|

मकवानपुर : हेटौंडा उपमहानगरपालिका–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसलाई बागमती प्रदेशको सार्वजनिक विश्वविद्यालय बनाउने सहमति भएको छ।

सामाजिक विकास मन्त्रालयमा आइतबार बसेको सर्वदलिय बैठकले मकवानपुर क्याम्पसलाई प्रदेश विश्वविद्यालय बनाउने सहमति दिएको हो। बैठकमा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशको केन्द्रिय क्याम्पसका रूपमा विकास गर्ने लक्ष्यसहित प्रदेश सरकार अघि बढेको बताए।

‘प्रदेशको सार्वजजिक विश्वविद्यालय बनेपछि मकवानपुर बहुमुखी क्याम्पस इतिहास बन्छ। प्रदेश सरकार, प्रदेश संरचना र मकवानपुरबासीको लागी यो महत्वपूर्ण सहमति हो। तुरुन्त जग्गा व्यवस्थापन गरेर कार्य अघि बढाइनेछ।’ मुख्यमन्त्री जम्कट्टेलले भने, ‘असोज २ गते बस्ने उच्च शिक्षा परिषद्को बैठकमा निर्णय गरी तत्काल योजना कार्यान्वयनमा जानेछ’।

प्रदेश सरकारको पैसा सकेसम्म भौतिक संरचनामा खर्च नगरी बनेकै संरचनामा विश्वविद्यालय स्थापना गर्न जोड दिएको  स्पष्ट पारे। विज्ञहरुले दिएको सुझावका आधारमा कृषि, स्वास्थ्य र प्राविधिक विषयलाई प्राथमिकता दिने मुख्यमन्त्री जम्कट्टेलले बताए।

मकवानपुर बहुमुखी क्याम्पस सञ्चालन समितिका अध्यक्ष अनन्त पौडेलले क्याम्पस विश्वविद्यालयको जिम्मेवारी वहन गर्न तयार रहेको बताए। छलफलमा सहभागीले मकवानपुरमा प्रदेश विश्वविद्यालय स्थापना हुनु गौरवको विषय रहेको बताएका थिए।

प्रारम्भिक छलफलमा सामाजिक विकासमन्त्री कुमारी मोक्तान, बागमती प्रदेशका पुर्वमुख्यमन्त्री डोरमणी पौडेल, प्रदेश सभा सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायत सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.