|

इलाम : नेपाल–भारत सीमा क्षेत्र पशुपतिनगरबाट भारत लैजाँदै गरेका पाँचजना नेपाली महिलाको उद्धार गरिएको छ। विभिन्न स्थानका पाँचजना महिलालाई कामको प्रलोभन देखाई बेचबिखनका लागि लैजाँदै गर्दा पशुपतिनगरको निगरानी टोलीले महिलाको उद्धार गरेको हो।

दलालले सीमा कटाउन लाग्दै गर्दा सोधीखोजी गर्ने क्रममा झापामा काम लगाउने बहाना बनाएर सिमाना कटाउन लागेको थाहा पाएपछि प्रहरी, माइती नेपालसहितको निगरानी टोलीले उद्धार गरेको माइती नेपाल पशुपतिनगरका प्रमुख होम ढकालले जानकारी दिए।

उद्धार गरिएका महिलामा कञ्चनपुरका दुई, दार्चुला, बैतडी र अछामका एक-एकजना रहेको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिए। उनले राति आठ बजेको समयमा सिमाना कटाउन लाग्दा शंकास्पद गतिविधि देखिएपछि सोधखोज गर्दा दलालले सिलिगुडी लैजान लागेको खुलेको थियो।

उद्धार गरिएका महिला १६ देखि ३० वर्ष उमेर समूहका छन्। इलामका प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुका अनुसार बेचबिखनका लागि भारत लैजाने गिरोहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

महिलालाई भारत लैजाँदै गर्दा पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका–३ का १९ वर्षीय उपेन्द्र बडू, मालिकार्जुन गाउँपालिका–४ का २० वर्षीय सीता धामी र कञ्चनपुर देवकोट नगरपालिका–२ का १९ वर्षीय सुशीला धामी छन्।

माइती नेपाल पशुपतिनगरका प्रमुख ढकालले उद्धार गरिएका पाँचजनामध्ये तीनजनालाई माइती नेपाल र स्थानीय प्रहरीले परिवारको जिम्मा लगाएको छ। दुईजनालाई माइती नेपालको केन्द्रीय कार्यालय काठमाडौँ पठाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.