|

काठमाडौं :  दुबईबाट नेपाल आउने हिमालय एयरलाइन्सको जहाजमा प्राविधिक गडबडी हुँदा १६५ जना नेपाली यात्रु दुबईमा अलपत्र परेका छन्।

स्थानीय समय अनुसार शुक्रबार बिहान ३:२५ को फ्लाइट रहेको H-9566 विमान बिग्रिँदा यात्रुहरू मारमा परेका हुन्। दुबईबाट नेपाल आउँदै गरेका कास्कीका अमृत बानियाँले आफूहरू करिब ९ घण्टादेखि अलपत्र परेको जानकारी दिए।

विमानस्थलको फ्लाइट इन्फर्मेशन डिस्प्ले सिस्टममा पटक–पटक जहाज डिले भएको जानकारी दिए पनि विमान किन ढिला भयो भन्ने आफूहरूलाई जानकारी नदिएको बानियाँको भनाइ छ। ​

कन्ट्री मेनेजरले जहाजमा आएको समस्या र भइरहेका पहलबारे जानकारी नगराउँदा यात्रुहरू आक्रोशित बनेको उनले बताए। विमानस्थलमा  अलपत्र परेका बानियाँले उडान तालिका पटक पटक परिवर्तन हुने गरेकाे उनको भनाइ छ। उडान कतिखेर हुन्छ भन्ने कुरा आफूहरूलाई जानकारी नभएको बताए।

उनले भने, ‘म बसेको नौ दश घण्टा भइसक्यो। अन्य यात्रुहरू झन १५ घण्टादेखि अलपत्र हुनुहुन्छ। अहिलेसम्म विमान उड्न नउड्ने कुनै ठेगान छैन।‘ उनले यात्रुहरू एकदमै आक्रोशित बनेको बताए।

आक्रोशका बीच यात्रुहरूलाई एक–एक बर्गर र कोल्ड ड्रिङ्स दिएको उनले बताए। एयरलाइन्सको लापरवाहीका कारण आफूहरू पैसा फिर्ता मागे पनि फिर्ता दिन नसक्ने जवाफ दिएका छन्।​

दशैं तिहार मनाउन नेपाल आउन लागेका उनीहरूले एकतर्फीमात्र ४० देखि ४५ हजार नेपाली तिरेका छन्। यता हिमालय एयरलाइन्सका एक कर्मचारीले विमानमा प्राविधिक समस्या आएको जानकारी दिए।

विमानमा भएको प्राविधिक गडबडी चेकजाँच भइरहेको र बेलुकासम्म यात्रुहरूलाई नेपाल ल्याइने उनले बताए। ती कर्मचारीले भने, ‘विमानमा प्राविधिक गडबडी भएकाले चेकजाँच गरिरहेका छौं। यात्रुहरूलाई बेलुकासम्म नेपाल ल्याइन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.