४५ केजी महिलामा ठेचोको वर्चस्व

|

ललितपुर : आकर्षक नगद पुरस्कार राशि भएको वीर गणेशमान सिंह स्मृति पाँचौँ राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता बिहीबार चापागाउँमा शुरु भएको छ। 

जिल्ला खेलकुद विकास समिति ललितपुर र ललितपुर जिल्ला किक बक्सिङ संघको संयुक्त आयोजनामा गोदावरी नगरपालिकाको वडा नम्बर ११ चापागाउँको प्याङगाउँ चौरमा प्रतियोगिता शुरु भएको हो। 

३ दिनसम्म चल्ने प्रतियोगितामा पुरुष र महिलाका ६– ६ वटा गरी कुल १२ इभेण्ट्समा प्रतिस्पर्धा हुनेछ।  ​उद्घाटनका दिन बिहीबार पहिलो राउण्डका ३१ वटा प्रतिस्पर्धा भएको प्रतियोगिताका जुरी सदस्य एवं आयोजक कमिटीका सदस्य समेत रहेका दिपक श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार पुरुषमा ५० केजी , ५५ केजी , ६० केजी , ६५ केजी ,७० केजी र खुला तौल गरी ६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ। यसैगरी महिलमा ४५ केजी , ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी र खुल्ला गरी ६ तौल समूहमै प्रतिस्पर्धा हुने उनले बताए। 

पहिलो दिन बिहीबार ३१ वटा प्रतिस्पर्धा भएका छन्। ४५ केजी महिला समूहमा आयोजक टिमकी सीमा सुनुवार एपिएफकी गौरी घर्ती मगरलाई हराउँदै सेमिफाइनलमा पुगेकी छिन्। अब फाइनल प्रवेशका लागी उनको भेट ठेचो डोजोकी रीना माझीसँग हुनेछ। रीनाले क्वार्टर फाइनलमा नेपाल मुवाँथाईकी ज्योति मल्ललाई हराएकी थिइन्। 

सोही तौल समूहमा एपिएफकी लिला कुमारी सापकोटा र ठोचो डोजोकी सलिना खालीङ राई बीच फाइनल प्रवेशका लागी प्रतिस्पर्धा हुने भएको छ। लिलाले मकवानपुरकी प्रमिला थिङलाई तथा सलिनाले बुद्ध उसु क्वानकी मनिषा राईलाई हराएर सेमिफाइनलमा पुगेकी थिइन्। 

पुरुष ५० केजी तौल समूहमा काल भैरव उसु क्वानका क्वार्टरफाइनलमा पुगेका छन्। उनले सेमिफाइनल प्रवेशका लागि आयोजक टिमका चिरन राईसँग खेल्नेछन्। राई सोझै बाइ पाएर अन्तिम आठमा पुगेका थिए। 

यही तौल समूहमा हरिसिद्धी उसु क्वानका सुरज श्रेष्ठ पनि मकवानपुरका सोमलाल स्याङतानलाई हराउँदै अन्तिम आठमा पुगेका छन्। उनले सेमिफाइनलमा ठेचो डोजोका प्रसन्न राईसँग खेल्नेछन्। 

नेपाली सेनाका धमेन्द्र रामले एपिएफका संगम बिकेलाई पाखा लगाएका छन्। सेमिफाइनलमा पुग्न उनले दाङका विशाल बुढासँग खेल्नेछन्। यस्तै भिम्पा तामाङ र सञ्जीव राई पनि क्वार्टरफाइनलमा पुगेका छन्। 

५० केजीमै पुरुषतर्फ एन क्योक्योसीन बुदोका सञ्जय तामाङलाई मकवानपुर वाकोका विक्रम दहाल खत्रीले पहिलो बाउटमा हराएका छन्। आर्मीका यमराज थापा, चम्पापुरका शिवराम राईले बाइ पाएका छन्।  बुद्ध उसु क्वानका बुद्ध लिम्बु, हरिसिद्धि उसु क्वानका आर्जन तामाङले पहिलो बाउट पार गरे।

 यस्तै ५५ केजी पुरुषमा नेपाल क्योक्योसिन बुदोका जय बोगटीले आयोजक टिमका अनिश पोदारलाई हराएका छन्। फाइट क्लबका तोइथ राज थापा, रुकुमका नवीन नाथ, गोर्कणेश्वर म्वाइथाइँका लाक्पा तामाङ, काल भैरबका प्रविन माझी, विकेटी केबीसीका नवराज श्रेष्ठले मकवानपुरका बुद्ध लामालाई पाखा लगाए। 

५५ केजी तौल पुरुषमै आर्मीका सुनिल कुँवर, एन क्योक्योसीन बुदोका एलिस बम्जन, बुद्ध उसु क्वानका उत्तम राई , एपीएफका सन्जय गुप्ता, चितवन राइनो म्वाइँथाइका गुमान घर्तीमगरले पहिलो चरण पार गरेका छन्। 

प्रतियोगितामा प्रत्येक तौल समूहका विजेतालाई ३० हजार , उपविजेतालाई १५ हजार र तेस्रो हुने दुबै जनालाई नगद ८–८ हजार प्रदान गरिने प्रतियोगिताका संयोजक एवं परिकल्पनाकार प्रदेश सभा सदस्य मिनकृष्ण मर्हजनले जानकारी दिए। 

उनका अनुसार प्रतियोगिताको कुल नगद पुरस्कार राशी ९ लाख ५७ हजार रुपैयाँ रहेको छ। समग्रमा टिम च्याम्पियन बन्नेलाई १ लाख नगदबाट पुरस्कृत गरिने आयोजकले बताएको छ। यस्तै समग्रमा दोस्रो हुने टिमले ५० हजार र तेस्रो हुने टिमले २५ हजार नगद पुरस्कार पाउने छन्। 

यसैगरी उत्कृष्ट पुरुष र महिला खेलाडीलाई समान २५–२५ हजार नगद पुरस्कार प्रदान गरिने छ। २८१ जना खेलाडीले भाग लिएको प्रतियोगिता आयोजनामा मुख्य सहयोग गोदावरी नगरपालिका रहेको छ भने बाग्मती प्रदेश खेलकुद विकास समितीले पनि प्रतियोगितालाई सहयोग गरेको छ। 

५० लाख बजेट रहेको प्रतियोगितामा ३ विभागीय टिम नेपाली सेना, नेपाल प्रहरी, एपीएफको साथमा उसु, कराते, तेक्वान्दो, बक्सिङ, फुल कन्ट्याक्ट, मुवाँथाई लगायतका टोलीको सहभागिता रहेको प्रतियोगिताका जुरी श्रेष्ठले जानकारी दिए। 

प्रतियोगिताको उद्घाटन प्रकाशमान सिंहले उद्घाटन गरे। उनले सरकारी तबरबाट हुन नसकेको यस्ता खेलकुद कार्यक्रम गरेकोमा आयोजकलाई धन्यवाद दिए। उनले खेलकुदका माध्यमबाट अहिलेका पुस्ताले लौह पुरुष गणेशमानलाई चिन्ने अवसर समेत मिलेको बताए। 

पूर्व अर्थराज्य मन्त्री एवं प्रतिनिधि सभा सदस्य उदय शमसेर राणाले खेलकुदमा बजेट कम भएपनि खेल र खेलाडीको विकासका निम्ती यस्ता प्रतियोगिता गर्नु राम्रो भएको प्रतिक्रिया दिए। 

बाग्मती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा, प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार मर्हजन, बाग्मती प्रदेश सभा सदस्यहरु मिनकृष्ण मर्हजन, मधु कुमार श्रेष्ठ, सुरज चन्द्र लामीछाने , गोदावरी नगरपालिकाका मेयर गजेन्द्र मर्हजन लगायतको उपस्थिती थियो। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.