|

काठमाडौँ : पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रोपटक प्रधानमन्त्री बनेको आज ९ महिना पूरा भएको छ। गत पुस ११ गते प्रधानमन्त्रीमा नियुक्त प्रचण्ड हाल चीनको औपचारिक भ्रमणमा छन्। 

२०६५ सालमा पहिलो पटक ९ महिना र २०७३ मा दोस्रोपटक प्रधानमन्त्री बन्दा साढे १० महिना कटाएका थिए। 

२०६५ साल भदौ २ गते पहिलोपटक प्रधानमन्त्री बनेका प्रचण्डले २०६६ वैशाख २० गते तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई हटाउन खोज्दा आफैले राजीनामा दिनुपरेको थियो। 

दोस्रोपटक २०७३ साउन ४ गते प्रधानमन्त्री बनेका प्रचण्डले २०७४ जेठ २३ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। पहिलोभन्दा दोस्रो कार्यकालमा करिब डेढ महिना बढी पदमा रहन सफल प्रचण्डले तेस्रोपटक पनि आलोपालोको सहमति गरिसकेका छन्।

तेस्रोपटक प्रधानमन्त्री भएर ९ महिना पुग्दा देशमा शिक्षक र डाक्टरको आन्दोलनले सडक तातेको छ। एक सातादेखि माइतीघर-बानेश्वर सडकमा जारी शिक्षकको आन्दोलनमा चिकित्सकको प्रदर्शनले सरकारलाई झकझक्याएको छ। 

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटा व्यवस्था ल्याउन प्रमुख भूमिका खेलेकाहरूले नै सत्तामा हुँदा पनि काम गर्न नसकेको आरोप लगाएका छन्। 

‘दशवर्षे जनयुद्धको नेतृत्व गर्नुभएका प्रचण्डले अहिले सरकारको नेतृत्व गरिरहनुभएको छ। संघीय निजामती ऐन आएको छैन। प्रहरी समायोजन गर्नुभएको छैन’‚ देवकोटाले भने, ‘संघीयताका लागि मधेश आन्दोलनको नेतृत्व गर्नुभएको भनिन्छ उपेन्द्र यादवले‚ खै त उहाँको पार्टीले अहिले शिक्षा मन्त्रालयको नेतृत्व गरिरहेको छ। पुरानै संरचना बिउताउने प्रयास गरिएको छ भने तपाईँ कसको आशा गर्नुहुन्छ ?’‚ उनले प्रश्न गरे। 

संविधान बनेपछि दोस्रोपटक आएको संसद्ले समेत कानुन निर्माणमा प्रभावकारी भूमिका खेल्न सकेको छैन। वरिष्ठ अधिवक्ता रामनारायण बिडारी सांसदहरू कानुन बनाउने जिम्मेवारीबाट च्युत रहेको बताउँछन्। 

बिडारीले भने‚ ‘कानुन बनाउने कुरामा अपवादबाहेक सबै च्युत छन्। प्रत्यक्ष चुनाव जितेर आउनेहरूको ध्यान आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित छ। चोरेर, ठगेर, डाँका गरेर, लुकेर, घुमाएर जे गरेर भए पनि त्यहाँका जनतालाई खुसी पारे भइगो। आफ्नो निर्वाचन क्षेत्रमा त्यही पनि आफ्नै पार्टीमा केन्द्रित रहेका छन्।’ 

लोकतन्त्र ल्याउनका लागि भूमिका खेलेका दल र दलका शीर्षस्थ नेताहरूले अहिले ब्याज खान नछोडेकाले समस्या भइरहेको विज्ञहरूको भनाइ छ।

प्राध्यापक तेजमान श्रेष्ठले निर्वाचनको म्यान्डेट नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने भए पनि अहिले प्रचण्डले च्याँखे थापेर प्रधानमन्त्री बनेको बताए। लोकतन्त्रका लागि यो गलत अभ्यास भएको उनको स्पष्टोक्ति छ।

उनले भने‚ ‘मतदाताले जसलाई जुन साइजमा जनादेश दिएको छ‚ त्यही साइजमा बस्नुपर्छ। हुनत कानूनी रूपमा वर्जित छ जुवा, जुवा खेल्दा च्याँखे थाप्ने गरिन्छ हो‚ त्यही प्रवृत्ति नेपाली राजनीतिमा देखिएको छ।’

श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’तर्फ लक्षित गर्दै भने, ‘जोसँग मिल्दा खेरी बहुमत पुग्छ त्यही गएर बार्गेनिङ गर्ने यो लोकतन्त्रको गलत अभ्यास हो।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.