माग पूरा गरेर मात्र टिकट खुलाउनुपर्ने अडान कायमै

|

काठमाडौं : सरकारले यो वर्षको दशैँका लागि १८ गतेदेखि अग्रिम टिकट खुलाउने तयारी गरेको छ। यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरूले असोज १८ गते वा २० गतेदेखि अग्रिम टिकट खुला गर्ने जानकारी दिए। 

उनका अनुसार अब पुनः छिट्टै यातायात व्यवस्था विभाग, सडक विभाग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी राष्ट्रिय महासंघ लगायतसँग सामूहिक बैठक बस्ने तयारी छ। उक्त बैठकले टिकट खुलाउनेबारे निर्णय गर्नेछ।

यसअघि असोज ५ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको संयोजकत्वमा बैठक बसी कमिटी गठन भएको थियो। ‘अब हामी छिट्टै बैठक बस्दै छौँ। सम्भवतः असोज १८ अथवा २० गतेदेखि दशैँको अग्रिम टिकट खुल्छ’‚ उनले भने। यो वर्षको घटस्थापना असोज २८ गते परेको छ। कात्तिक ४ गते फूलपाती परेको छ भने कात्तिक ७ गते दशैँको टीका परेको छ।

‘अग्रिम टिकट खोल्नुपूर्व माग पूरा हुनुपर्छ’

यातायात व्यवसायीहरूले भने अग्रिम टिकट खोल्नुभन्दा अगाडि आफूहरूका विभिन्न माग पूरा हुनुपर्ने अडान राखेका छन्। यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मागहरू सरकारले पूरा गर्नुपर्ने र त्यसपछि मात्रै दशैँको अग्रिम टिकट खोल्नुपर्ने बताए।

अवरुद्ध बाटा खुलाउनुपर्ने, पहाडी क्षेत्रको लामो रुटको सडक पिच गरी सुरक्षित गर्नुपर्ने र भाडा समायोजन गर्नुपर्ने यातायात व्यवसायीहरूको माग छ।

‘पोखरा जाने पृथ्वी राजमार्ग, ढल्केबर,अरनिको राजमार्ग, नुवाकोट जाने लगायत सडकखण्डमा जोखिम छ। सडक पिच छैन‚ खाल्डाखुल्डी छन्। यस्तो बाटोमा त पहिला सरकारले पिच गरेर सुरक्षाको ग्यारेन्टी दिनु पर्‍याे नि’‚ उनले भने।  सरकारले सडक सुरक्षाप्रति चासो नदेखाएको भन्दै उनले गुनासो पोखे।

‘असोज ५ गते नै यातायातमन्त्रीको संयोजकत्वमा कमिटी बनेको थियो। त्यो कमिटीले ती मागबारे हेर्ने, बाटोघाटोकाे अवस्था अध्ययन गर्ने र त्यसको एक हप्तापछि पुनः बैठक बस्ने भन्ने कुरा भएको थियो तर सरकारले यसलाई वास्ता गरेन,अहिलेसम्म बैठकबारे मौन छ’, उनले भने। उनका अनुसार गत चैत महिनामा नै भाडा समायोजन हुनुपर्ने थियो तर यसबारे सरकारले अहिलेसम्म केही निर्णय नगरेको उनको भनाइ छ।

उपत्यकाबाट १२ लाख व्यक्ति बाहिरिने अनुमान

दशैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट सर्वसाधारण गाउँ फर्कनेको भीड हुन्छ। यो वर्षको दशैँमा उपत्यकाबाट करिब १२ लाख व्यक्ति बाहिरिने अनुमान यातायात व्यवसायी राष्ट्रिय महासंघले गरेको छ।

महासंघका वरिष्ठ उपाध्यक्ष सिटौलाले भने, ‘यो वर्षको दशैँमा १० देखि १२ लाख सर्वसाधारण बाहिरिन्छन् होला भन्ने हाम्रो अनुमान छ।’ उनले यी सबै यात्रुलाई सुरक्षित ढंगले गन्तव्यमा पुर्‍याउने पनि बताए। उनका अनुसार अघिल्लो वर्ष १७ लाखभन्दा बढी  व्यक्ति उपत्यकाबाट बाहिरिएका थिए। ‘त्यस वेला चाहिँ निर्वाचन भएकाले धेरै बाहिरिएका थिए’, उनले भने।

भाडा समायोजन गर्ने पक्षमा छैन सरकार

यातायात व्यवसायीहरूले भाडा समायोजन गर्ने माग गरिरहँदा सरकार भने तत्काल समायोजन गर्ने पक्षमा देखिँदैन।

यातायात व्यवस्था विभागका सूचना अधिकारी पनेरूले भने, ‘उहाँहरूको माग वर्षेनि आउँछ,अब हामी बैठक बसेरै छलफल गर्छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.