|

काठमाडौं :  आगामी कार्तिक ४ अर्थात् बडादशैंको फूलपातीको दिनबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'पशुपति प्रसाद २ : भष्मे डन'को दोस्रो गीत 'प्रेम शरणम्' सार्वजनिक गरिएको छ।

सार्वजनिक सिनेमाको गीतको भिडियोमा मुख्य कलाकार विपिन कार्की र स्वस्तिमा खड्कालाई प्रस्तुत गरिएको छ। दुई पात्रबीचको मायाप्रेमलाई गीतमा देखाइएको छ। रमाइलो शैलीमा तयार पारिएको गीतको छायांकन, कलर र प्रोडक्सनमा निर्माण पक्षले ध्यान दिएको देखिन्छ।

र्‍यापको समिश्रण रहेको सिनेमाको सिनेमामा कृष्ण भारद्धाजको संगीत तथा सुशिल पौडेल र संगीतकार भारद्धाजको शब्द रचना रहेको गीतमा काली प्रसाद बास्कोटा र स्वस्तिका ढकालको स्वर सुन्न सकिन्छ। प्रविन सिंहको कोरियोग्राफी र निरज कँडेलको डिओपी रहेको गीतको अडियो र भिडियो उत्कृष्ट लाग्छ। साथै, सार्वजनिक गीतमा संगीतकार भारद्धाज आफैले र्‍यापमा स्वर समेत भरेका छन्।

दर्शकमाझ प्रतिक्षित रहेको सिनेमाले 'पशुपति प्रसाद'को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा निर्माण गरिएको हो।

दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको 'पशुपति प्रसाद २ : भष्मे डन'मा विपिनका अलवा स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ। सिनेमामा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भूमिकामा देखिनेछन्।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको सिनेमालाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन्। सिनेमाको निर्माता पनि उनी स्वयं हुन्। निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ।

व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल सिनेमा ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो। लेखक लामिछानेले सिनेमा नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताउँछन्। सिनेमालाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.