|

काठमाडौं : एसिया कप अन्तर्गत सोमबार भएको भारतसँगको ऐतिहासिक क्रिकेट खेलमा नेपालको जित अपेक्षा गरिएको थिएन।

नेपाल डकवर्थ लुइसको नियम अनुसार भारतसँग १० विकेटले पराजित पनि भयो। तर नेपालले विश्वको महाशक्ति टिम भारतविरुद्धको पहिलो खेलमा नै साहसिक ब्याटिङ प्रदर्शन गरेर विश्व क्रिकेटमा आफ्नो छवि उच्च पारेको छ।

मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ, भारतीय कप्तान रोहित शर्माले टस जितेपछि आफ्ना बलरहरूलाई अभ्यास हुने भन्दै नेपाललाई ब्याटिङका लागि निमन्त्रणा दिए। नेपालले पहिले ब्याटिङ गरेर ४८.१ ओभरमा २३० रन बनायो। जुन श्रीलंकाको पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानको पिचमा चुनौतीपूर्ण लक्ष्य थियो। भारतले जवाफमा २.१ ओभरमा बिना विकेटको क्षतिमा १७ रन बनाउँदा वर्षाले खेल रोकियो। त्यसपछि भारतले डकवर्थ लुइसको नियम अनुसार २३ ओभरमा १४५ रन बनाउनुपर्ने संशोधित लक्ष्य पाएको थियो। भारतले २०.१ ओभरमा विना विकेटको क्षतिमा १४७ रन बनाएर लक्ष्य हासिल गर्‍यो।

यस नतिजाले भारतलाई समूह ए उपविजेताको हैसियतमा सुपर फोरमा पुर्‍यायो भने नेपाल घर फर्कने भएको छ। नेपाल पहिलो खेलमा पाकिस्तानसँग हारेको थियो। भारत र पाकिस्तानबीचको खेल पनि वर्षाले रद्द भएपछि दुवै टिमले अंक बाँडेका थिए।

भारतीय कप्तान रोहितले ५९ बलमा छ चौका र पाँच छक्कासहित अविजत ७४ रन बनाए। गिल पनि ६२ बलमा ६७ रन बनाएर आउट भएनन्। उनको पालिमा आठ चौका र एक छक्का सामेल थियो। पानीले भिजेको मैदानमा बललाई ‘ग्रिप’ गर्न गाह्रो हुने भएकाले पनि नेपाली बलरहरूलाई बेफाइदा भएको थियो, जसको फाइदा रोहित र गिलले उठाए।

नेपालको उल्लेखनीय ब्याटिङ

पहिलो खेलमा पाकिस्तानविरुद्ध कमजोर ब्याटिङ गरेको नेपाल अर्को विश्वस्तरीय बलिङ आक्रमणमा धराशायी हुने संशय थियो। तर नेपाली ब्याट्सम्यानहरूले भारतको तेज र स्पिन बलिङ आक्रमणमा प्रशंसालायक ब्याटिङ गरे।

पहिलो पावर प्लेमा भारतविरुद्ध नेपाल नै हाबी थियो। नेपालले १० ओभरमा एक विकेटको क्षतिमा ६५ रन बनाएर पहिलो पावर प्ले सकायो। पहिलो पावर प्लेको अन्तिम ओभरमा प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल शार्दूल ठाकुरको बलिङमा विकेटकिपर इशान किशनद्वारा क्याच आउट भए। यद्यपि भुर्तेलले आउट हुनुअघि २५ बलमा ३८ रनको विस्फोटक पालि खेलेर सबैको मन जिते। उनको पालिमा तीन चौका र दुई छक्का सामेल थियो।

यस पालिको दौरान भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरे। भुर्तेलको एकदिवसीय अन्तर्राष्ट्रिय रन १०३२ मा पुगेको छ। नेपालका लागि एक हजार रनको कोसेढुंगामा छुने भुर्तेल रोहित पौडेल र आसिफ सेखपछि तेस्रो ब्याट्सम्यान हुन्।

अर्का प्रारम्भिक ब्याट्सम्यान आसिफ सेखको ब्याटिङ पनि उत्तिकै सम्झन लायक रह्यो। आसिफ ९७ बल खेलेर आठ चौकासहित सर्वाधिक ५८ रन बनाएपछि मोहम्मद सिराजको बलिङमा विराट कोहलीद्वारा क्याच आउट भए। यद्यपि भारतविरुद्ध बनाएको रन आसिफको अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा दशौँ अर्धशतक भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.