|

काठमाडौ‌ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक उपलब्धिलाई रक्षा गर्दै समाजवादी अर्थव्यवस्था कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथै सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित आर्थिक रूपान्तरण गर्नुपर्ने बताएका हुन्। 

संविधानको कार्यान्वयनसँगै संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै गएको तथा सुशासन, समृद्धि र सामाजिक न्यायका आधारमा जनतालाई राजनीतिक परिवर्तनको प्रत्याभूति गराउन आवश्यक रहेको उनको सन्देशमा उल्लेख छ।

अध्यक्ष नेपालले लामो संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिलाई जोगाउन परिवर्तनका पक्षधर तथा लोकतान्त्रिक शक्तिबीच एकता र समन्वयको खाँचो रहेको भन्दै सन्देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्ध प्रतिगामी शक्ति सक्रिय रहेकाले अग्रगामी शक्तिबीच सहकार्य गर्नुपर्नेमा जोड दिएका छन्।

राष्ट्रियता, जनजीविका, वैज्ञानिक समाजवादका विषयमा साझा दृष्टिकोण बनाउन परिवर्तनकारी शक्तिहरूलाई आग्रह गर्दै अध्यक्ष नेपालले उत्पादन वृद्धि गरी रोजगारका अवसर सिर्जना गरी सामाजिक रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.