पूर्वमा संक्रमणदर घट्यो‚ पश्चिममा बढ्दै

|

काठमाडौं : दुई सातामै देशभर ६ हजारबढी डेंगु संक्रमित थपिएका छन्। 

असोज पहिलो साता देशभर कूल २८ हजार ८ सय ३ जना डेंगु संक्रमित रहेकामा यो साता  संक्रमितको संख्या ३४ हजार ९ सय ९१ पुगेको छ। संक्रमितको बढ्दो तथ्यांङ्क हेर्दा यो वर्ष पनि नेपालमा डेंगु संक्रमणले भयावह रुप नै लिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)काअनुसार दश महिनामा मुलुकभर डेंगु संक्रमितको संख्या लगभग ३५ हजार  पुगेको छ।

पछिल्लो पटक शुक्रबार इडिसिडीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२३ जनवरीदेखि अक्टोबर ६ सम्ममा देशभर संक्रमितको संख्या ३४ हजार ९९१ पुगेको हो ।

हुन त अघिल्लो वर्षहरुको अवस्था हेर्ने हो भने हरेक वर्ष नेपालमा जुनदेखि अगस्ट र सेप्टेम्बर महिनामा डेंगु संक्रमण तीब्र रुपमा फैलिएको देखिन्छ। अक्टोबर महिना लागेपछि विस्तारै संक्रमण ओरालो लाग्ने गर्छ।

अघिल्लो वर्ष साउनदेखि कात्तिकसम्म काठमाडौं उपत्यकासहित देशभर डेंगु तीव्र गतिमा फैलिएको थियो। गत वर्ष काठमाडौं उपत्यकामा महामारीकै रूप लिएको बेला ५४ हजार ७८४ जना संक्रमित भएका थिए।

संक्रमणकै कारण ८८ जनाले ज्यान गुमाएका थिए। यो वर्ष जुन महिनायता हालसम्म २० जनाले डेंगुकै कारण ज्यान गुमाएका छन्।

गत वर्षको अगस्टमा नेपालमा ३ हजार ७०८ जना संक्रमित भेटिएकोमा यो वर्षको अगस्टमा १३ हजार ३६३ जना संक्रमित भएका छन्। अघिल्लो बर्ष सेप्टेम्बरमा २७ हजार ५२७ संक्रमण देखिएकोमा यो वर्ष सेप्टेम्बरमा ११ हजार ५८० जना संक्रमित देखिएका छन्।

यसैगरी गत वर्ष जुलाईमा ७२० जना संक्रमित भएकोमा यो वर्ष जुलाईमा ६ हजार ६९ जना संक्रमित भएका छन्।

गत वर्ष धेरै जनसंख्या बस्ने काठमाडौं उपत्यकाको ललितपुर‚ भक्तपुर र काठमाडौं जिल्लामा धेरै संक्रमित देखिएका थिए तर यो वर्ष सुनसरी, मोरङ‚ झापा लगायतका जिल्लाहरूमा डेंगु संक्रमण तीब्र देखिएको छ।

इडिसिडीको पछिल्लो विवरण हेर्ने हो पूर्वका जिल्लामा विस्तारै संक्रमण घट्दै गएर पश्चिमका क्षेत्रमा बढ्दै गएको छ।  गत वैशाखयता सबैभन्दा बढी सुनसरीमा १६ हजार ६८ जना (जम्मा संक्रमितमध्ये ४५.९ प्रतिशत), झापामा ३ हजार ५४९ (१०.३ प्रतिशत), धादिङमा ३ हजार ११८, मोरङमा २२ सय ६९ जना, तनहुँमा ३ हजार ११५ जना संक्रमित भेटिएका छन्।

अघिल्लो हप्तासम्म तनहुँमा २ हजार ७१० जना संक्रमित थिए। यस्तै कास्कीमा हाल ७ सय ४० जना संक्रमित रहेका छन्। अघिल्लो हप्तासम्म कास्कीमा ७०९ संक्रमित थिए।

यस्तै काठमाडौंमा पनि यो हप्ता संक्रमित बढेका छन्। काठमाडौंमा हाल ७ सय ३२ जना डेंगु संक्रमित रहेका छन काठमाडौंमा पनि अघिल्लो हप्ता सम्म ६७९ जना संक्रमित थिए। यस्तै अघिल्लो हप्तासम्म ललितपुरमा २२६ र भक्तपुरमा २६२ जनामा संक्रमण भेटिएकोमा यो हप्ता ललिपुर र भक्तपुरमा संक्रमितको संख्या क्रमश: २३९ र २६३ रहेको छ।

सन् २०१९ मा पनि धरानमा डेंगुले महामारीको रूप लिएको थियो। बीचका ३ वर्ष धरानमा डेंगुका संक्रमित खासै भेटिएनन्। सन् २०२२ मा काठमाडौं उपत्यकामा डेंगुले महामारीकै रूप लिएका बेला धरानमा डेंगुका संक्रमित निकै कम भेटिए।

यो वर्ष पनि सुरुमा पूर्वी तराइ सुनसरी मोरङ र झापामा तीब्र फैलिएको संक्रमण हाल त्यहाँ क्रमश: घट्दै काठमाडौं उपत्यका र तनहुँ कास्कीमा जस्ता पहाडी जिल्लामा संक्रमणदर बढ्दै गएको इडिसिडीको विवरणले देखाएको छ।

यो बर्ष डेगु बाट सबैभन्दा बढी प्रभावित १० जिल्ला सुनसरी जिल्ला सबैभन्दा बढी प्रभावित भएको महाशाखाले जनाएको छ । त्यसलगत्तै झापा, धादिङ, तनहुँ, मोरङ, कास्की, काठमाडौं, सङ्खुवासभा, कैलाली र धनकुटा रहेका छन् ।

नेपालमा हाल डेंगुका ४ वटा ‘सेरोटाइप्स’ पुष्टि भएका छन्। तीमध्ये हालसम्म १ र २ बाट धेरै जना विरामी भएको महाशाखाले जनाएको छ। चिकित्सकका अनुसार एउटै व्यक्तिलाई डेंगुको फरक-फरक सेरोटाइप्सको संक्रमण भए निकै गम्भीर असर हुनसक्छ।

यो वर्ष डेंगु संक्रमित पुष्टि भएकामध्ये धरानका मात्रै ५३ प्रतिशत विरामी रहेको इडिसीडी किटजन्य रोग शाखा प्रमूख गोकर्ण दाहालको भनाइ छ। उनका अनुसार यो पटक धरानमा ‘सेरोटाइप्स’ १ र ३ का धेरै विरामी भेटिएका छन्। यसअघि सन् १०१९ मा धरानमा ‘सेरोटाइप्स’ २ देखिएका थिए।

नेपालमा यसअघि पनि सन् २०१० मा तराईका रूपन्देही, नवलपरासीलगायतका जिल्लामा डेंगुले महामारीको रूप लिएको थियो। नेपालमा पहिलोपटक सन् २००६ मा चितवनमा डेंगु पुष्टि भएको थियो। पछिल्ला वर्षहरूमा वर्षाको समयमा डेंगु संक्रमण जनस्वास्थ्यको गम्भीर समस्याको रूपमा देखिने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.