|

काठमाडौं : कुनै वेला एकअर्काको दरिलो ‘सहयात्री’ बनेका नेकपा माओादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईबीचको सम्बन्ध चिसिएको छ। 

प्रचण्डले बाबुरामलाई ‘बाइपास’ गरेर अर्का अध्यक्ष महेन्द्र यादवलाई पार्टी एकतासम्बन्धी पत्र पठाएपछि यी दुईबीचको सम्बन्ध चिसिन पुगेको हो। माओवादी र नेसपाबीच लामो समयदेखि पार्टी एकताको बहस चलिरहेको थियो। 

यही विषयमा गत भदौ ३० गते अमेरिका भ्रमण जानुअघि प्रचण्डले पहिलो अध्यक्ष बाबुरामलाई छोडेर दोस्रो अध्यक्ष यादवलाई सम्बोधन गर्दै पत्र लेखेका थिए। 
प्रचण्डले बाबुरामलाई ‘बाइपास’ गरेर महेन्द्रलाई पत्र पठाएको विषयमा (नेसपा)का नेताहरूले नेतृत्वसँग जवाफ समेत मागेका छन्। 

अध्यक्ष भट्टराईको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा नेताहरूले प्रदेशगत रिपोर्टिङको क्रममा माओवादीको पत्रबारे प्रश्न उठाएका थिए। 

बैठकमा माओवादी केन्द्रले पार्टीका प्रथम अध्यक्षलाई बाइपास गरेर पठाएको पार्टी एकताको पत्रको विषयमा पनि नेताहरूले प्रश्न उठाएका थिए। पत्रको भाष्य हेर्दा माओवादीले ‘एकता नभएर पार्टी प्रवेश गर्न आऊ’ भनेजस्तो भएको टिप्पणी नेताहरूले गरेका थिए। 

प्रचण्डले वार्ता समितिको नाममा पत्र पठाउन छोडेर पार्टीको दोस्रो अध्यक्षलाई सम्बोधन गरेर पत्र लेखेको विषयलाई नेसपाले गम्भीर रूपमा लिएको छ। 

गत मंसिर ४ मा भएको निर्वाचनले ६ वर्षपछि पुनः प्रचण्ड–बाबुराम नजिकिएका थिए। बाबुरामले आफ्नो निर्वाचन क्षेत्र प्र्रचण्डको लागि छाडेपछि उनीहरूको निकटता पुनः बढेको थियो। 

‘बाबुराम र प्रचण्डसँगै उभिने कुराको ठूलो अर्थ छ, अब हामी सँगै उभियौँ। कसैले रोकेर रोकिन्न। आजै पार्टी एकता भएको होइन तर चुनावपछि हुन्छ। नाम परिवर्तन भएर नेकपा समाजवादी रहन्छ।’

यो अभिव्यक्ति ‘प्रचण्ड’ले २०७९ साउन ३१ गते पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकारसामु व्यक्त गरेका थिए। 

निर्वाचन लगत्तै पार्टी एकता गर्ने शर्तसहित भट्टराईसँग सहमति भएपछि हौसिएका प्रचण्डले उक्त अभिव्यक्ति दिन भ्याए। 

त्यसअघि साउन ९ गते प्रचण्ड निवास खुमलटारमा दुवै पार्टीका शीर्ष नेताहरूको बैठकले मङ्सिरमा हुने निर्वाचनमा माओवादीको चुनाव चिह्न प्रयोग गर्ने, पार्टीको नाम नेकपा समाजवादी राख्ने गरी सहमति गरेको थियो।

आम चुनावभन्दा अगाडि नै माओवादी र नेसपाबीच पार्टी एकताको समझदारी अनुसार नेसपाका केही नेताले माओवादीको चुनाव चिह्नबाटै चुनाव लडे।

उनीहरुमध्ये प्रतिनिधिसभामा महेन्द्र राय यादव, बागमती प्रदेशसभा सहअध्यक्ष गंगानारायण श्रेष्ठ र गण्डकी प्रदेशसभामा फणिन्द्र देवकोटा निर्वाचित भए।

यादव प्रचण्ड सरकारमा खानेपानी मन्त्री छन् भने श्रेष्ठ बागमतीमा आन्तरिक मामिला तथा कानूनमन्त्री छन्। दुई पार्टीबीच एकता वार्ता पनि शुरु भएको थियो। 

माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा र नेसपाले सहअध्यक्ष श्रेष्ठको नेतृत्वमा वार्ता समिति नै बनाएर छलफल थालेको थियो। गत चैतमा नेसपाले पार्टी एकताको आधार भन्दै ९ बुँदे पत्र माओवादीलाई पठाएको थियो। त्यसपछि संवाद अघि बढेन।

एक्कासि ५ महिनापछि भट्टराई देश बाहिर रहेको समयमा माओवादी केन्द्रले पार्टी एकताको लागि भन्दै वरीयता क्रममा दोस्रो नम्बरमा रहेका अध्यक्ष यादवको नाममा पत्राचार गरेपछि नेसपामा तरंग पैदा भएको छ। 

एकता गर्न बाबुरामले माओवादी नाममा विमति राख्दै आएकोमा पार्टी एकताका लागि प्रचण्डले पठाएको पत्राचारले उनीहरूबीचको दूरी थप बढाएको निकटहरू बताउँछन्। 

यही विषयमा छलफल गर्न गत सोमबार नेसपाको कार्यकारिणी समितिको बैठक बसेको थियो।  

दुई दिनसम्म बसेको बैठकमा माओवादीले पठाएको पत्र र पार्टी एकता सम्बन्धमा गर्मागर्मी बहस भयो तर निष्कर्ष निकाल्न सकेन। अन्ततः निर्णय लिने जिम्मा पदाधिकारीलाई दिइयो। सोही विषयमा निर्णय लिन बुधबार पार्टी कार्यालय तीनकुनेमा  पदाधिकारी बैठक बस्यो।

बैठकले आगामी वैशाखमा एकता महाधिवेशन गर्ने गरी मङ्सिर ६ गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ। माओवादीले पठाएको पत्रलाई अस्वीकार गर्दै यसअघि एकताका लागि पठाएको ९ बुँदे आधारपत्रको जवाफ नआएसम्म वार्ता नगर्ने निर्णय पनि बैठकले गरेको छ। 

यद्यपि तीन सदस्यीय वार्ता समितिमा एक सदस्य थप गरी विचार, नीति र सिद्धान्त मिल्ने राजनीतिक दलसँग छलफल खुला राख्ने निर्णय पनि भएको नेसपाले जनाएको छ। 

बाबुरासँग किन बिच्किए प्रचण्ड?

नेकपा माओवादी केन्द्रका सचिव राम कार्की प्रचण्ड–बाबुरामबीच निकट सम्बन्ध रहेकोले यस्तो चलिरहने बताउँछन्। 

‘जहाँ धेरै मेल हुन्छ,त्यहाँ खटपट पनि हुन्छ। प्रचण्ड–बाबुरामको सम्बन्ध करिब ४० वर्षदेखिको हो। उहाँहरूबीच यस्तो विवाद चलिरहन्छ,यो नीतिगत विषयमा होइन उहाँहरुको व्यक्तिगत विषयमा भएको विवाद हो। उहाँहरू दुईजनामा नै सीमित हुन्छ,’ उनले भने। 

बाबुरामले प्रचण्ड सरकारको विरोध गरेकोले विवाद सिर्जना भएको हो? भन्ने प्र्रश्नमा कार्कीले प्रचण्ड–बाबुरामबीच एकअर्काको प्रशंसा र विरोध क्रम चलिरहने गरेको भन्दै यो विषयलाई सामान्य रुपमा लिनुपर्ने बताए। 

नेसपा सहअध्यक्ष गंगानारायण श्रेष्ठ प्रचण्ड र बाबुरामको सम्बन्धले पार्टी एकिकरणमा निर्णायक भूमिका नखेल्ने बताउँछन्। 

प्रचण्ड र बाबुरामको सम्बन्धले पार्टी एकीकरणमा असर पार्नसक्ने भएपनि निर्णायक भूमिका नखेल्ने बताए। 

थाहाखबरसँग कुरा गर्दै श्रेष्ठले भने,‘मुख्य नेताहरुमा टसल हुँदा पार्टी एकीकरणमा असर त पर्छ तर,त्यो कुराले निर्णायक भूमिका खेल्दैन। प्रचण्डको वाा बाबुरामको मात्रै आवश्यकताले पार्टी एकीकरण हुने होइन। पार्टीको विचार र नीति मिलेर हुने हो। त्यसैले उहाँहरूको सम्बन्ध कस्तो छ भन्नेले असर गर्दैन। ’

श्रेष्ठले शुरुमा पार्टीको पहिलो अध्यक्ष भट्टराई नेपालबाहिर रहेको बेलामा अर्का अध्यक्ष यादवलाई पत्र लेखेको र पार्टीमा विवाद भएपछि भट्टराईलाई पनि पत्र पठाएको जानकारी दिए। 

उनले माओवादीले पार्टी एकीकरण गर्न बनेको वार्ता समितिलाई पत्र लेख्न छोडेर व्यक्तिलाई लेखेर माओवादीले नेसपाभित्र खेल्न खोजेको भन्दै नेताहरूले असन्तुष्टि जनाएको बताए। 

माओवादीका एक नेता बाबुरामले प्रचण्ड नेतृत्वको सरकारले सार्वजनिक रूपमा विरोध र आलोचना गर्न थालेपछि प्रचण्ड उनीसँग बिच्किएका थिए। त्यसमा पनि बाबुराम पूर्वसहमतिअनुसार माओवादीसँग पार्टी एकीकरण नगर्ने पक्षमा देखेपछि प्रचण्डले उनलाई बाइपास गरेको उनी बताउँछन्। 

‘बाबुरामजीले प्रचण्ड नेतृत्वको सरकारको सार्वजनिक रूपमा विरोध गर्दै आउनु भएको थियो। उहाँ पूर्वसहमति बमोजिम पार्टी एकिकरणमा पनि सकारात्मक नरहेको थाहा पाएर प्रचण्डले अर्को अध्यक्षलाई पत्र लेख्नुभयो। जसकारण उहाँहरूबीचको सम्बन्ध अलि बिग्रिएको जस्तो देखिएको छ’,ती नेताले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.