‘यो सहुलियत पहुँचका लागि मात्रै भयो सबै ठाउँमा खोलौँ’

|

काठमाडौं : सरकारले कडाइका साथ बजार अनुगमन नगर्दा ठूला चाडपर्वको मुखमा चिनी अभाव हुन थालेको छ। चिनीको कालोबजारी हुन थालेपछि उपभोक्ता मारमा परेका छन्।

बजारमा चिनीको मूल्य पनि आकासिएको छ। माइतीघर मण्डला चोकमा रहेको गंगा स्टोरका सञ्चालक निरज राना मगरले अहिले बजारमा चिनी अभाव भएको बताए। उनका अनुसार केही हप्ताअघिदेखि चिनी पाउन समस्या भएको छ।

‘कालीमाटी लगायत बजारमा चिनी लुकाउन खोजेका छन्। त्यही भएर अहिले अभाव छ’,उनले भने। उनका अनुसार अहिले चिनी प्रतिकेजी १२२ देखि १५० रुपैयाँँसम्म बिक्री भइरहेको छ। यसअघि प्रतिकेजी ९८ रुपैयाँँ थियो।

‘अब सरकारको सहुलियत पसल सञ्चालन हुन्छ कि भनेर कुर्दै छौँ,’उनले भने। समयमै राज्यले चिनीको व्यवस्थापन नगरे आउँदै गरेको दशैँतिहारमा समस्या आउने देखिएको उनले बताए।

यस्ता समस्या अहिले मात्र होइन जब चाडपर्व नजिकिँदै गर्छ तब कालोबजारी भइरहेको हुन्छ। तर, राज्यले नियमन गर्न सक्दैन। गत वर्ष दशैँमा पनि यस्तै समस्या भएको थियो। राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनका अनुसार खाने तेलमा ३० देखि ४० प्रतिशत महँगी वृद्धि भएको थियो।

२०–२५ केजी प्याकेटको चामलमा २०० सम्म मूल्य बढेको थियो। चिनीमा मात्रै ४० प्रतिशत मूल्यवृद्धि भएको थियो।

यो वर्ष असोज २८ गते घटस्थापना परेको छ। तर, सरकारले बजार अनुगमनमा कडाइ नगर्दा कालोबजारी र मूल्यवृद्धि हुन थालेको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा उपभोक्ता अधिकारसँग सम्बन्धित विभागबाट संयुक्त रूपमा १० टोली बनाएर असोज १ गतेदेखि बजार अनुगमन गर्ने बताएका थिए। तर, अनुगमन प्रभावकारी देखिएको छैन।

‘उपभोक्तालाई सहुलियत नै दिने भए प्रत्येक स्थानीय तहमा पसल हुनुपर्छ’

उपभोक्ता हित संरक्षण मञ्च नेपालका उपाध्यक्ष सुवर्णप्रभा गुरागाईँले पछिल्लो समय फेरि बजारमा कालोबजारी शुरु भएको बताइन्। उनले भनिन्,‘अहिले पसलतिर गयौँ भने चिनी नै पाइँदैन। छैन भन्छन्। पहिले ७३ रुपैयाँँ प्रतिकेजी पाइनेमा अहिले १३५ पुगेको छ।’

उनले भर्खरै सरकारले बजार अनुगमन थालेको र त्यसमा साथ दिइरहेको बताइन्। उनले सहुलियत पसलको विषयमा यति मात्राले नहुने यसका लागि एक स्थानीय तहमा कम्तीमा २/३ ठाउँमा सहुलियत पसल सञ्चालन हुनुपर्ने माग गरिन्।

‘यो सहुलियत सरकारले भनेको मात्रै हो,आसेपासेले लैजान्छन्। गरिबको पहुँचमा हुँदैन। त्यसैले साँच्चै सहुलियत दिने हो भने प्रत्येक स्थानीय तहमा कम्तीमा २/३ वटा पसल खोल्नुपर्छ’, उनले भनिन्। 

कहिले शुरु हुन्छ सहुलियत पसल?

यो वर्ष सरकारले सहुलियत पसल सञ्चालनबारे केही जानकारी दिएको छैन। नेपाल खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले असोज २०/२२ गतेबाट सहुलियत सञ्चालन हुनसक्ने अनुमान लगाइन्।

तर,उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट जानकारी आएपछि मात्रै निश्चित समय तोक्ने उनले बताइन्। ‘जहिले पनि घटस्थापनाको एक हप्ता अगाडिदेखि सहुलियत पसल सञ्चालन गर्ने हो। त्यसैले असोज २०/२२ बाट सुरु हुन्छ की भन्ने अनुमान गरेका छौँ’, उनले भनिन्, ‘तर मन्त्रालयले भनेपछि मात्रै एकिन समय तोकिन्छ।’

उनले छुटबारे पनि मन्त्रालयको निर्णय आएपछि मात्रै जानकारी दिने बताइन्। उनका अनुसार सहुलियत रूपमा चामल, दाल, तेल लगायत खाद्यान्न बिक्री गरिनेछ। देशभर ४५ स्थानबाट सामान बिक्री गरिने छ।

नेपाल खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेडले गत वर्ष दशैँलक्षित पसल असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म सञ्चालन गरेको थियो। त्यहाँ साविकको मूल्यभन्दा ७ देखि १० रुपैयाँँसम्म छुट दिइएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.