|

 दैलेख : महाबुगाउँपालिका–१ खरिगैरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। बिहीबार साँझ चट्याङ लागेर गाउँपालिका–१ खरिगैरा बस्ने ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको हो । 

चट्याङ लागेर घाइते भएकी खत्रीको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक दिपकसिंह बिष्टले बताए । 

यसैगरी दैलेखका विभिन्न ठाउँमा चट्याङ लागेर १९ जना घाइते भएका छन्। महाबु–१ खरिगैरामा १६ जना, नारायण नगरपालिका–४ तामेखोलामा २ जना र डुङ्गेश्वर गाउँपालिका–६ मा १ जना घाइते भएका हुन्। 

महाबु गाउँपालिका–१ खरिगैराका ५६ वर्षीय दलबहादुर गुरुङ, ४७ वर्षीय जयबहादुर गुरुङ, १७ वर्षीया रोशनी गुरुङ, १७ वर्षीय खरजंग गुरुङ र आठ वर्षीया सम्झना गुरुङ,घाइते भएका हुन्।

खरिगैरा नै बस्ने ५५ वर्षीय शेरबहादुर सेन, ५० वर्षीया मनसरा जैसी र ५० वर्षीय मीनबहादुर थापा ४७ वर्षीया शान्ति गुरूङ, ४५ वर्षीया भद्रदेवी खत्री, ४५ वर्षीय कविराज थापा,४१ वर्षीया गंगा सेन, ४० वर्षीया विनिता सेन र  ३२ वर्षीया पदमाकुमारी सेन घाइते भएका छन् । 

महाबु–१ खरिगैरामा चट्याङ लागेका १६मध्ये ६ जनाको अवस्था गम्भीर छ। पाँचजनालाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको छ भने एकजनाको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ।

यस्तै नारायण नगरपालिका–४ तामेखोलामा ४७ वर्षीया पार्वती कठायत र ४२ वर्षीया नन्दा कठायत घाइते भएको प्रहरीले जनाएको छ। दुवै जनालाई थप उपचारका लागि प्रदेश अस्पातल सुर्खेत लगिएको छ। यसैगरी डुङ्गेश्वर–६ माथिल्लो लयाटीमा २६ वर्षीया रेखा बुढा घाइते भएकी छन् । उनलाई सुर्खेत पठाएको प्रहरीले जनाएको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.