जुम्ला : जुम्लाका ज्येष्ठ नागरिकले यातायात सेवामा छुट र सिट आरक्षण नपाएको गुनासो गरेका छन्।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको बैठकमा संविधानले व्यवस्था गरेका ज्येष्ठ नागरिकका हकहित र अधिकार कार्यान्वयन हुन नसकेको ज्येष्ठ नागरिक संघका सचिव तुलाराम न्यौपानेले बताए।
उनका अनुसार शौचालमा हाल्ने पानी छैन। धारामा पानी नभएको महिनौँ भइसकेको छ। पटकपटक खानेपानी संस्थानलाई अनुरोध गर्दा पनि बनाइदिएका छैनन्। उनले भने, ‘कुनै कार्यालयमा गुनासो लिएर जाँदा सम्बोधन हुने गरेको छैन। कुनै पनि यातायातमा ज्येष्ठ नागरिक सिट भनेर छुट्याइएको छैन।’ उनका अनुसार आरक्षण सिटसहितको यातायात सेवामा छुट नदिई ज्येष्ठ नागरिकलाई अन्याय गरिएको उनले बताए। उनले भने, ‘यातायातमा ५० प्रतिशत छुट हुने व्यवस्था भए पनि ज्येष्ठ नागरिकले त्यो पाएका छैनन्।’
त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले ज्येष्ठ नागरिकका हकअधिकार सबैका साझा विषय भएको बताए। संविधानमै व्यवस्था गरिएको ज्येष्ठ नागरिकको अधिकार कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक रहेको बताए। प्रजिअ घिमिरेले सबै सवारीसाधनमा टिकट र भाडादर टाँस्ने व्यवस्था गरिएकाले यात्रु ठगिनबाट बच्न टिकट अनिवार्य माग्न अनुरोध गरेका छन्।
त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख आचार्यले ज्येष्ठ नागरिकका लागि संविधानप्रदत्त अधिकार कार्यान्वयन हुने विषयमा सबै जिम्मेवार हुनुपर्ने बताए। उनका अनुसार ज्येष्ठ नागरिकका लागि राज्य जिम्मेवार हुनुपर्ने कर्तव्य छँदै छ। त्यसैगरी छोराछोरी पनि ज्येष्ठ नागरिक आमाबाबुप्रति जिम्मेवार हुनुपर्ने देखिएको छ। उनले तोकेअनुसारको यातायातको भाडादर कायम गर्न अनुरोध गरे। उनका अनुसार महिला सिट, अपांगता भएको व्यक्तिको सिट र ज्येष्ठ नागरिक सिट अनिवार्य कार्यान्वयन गर्ने निर्णय भएको जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।