|

काठमाडौं : सुन तस्करी प्रकरणमा आफ्ना सहकर्मीहरू धमाधम पक्राउ पर्न थालेपछि त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयका कर्मचारीहरू बचाउमा उत्रिएका छन्। सम्पूर्ण कर्मचारीले आइतबार कार्यालय प्रमुखलाई माग पत्र बुझाएर आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।

नेपाल प्रहरी, राजस्व अनुसन्धान विभाग लगायतका निकायले सुन तस्करी प्रकरणको अनुसन्धान गर्ने क्रममा अनावश्यक दुःख दिएको भन्दै उनीहरूले आज विरोधस्वरूप ३ घण्टा पेन डाउन गरेका छन्।

प्रमुख भन्सार प्रशासक बुझाएको माग पत्रमा अर्थ मन्त्रालय, मुख्य सचिव, राजस्व सचिव, अर्थसचिव‚ भन्सार विभागका महानिर्देशकलाई बोधार्थ दिँदै कर्मचारीहरूले भोलि र पर्सि विमानस्थलस्थित भन्सार कार्यालयको कार्गो जाँचपास शाखामार्फत हुने निकासी, पैठारीसम्बन्धी सम्पूर्ण काम बन्द गर्ने बताएका छन्।

पाँचबुँदे माग राखेका उनीहरूले २७ भदौभित्र माग सम्बोधन नभए कार्यालयको यात्रु जाँचपास शाखाबाट सम्पादन हुने कामसमेत प्रभावित हुन सक्ने चेतावनी दिएका छन्।

आन्दोलनबाट हुनसक्ने क्षति तथा यात्रुलाई पर्न जाने असुविधाका लागि सम्बन्धित पक्ष स्वयम् जिम्मेवार हुनुपर्ने र विरोधका कार्यक्रमहरू प्रकाशन गरिने उनीहरूले बताएका छन्।

कर्मचारीहरूले अनुसन्धानको नाममा निर्दोष कर्मचारीहरूलाई धरपकड गर्ने र पक्राउ गरी हिरासतमा लिने कार्य अविलम्ब बन्द हुनुपर्ने, निर्भीक रूपमा उच्च मनोबलका साथ काम गर्ने वातावरण हुनुपर्ने, बिनाप्रमाण थुनामा राखिएका सबैलाई रिहा गर्नुपर्ने माग राखेका छन्।

अनुसन्धान गर्ने निकायले केही कर्मचारीहरू गिरफ्तार गरी हिरासतमा रहेको अवस्थामा के कति कारणले गिरफ्तार गरेको हो? सो विषय कर्मचारी कार्यरत कार्यालयलाई समेत जानकारी नदिई अमानवीय तरिकाले गिरफ्तार गरेको आरोपसमेत लगाएका छन्।

गत २ साउनमा विमानस्थलबाट ६१ किलो सुन लुकाई ल्याएको ‘ब्रेक सु’ जाँचपास भए पनि विमानस्थलका कर्मचारीहरूले असल नियतले गरिएका दैनिक प्रशासनिक कामलाई समेत हतोत्साहित गर्ने वातावरण तयार गरिएको आरोप लगाउँदै आएका छन्।

यद्यपि उनीहरूले दोषी ‘कोही नछुटून्, निर्दोष नपरून्’ भन्ने कानुनको प्रचलित सिद्धान्तअनुसार अनुसन्धानमा पूर्ण प्रतिबद्धता भने रहने स्पष्ट पारेका छन्।

विमानस्थलस्थित भन्सार कार्यालयका कर्मचारीको मागः

१. कार्यालयमा राजस्व असुलीको असल नियतले भन्सार ऐन नियम तथा अन्य प्रचलित कानुनबमोजिम गरिएको नियमित कार्यलाई अनुसन्धानको नाममा निर्दोष कर्मचारीहरूलाई धरपकड गर्ने र पक्राउ गरी हिरासतमा लिने लगायतका कार्य अविलम्ब बन्द हुनुपर्ने।

२. कार्यस्थलमा नियमित उपस्थित भई निर्भिक रूपमा उच्च मनोबलका साथ कार्य गर्ने वातावरण हुनुपर्ने।

३. अनुसन्धान गर्ने निकायले केही कर्मचारीहरू गिरफ्तार गरी हिरासतमा रहेको अवस्थामा के कति कारणले गिरफ्तार गरेको हो? सो विषयमा कर्मचारी कार्यरत कार्यालयलाई समेत जानकारी नदिई अमानवीय तरिकाले गिरफ्तार गरेको हुँदा यस्ता कार्य अविलम्ब बन्द हुनुपर्ने र बिनाप्रमाण थुनामा राखिएका सबैलाई रिहा गर्नुपर्ने।

४. अनुसन्धानलाई नै विषयान्तर गर्ने गरी, दोषी प्रमाणित नहुँदै संविधानप्रदत्त गोपनीयताको हक बर्खिलाप हुने गरी कर्मचारीको वैयक्तिक विवरण सार्वजनिक गर्ने कार्य अविलम्ब बन्द गरिनुपर्ने।

५. विभिन्न सञ्चारमाध्यमहरूबाट खुलासा भएका योजनाकार तथा सोसँग संलग्न देखिएका व्यक्ति र अपराधमा प्रत्यक्ष संलग्नता भएका भनिएका व्यक्तिलाई संरक्षण गर्ने र राष्ट्रसेवक कर्मचारीलाई मात्र दुःख दिने कार्य अविलम्ब बन्द हुनुपर्ने।

अनुसन्धानलाई नै विषयान्तर गर्ने गरी मिडियाबाजी भएको र दोषी प्रमाणित नहुँदै संविधानप्रदत्त गोपनीयताको हक बर्खिलाप हुने गरी कर्मचारीको वैयक्तिक विवरण सार्वजनिक भएकोमा समेत उनीहरूले आपत्ति जनाएका छन्।

हिजोमात्र सीआईबीले भन्सार अधिकृत पुष्पा जोशी तथा नासुद्वय कमल परियार र वीरेन्द्र नेपालीलाई नियन्त्रणमा लिएको थियो। करिब ६१ केजी सुन तस्करी प्रकरणमा यसअघि प्रकाउ परेका भन्सार एजेन्ट, कर्मचारी तथा तस्करमाथिको अनुसन्धानपछि उनीहरूको संलग्नता खुलेको थियो।

यसअघि विमानस्थल भन्सारकै २ अधिकृत गणेश पौडेल र सन्तोष चन्दसहितका ४ कर्मचारी पक्राउ परिसकेका छन्। सीआईबीले यस प्रकरणमा ७ जना भन्सारका कर्मचारीसहित ३१ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

भन्सार अधिकृतसहित कर्मचारीहरू धमाधम पक्राउ परेपछि कर्मचारीहरू आन्दोलनमा उत्रिएकाले भ्रष्टाचार गर्न नपाएकाले विद्रोह गरेको टिप्पणीसमेत भएको छ भने केहीले भन्सारबाट उठाएको पैसा सरकार चलाउनेले अन्धाधुन्द मनपरी बाँड्ने भएकाले कर्मचारीले सेवा किन दिने भन्ने प्रश्न पनि गरेका छन्। सरकार र कर्मचारीबीच तालमेल नहुँदा सेवाग्राही प्रभावित हुने देखिएको छ।

विमानस्थलस्थित भन्सार कार्यालयका एक कर्मचारीले सरकार र कर्मचारी दुवै प्रणालीअनुसार नचलेका कारण भ्रष्टाचार मौलाएको प्रतिक्रिया दिए।

‘जहाँ प्रणालीको विकास हुँदैन, सिष्टमले काम नगरेको देशमा भ्रष्टाचार त स्वाभाविक किसिमले हुन्छ’‚ उनले थपे, ‘प्रणालीको विकास नगरेका कारण, सरकार चलाउने र कर्मचारीको मिलनमा भएका त हुन् भ्रष्टाचार नेपालमा।’ दुवैको मिलेमतो नभए भ्रष्टाचार हुन नसक्ने उनले बताए। 

यसअघि भदौ १२ गते पनि १३७ कर्मचारीले काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै सामूहिक सरुवा माग गरेका थिए। आफ्ना माग सुनुवाइ नभएको भन्दै कर्मचारीहरूले तीनदिने संघर्षका कार्यक्रम घोषणा गरेका हुन्।


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.