|

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 'ब्रेक शु'मार्फत करिब ६१ किलो सुन तस्करी प्रकरण बाहिरिएपछि थाेरै परिमाणमा तस्करी भइरहेका सुन धमाधम समातिन थालेकाे छ।

सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले अनुसन्धानलाई निरन्तरता दिँदै गर्दा विभिन्न जिल्लामा १ देखि ७ किलाेसम्मका सुन बरामद भएकाे छ। आज मात्रै रसुवाबाट सिआइबीको टोलीले एक किलो सुन बरामद गरेको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए।

चार टुक्रा बनाएर ल्याइएको १ किलो सुनसहित दुई जना आज साँझ वेत्रावती पुलमा समातिएका छन्। त्यहाँ रसुवा गत्लाङका दावा साङ्बो तामाङ र आमा छोदिङ्मोका विशाल तामाङ पक्राउ परेका हुन् ।

उनीहरूले मोटरसाइकलमा लुकाएर ल्याउँदै गरेको अवस्थामा सुन बरामद भएको प्रहरीले जनाएको छ। यसअघि गत महिना रसुवाबाटै २ किलो सु्न बरामद भएको थियो।  

गएराति पनि त्रिभुवन विमानस्थलबाट प्रहरीले २ किलाे ७२० अर्ध ठोस अवस्थाको सुनसहित एक फिलिपिन्सका नागरिक ३० वर्षकी अर्विकोन अरोन्स मनालङलाई पक्राउ गरेको छ। डिआइजी कडायतका अनुसार फ्लाई दुबईको उडानद्वार गएराति काठमाडौँ आएकी उनलाई उक्त परिमाणको सुन भन्सार छली लैजान लागेको अवस्थामा  पक्राउ गरिएको हो। 

हिजैै दोलखामा ३ किलो र गत बुधबार ४ किलो गरी ७ किलो सुन प्रहरीले बरामद गरेको थियो। यस प्रकरणका ६ जना सुन तस्करीको आरोपमा जिल्ला प्रहरी कार्यालय दोलखाको न्यायिक हिरासतमा छन् ।

हिरासतमा रहेका दोलखा बिगु गाउँपालिका १ का २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरीङ शेर्पा,  ३० वर्षीया सुनमाला र  बिगु १ का १९ वर्षका राज तामाङमाथि प्रहरीले भन्सार ऐन २०६४ तथा संगठित अपराध निवारण ऐन–२०७० विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ । 

विभिन्न जिल्लाबाट बरामद भएको सुन यस अघि ब्रेक शुसहित बरामद भएको सुनसँग जोडिएको छ/छैन भन्ने बारेमा अनुसन्धान गरिरहेको सिआइबी प्रमुख एवं एआइजी किरण बज्राचार्यले थाहाखबरलाई जानकारी दिइन्।

गत साउन २ गते ​राजस्व अनुसन्धान विभागले बरामद गरेकाे करिब ६१ किलोबाहेक ३०२ किलो सुन ब्रेक शुमार्फत नेपाल भित्रिएको खुलेको थियो तर दोलखा र रसुवाबाट बरामद सुन ६१ किलाे तस्करीसँग जोडिएको पुष्टि भने भइनसकेको एआइजी बज्राचार्यले जानकारी दिइन्। ​

पछिल्ला समयमा बरामद गरिएका सुन राजस्व अनुसन्धान विभागमा बुझाइएको प्रहरीले बताएको छ। थप अनुसन्धान विभागले नै गर्ने डिआइजी कडायतले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.