हत्या गरी पोखरीमा शव लुकाउने ४ जना पक्राउ

|

काठमाडौं : सप्तरीको खडक नगरपालिका-११ का मोहमद अजिमुद्दिन भदौ २१ गते घरबाट कृष्ण अष्टमीको मेला हेर्न निस्किए।

सोही वडाको बनौलीमा लागेको कृष्ण अष्टमीको जात्रा हेर्न गएका अजिमुद्दिन घर फर्किएनन्। उनको शव यही असोज १३ गते बिहान बनौलीस्थित एउटा कृषि फर्मभित्रको पोखरीमा बोरामा भेटियो।

मेला हेर्न गएका १८ वर्षीय छोरा २ दिनसम्म पनि घर नफर्किएपछि उनका बुबा मोहम्मद समिउल्लाह मियाँले भदौ २३ गते इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीमा छोराको खोजी गरिदिन निवेदन दिएका थिए। निवेदनका आधारमा प्रहरीले खोजतलास व्यापक बनाएको थियो।

खोजतलासका क्रममा खडक नगरपालिका-११ बनौलीस्थित रामप्रकाश यादवले सञ्चालन गर्दै आएको कृषि फर्मको पोखरीमा अजिमुद्दिनको शव फेला परेको सप्तरीका प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए।

उनका अनुसार शव प्लाष्टिकको बोरामा हाली पोखरीभित्र सिमेन्टको पोलमा बाँधिएको थियो। त्यतिमात्र नभएर शवमाथि ट्याक्टरको फलामको रिमले थिचेर शव पोखरीमा लुकाइएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न ४ जना आज (सोमबार) सप्तरीकै विभिन्न स्थानबाट समातिएका छन्। पक्राउ पर्नेमा बनौलीका ३४ वर्षका रामप्रकाश यादव, ३६ वर्षे डम्मरनारायण साह, ४० वर्षका छोटेलाल भन्ने धर्मदेव साह र ३० वर्षकी विनादेवी यादव पक्राउ परेका सप्तरीका डिएसपी न्यौपानेले जानकारी दिए। उनीहरु चारै जनाले मिलेमतोमा हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरिसकेका छन्।

अहिलेसम्मको प्रहरी अनुसन्धानबाट प्रेम सम्बन्धका कारण अजिमुद्दिनको हत्या भएको खुलेको छ। पक्राउ परेकी बिनादेवीकी नाबालिका छोरी र १८ वर्षीय अजिमुद्दिनबीच प्रेम सम्बन्ध भएका कारण उनको हत्या भएको खुलेको डिएसपी न्यौपानेले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.