ चौका सहित ५६ बलमा ४८ रन हानेका सोमपाल सामीको बलमा किसनद्धारा क्याच आउट भए। 

यसअघि कुशल भूर्तेलसँगै ओपनिङ ब्याटिङ गरेका आशिफले ९७ बल खेलेर ८ चौकाको मद्दतमा ५८ रन बनाए। पहिलो विकेटका लागि उनीहरुवीच ९ दशमलब ५ ओभरमा ६५ रनको साझेदारी भएको थियो। 

भुर्तेल भने २५ बलमा २ छक्का र ३ चौकाको मद्दतमा ३८ रनमा सार्दुल ठाकुरको बलमा इसान किसनद्धारा क्याच आउट भए। आशिफ भने महोम्मद सिराजको बलमा विराट कोहलीद्धारा क्याच आउट भए। 

त्यसअघि नेपाली ओपनरले तीन जीवनदान पाएका थिए। कुशल भुर्तेललाई दोस्रो ओभरमै श्रेयस ऐरले फस्ट स्लिपमा एक रनमा र ईशान किशनले ७ रनमा छाडेका थिए।
त्यस्तै आसिफ शेखलाई एक रनमा विराट कोहलीले एक्स्ट्रा कभरमा क्याच छाड्दै जीवनदान दिएका थिए। ​सुरुवातीको ५ ओभरमा तीन जीवनदान पाएपछि नेपाली ओपनर ब्याट्स्म्यानले उत्कृष्ट ब्याटिङ थालेका थिए।

२५ बलमा ३ चौका सहित दिपेन्द्र सिंह ऐरीले २९ रन बनाएका थिए। उनी जडेजाको बलमा एलबिडब्लु भए।  

५ बलमा ३ चौका हान्दै गुल्सनले २३ रनको योगदान दिए। उनी सिराजको बलमा किसनद्धारा नै क्याच भए। 

स्पिनर जडेजाको २० औं ओभरको अन्तिम बलमा नेपाली कप्तान रोहित पौडेल एज लागेर भारतीय कप्तान रोहित शर्माबाट क्याच आउट हुन पुगे। त्यत्तिबेला पौडेलले ८ बलमा मात्र ५ रन बनाएका थिए। 

यसबाहेक पूर्व कप्तान सन्दीप लामिछानेले ९ रन बनाउँदा भिम सार्कि ७ रनमा आउट भए।

भिम जडेजाको बलमा आउट भए भने उनै जडेजाको बलमा कुशल मल्ललाई सिराजले २ रनमै क्याच गरिदिए। २ बलमा २ रन हानेका करण केसी नटआउट रहे। ललित राजवंशी महोम्मद सिराजको बलमा आउट भए। 

ओपनिङ साझेदारीका कारण नेपालले पाकिस्तानसँगको खेलभन्दा राम्रो प्रर्दशन गर्न सफल भयो। 

भारतका लागि मोहम्मद सिराज र रवीन्द्र जडेजाले समान ३÷३ विकेट लिएका छन्। यस्तै मोहम्मद सामी, हार्दिक पाण्डेय र शार्दुल ठाकुरको नाममा एक÷एक विकेट रह्यो।

लगातार २ खेल हार्दै नेपालले दुई शक्ति राष्ट्रसँग अनुभव बटुलेर समूहचरणबाटै बाहिरिँदा शिर्ष वरियताको पाकिस्तान र तेस्रो वरियताको भारत सुपर फोरमा पुगेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.