|

डडेल्धुरा : डडेल्धुरामा महिलामाथि सामूहिक बलात्कार गर्ने चारजना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। भागेश्वर गाउँपालिकाकी २० वर्षीया विवाहित महिलालाई सामूहिक बलात्कार गर्ने चार युवालाई जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

महिलालाई सामूहिक रूपमा जबरजस्ती गर्ने चारैजनाले प्रारम्भिक रूपमा बलात्कार गरेको स्विकारेपछि पत्रकार सम्मेलनमार्फत उनीहरूलाई सार्वजनिक गरिएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले जानकारी दिए।

प्रहरीले भागेश्वर गाउँपालिका–३ ओडगाउँका २३ वर्षीय कमल ओड, १८ वर्षीय प्रकाश ओड, २२ वर्षीय तपेन्द्र ओड र २८ वर्षीय दीपक ओडलाई सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार प्रकाश र दीपक अविवाहित हुन्। उनीहरूले गत वैशाख महिनामा विवाहित ती महिलालाई सामूहिक रूपमा जबरजस्ती करणी गरेको डीएसपी कार्कीले बताए। उनका अनुसार ती महिलाको पेटमा पाँच महिनाको गर्भ रहेपछि घटना बाहिरिएको हो।

‘केही महिनादेखि पेट दुख्यो भनेपछि परिवारका सदस्यले ती महिलालाई ३० भदौमा भागेश्वर गाउँपालिका–३ मा आयोजित स्वास्थ्य शिविरमा पठाएका रहेछन्। त्यहाँ शिविरमा उनको भिडिओ एक्सरे गर्दा ५ महिनाको गर्भ रहेको देखाएपछि घटना बाहिर आयो’, डीएसपी कार्कीले भने, ‘बलात्कारपछि महिलाको पेटमा गर्भ बसेका कारण मात्रै घटना सार्वजनिक भएको हो।’

ती महिलाका श्रीमान् डेढ वर्षदेखि भारत थिए। पीडित महिला एक छोरीकी आमा हुन्। स्थानीय नानीगाड खोलामा वैशाख ५ गते र वैशाख १२ गते गोठमा बेलुकीको समयमा गरी दुईपटक ती महिलालाई सामूहिक बलात्कार भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको डीएसपी कार्कीले जानकारी दिए।

उनका अनुसार घटनामा संलग्न व्यक्तिहरूलाई चिन्छु, एउटा केटाको हात र घाँटीमा ट्याटु रहेको छ भनी पीडित महिलाले भदौ ३० गते प्रहरीचौकी लामिकाण्डेमा मौखिक जानकारी गराएकी थिइन्।

‘प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न व्यक्तिहरू सबैको पहिचान भएपछि असोज २ गते पीडितका ससुराले प्रहरीमा किटानी जाहेरी दिनुभयो’, डीएसपी कार्कीले भने, ‘सोही दिन हामीले चारैजनालाई पक्राउ गरेर जिल्ला ल्यायौँ।’

उनका अनुसार बिहीबार डडेल्धुरा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.