'छोराको कमाइले पक्की घर बनाउने परिवारको पहिलो सपना'

|

रौतहट : आफूले कवाडीको काम गरेर हुर्काएका छोराले सरकारी सेवामा जागिर खाएपछि रौतहटको एक परिवारमा हर्ष छाएको छ।

रौतहटको मौलापुर नगरपालिका वडा नं– ७ पिपरिया निवासी जमिरी रामको दुईवटा छोराले सरकारी जागिर खाएपछि उनको परिवारमा खुसी छाएको हो।

जमिरी रामका एक त तराई मधेशमा दलित समुदायका हुन्। कवाडी काम गरेर आफ्ना दुई छोराले सरकारी सेवामा जागिर पाएपछि अहिले गाँउमा जमिरी रामकै चर्चा छ।

 आफूले कवाड बटुलेर आफ्ना दुई छोरालाई पढाइ लेखाई गराएका उनी अहिले दलित समुदायको लागि एउटा उदाहरणका पात्र बन्न पुगेका हुन्। अतिविपन्न परिवारमा जन्मेका जमिरी रामले छोराहरूलाई सफल बनाउन धेरै संघर्ष गरेका थिए।

आर्थिक अभावमा रामले सानै उमेरदेखि गाउँ घरमा हुने नाच्ने काम गर्न थाले। जमिरी रामले झण्डै २५ वर्ष नाचमा बिताए।  उनीसँगै जेठा छोरा पनि नाचमै  अग्रसर हुँदै गरेको देखेर जमिरीले नाचको काम छाडेर चितवनमा गए।  कवाडीको काम गर्न थाले। छोरालाई राम्ररी शिक्षा दिनेतर्फ केन्द्रित भए।

आफूजस्तो छोरालाई नबनाउने अठोटका साथ जमिरी राम  कवाडीमा र उनकी श्रीमती गाउँघरमा मजदुरी गर्न थालिन्। जेठा छोरा मिथुन रामले एसएलसी पास गरी भेटेरीनरी पढ्ने इच्छा गरे। तर, वीरगंजमा दुई महिना भेटेरीनरीको कक्षा लिएपछि पैसाको अभावमा पढ्ने अवसर पाएनन्।

 त्यसपछि  २०७५ सालमा सशस्त्र प्रहरी बलमा आवेदन दिएका मिथुनले सशस्त्र प्रहरी जवानमा नाम निकाल्न सफल भए। आफ्नो छोरा सरकारी सेवामा त्यो पनि देशको सेवामा तत्पर रहने सशस्त्र प्रहरी बलको जवान बनेको देखेर जमिरी रामको परिवार खुसीले गदगद भए।

 जमिरीले आफ्ना कान्छा छोरा सुनिल रामको शिक्षामा जोड दिए। कान्छा छोरा पढाउनका लागि जमिरीले भएको आफ्नो डेढ कठ्ठा जग्गा साहुकोमा बन्धकी राखे। सुनिल रामले प्रविणता प्रमाणपत्र तह पास गरिसकेपछि उनको बुबा जमिरी रामले उनलाई नेपाल प्रहरीमा आवेदन दिन लगाए तर सुनिलको भने नेपाली सेना बन्ने सपना थियो।

सुनिलले २०७९ सालमा नेपाली सेनामा छनोट भई गत भदौ २५ गते तालिम पूरा गरी पासआउट पनि भइसकेका  छन्।

जमिरीले आफ्ना दुईटै छोराले सरकारी जागिर खान सफल भएको बताए। अब छोराहरूले सरकारी सेवाबाट कमाएको पैसाबाट आफ्नै गाँउमा एउटा पक्की घर बनाउने सपना बुनेका छन्।

 उनीहरूको परिवार विगत लामो समयदेखि फुसको घरमा जीवनयापन गर्दै आएको छ। दलित समुदायमा एउटै परिवारको दुई दाजुभाइ सरकारी सेवामा त्यो पनि सुरक्षा निकायमा  जागिरे भएको देखेर गाउँलेहरू पनि खुसी भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.