|

काठमाडौं : देश संघीयतामा गएपछि एमालेले पहिलोपटक सबै प्रदेशमा अधिवेशन गर्दैछ। लुम्बिनीको अधिवेशन भइसकेको छ भने कर्णाली‚ कोशी र बागमतीमा जारी छ। 

लुम्बिनी प्रदेशबाट अधिवेशन सुरु गरेको एमालेले यतिबेला बागमती प्रदेशको अधिवेशन गरिरहेको छ। 

हलसम्म अधिवेशन भएका यी दुवै प्रदेशको अधिवेशनमा पार्टी अध्यक्ष केपी ओलीले दिएको निर्देशन विपरीत निर्वाचन भएको छ।

लुम्बिनी प्रदेशको अधिवेशन उद्घाटन गर्दै ओलीले निर्वाचन गरेर पार्टीको आन्तरिक समस्या बाहिर नल्याउन र सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए। तर,उनको निर्देशन विपरीत लुम्बिनी प्रदेशमा निर्वाचन भयो। 

लुम्बिनीमा आफ्नो निर्देशन विपरीत निर्वाचन भएपछि ओलीले बागमती प्रदेशको अधिवेशनमा निर्वाचन गर्न रोक लगाएनन्। सकेसम्म सर्वसम्मत गर्न नभए लोकतान्त्रिक पद्धतिबाट निर्वाचन गरेर नेतृत्व चयन गर्न सुझाव दिए। 

गत सोमबार अधिवेशनको उद्घाटन गर्दै ओलीले भनेका थिए ‘ पार्टीमा आन्तरिक लोकतन्त्र बलियो बनाउन स्वस्थ प्रतिस्पर्धा आवश्यक छ, सहमति लोकतान्त्रिक प्रक्रियाको सुन्दर पक्ष हो,त्यसको मतलब चुनावी प्रतिस्पर्धा गलत भन्ने होइन,तर प्रतिस्पर्धाको नाममा प्यानलसहितको उम्मेदवारी हुन्छ भने त्यो खारेज पनि हुनसक्छ, प्यानल स्वीकार्य हुँदैन।’

ओलीले प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गरे उम्मेदवारी खारेज हुने चेतावनी दिए पनि बागमती प्रदेश अधिवेशनमा प्यानलसहित उम्मेदवारहरू चुनावी मैदानमा होमिएका छन्।

अध्यक्षका उम्मेदवारहरू कृष्ण दाहाल र कैलाश ढुंगेलले औपचारिक रुपमा प्यानल घोषणा नगरे पनि अनौपचारिक रुपमा समूह नै बनाएका छन्।

खुल्लमखुल्ला प्यानलको घोषणा नगरेप नि पनि दुवै पक्षका उम्मेदवारले आन्तरिक रूपमा प्रतिनिधिमाझ प्यानलसहित भोट मागेका थिए। 

दाहाल पक्षबाट उपाध्यक्षमा नुवाकोटका पूर्वसांसद नारायणप्रसाद खतिवडा, सचिवमा ललितपुरका पूर्वसांसद नवराज सिलवाल, उपसचिवमा खुलातर्फ सिन्धुलीका खड्गबहादुर खत्री र महिलामा काभ्रेकी भक्तकुमारी लामा उम्मेदवार बनेका छन्। 

ढुंगेल पक्षले उपाध्यक्षमा बागमती प्रदेशका पूर्वमन्त्री दावादोर्जे लामा, सचिवमा सिन्धुपाल्चोकका हस्त पण्डित, उपसचिवमा ललितपुरका प्रेमबहादुर महर्जन र काभ्रेकी गीता गौतम ढकालसहितलाई भोट मागिरहेका छन्।

ओलीको विकल्प बन्न गुटगत निर्वाचन !

लुम्बिनी प्रदेशमा भएको निर्वाचनमा एमालेको केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच गुटगत टकराव परेको थियो। 

एमालेको अर्को महाधिवेशनमा वर्तमान अध्यक्ष ओलीको विकल्प बनेर पार्टीको नेतृत्व सम्हाल्ने दौडमा लागेका पौडेल र पोखरेल यतिबेला आफूलाई तलैदेखी बलियो बनाउन कसरत गरिरहेका छन्। 

सोही अनुसार उनीहरूले लुम्बिनी प्रदेशमा आ–आफ्नो उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा उतारेका थिए। पौडेलको तर्फबाट राधाकृष्ण कँडेल र पोखरेलको तर्फबाट हरि रिजालले प्रतिस्पर्धा गरेका थिए। जसमा पौडेलनिकट कँडेल विजयी भएका थिए। 

बागमती प्रदेशमा पनि अध्यक्षका उम्मेदवार बनेका दाहाल र ढुङ्गेललाई यिनै दुई नेताको समर्थन छ। दाहाललाई उपाध्यक्ष पौडेल र ढुंगेललाई महासचिव पोखरेलको समर्थन रहेको छ। 

दुईपटक नेतृत्व गरिसकेका एमालेको वर्तमान अध्यक्ष ओली उमेर हदका कारण अर्को महाधिवेशनबाट पुनः दोहोरिन सक्ने अवस्था कम देखेपछि पौडेल र पोखरेलले आफूलाई पार्टीको आगामी अध्यक्षको रूपमा अघि सार्न आफू अन्तर्गत गुट चलाइरहेका छन्। 

यद्यपि उमेरहदको व्यवस्था तत्कालका लागि निलम्बन गरिसकिएको छ। 

माधव नेपालको बहिर्गमनपछि पार्टीभित्र कुनै गुट उपगुट नरहेको दावी गर्ने गरेको एमालेमा प्रदेश अधिवेशनले आगामी नेतृत्वको लागि मौलाउँदै गरेको गुट स्पष्ट रुपमा देखाएको छ। 

एमालेका सचिव योगेश भट्टराईसमेत पार्टीमा गुट सल्बलाइरहेको कुरा स्विकार गर्छन्। एमाले बागमती प्रदेश अधिवेशनको उद्घाटन कार्यक्रममा पुगेका भट्टराईले पार्टीमा गुटगत राजनीति बढिरहेको स्विकार गरेका थिए।

‘हाम्रो पार्टीमा नीति र नेतृत्वमा एकमत छ। पर्टीको नीति र हाम्रो नेतृत्व ओली हो भन्नेमा हामी एकमत छौं। तर,त्यो बाहेक पार्टीमा अरू गुटउपगुट हुने कुरा भनेको सामान्य हो’,भट्टराईले थाहाखबरसँग भने। 

उनले ओलीको विकल्पको रुपमा पार्टीको आगामी नेतृत्वको लागि गुटगत रुपमा प्रदेश अधिवेशनमा निर्वाचन भइरहेको कुरा पनि स्विकार गरेका थिए।

उनले पार्टीमा भएकाहरूलाई नेतृत्व गर्ने चाहाना हुनु र त्यसको तयारी गर्नुलाई स्वभाविक रुपमा लिनुपर्ने बताएका थिए। 

‘पार्टीमा भएपछि नेतृत्व गर्ने चाहना हुनु र त्यसको लागि आवश्यक तयारी गर्ने कुरा स्वभाविक हो’,उनले भने। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.