|

धनगढी : बझाङ केन्द्रबिन्दु भएर मंगलबार गएको भूकम्पमा परेर सुदूरपश्चिम प्रदेशमा एकजनाको मृत्यु भएको छ भने घाइते हुनेको संख्या २७ पुगेको छ।

मंगलवार दिउँसो टिमुर टिप्न गाउँनजिकै जङ्गलमा गएकी जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी ४० वर्षीया गुनमति धामीको शव बुधबार बिहान फेला परेको हो।

पहिरोमा च्यापिएको अवस्थामा फेला परेको शव निकाल्न जिल्ला प्रहरी कार्यालय बझाङबाट इन्स्पेक्टर दीपेश चौधरीको नेतृत्वमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक प्रज्वल महर्जनले घाइतेको संख्या २७ पुगेको जानकारी दिए। उनका अनुसार सबैभन्दा धेरै बझाङमा १८ जना, अछाममा ५, बाजुरामा २ र बैतडीमा २ जना घाइते भएका छन्।

उनीहरूको स्थानीय स्वास्थ संस्थामा उपचार भइरहेको छ। यस्तै भूकम्पले बझाङ, बाजुरा, अछाम र बैतडीमा ७६ वटा निजी घर पूर्णरूपमा भत्किएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। यस्तै ३०१ घरमा आशिंक क्षति पुगेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.