|

सल्यान : बनगाड कुपिण्डेकी ६४ वर्षीया भद्री महतरा वर्षौंपछि आँखा देख्दा दंग परिन्। लामो समयपछि आँखा देख्न पाउँदा उनको अनुहार खुसीका आँसुले भिजेको थियो।

७० वर्षीय लिले रानाको अनुहारमा पनि चमक देखिन्थ्यो। मोतीबिन्दुको सफल शल्यक्रियापछि आँखा देख्न पाएकोमा उनी निकै खुसी देखिन्थे।

‘आँखा नदेख्दा खान, लगाउन र हिँडडुल गर्न पनि अरूको सहारा लिनुपर्थ्यो। अब त आफैं वरपर गर्न सक्ने भएँ’, उनले भने। आँखाको ज्योति गुमाएपछि भएपछि कैयौँपटक लडेको बताए।

‘कहिले घरमै लडेँ त कहिले हिँड्दा र काम गर्दा लडेँ। शरीरले हार नखाए पनि आँखाको शक्ति कमजोर हुँदा जीवन ओछ्याउनमै बित्ने भयो भन्ने लागेको थियो तर पुनः संसार देखेँ’, ७४ वर्षीया भद्रीले बताइन्।

सल्यान बनगाड कुपिण्डे नगरपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी देवस्थल उपशाखाको समन्वय एवं सुर्खेत आँखा अस्पताल तेजकोहिल एण्ड फाउन्डेशन काठमाडौँको सहयोगमा भएको एक हप्ता लामो आँखा शिविरमा ७ सयभन्दा बढीले उपचार पाए। महतरा र राना जस्तै ८७ जनाले मोतीबिन्दुको शल्यक्रियापछि पुनः संसार देखे।

शिविरमा सल्यान बनगाड कुपिण्डे नगरपालिका, कुमाख गाउँपालिका, सिद्धकुमाख गाउँपालिका र सुर्खेतको सिम्ता गाउँपालिकाका बासिन्दाले सेवा लिएका छन्।

विगतमा मोतीबिन्दुको शल्यक्रिया गर्न सुर्खेत वा दाङ पठाउनुपर्ने बाध्यता रहेकोमा योपटक भने पालिका केन्द्रमै शल्यक्रियाको व्यवस्था गरिएको बनगाड कुपिण्डे नगरपालिकाका मेयर कर्णबहादुर बुढाथोकीले बताए। ग्रामीण क्षेत्रका अधिकांश बासिन्दामा समयमा आँखा जाँच नहुँदा मोतीबिन्दुका कारण ज्योति गुमाउनुपर्ने बाध्यता रहेको उनले बताए।

उनले पालिकाभित्रका विभिन्न ८ ठाउँमा शिविर सञ्चालन गरेर नागरिकलाई सेवा प्रदान गरेको बताए। उनले भने, ‘संविधानले नै निःशुल्क उपचार पाउने व्यवस्था गरेकाले जनताको स्वास्थ्य सुरक्षाका लागि नगरपालिका जिम्मेवार छ।’​

उपमेयर पुरुषोत्तम आचार्यले ग्रामीण क्षेत्रमा आएर अप्रेशन गरिदिएकोमा डाक्टरहरूको टिमलाई धन्यवाद दिँदै अब यसलाई निरन्तरता दिने बताए। नगरपालिकामा अब आँखा उपचार केन्द्र सञ्चालन गर्ने तयारी भइरहेको र त्यसका लागि प्रक्रिया अघि बढिसकेको र अब छिटै सञ्चालनमा ल्याउने समेत बताए

उपप्रमुख आचार्यले भने, ‘विगतमा सल्लीबजार आएर आँखा परीक्षण गराउनुपर्थ्यो। अहिले स्वास्थ्यचौकीमा शिविर सञ्चालन गरियो।’ टाढाबाट आउनजान समस्या हुने वृद्धवृद्धालाई झनै समस्या हुने भएकाले आफूले गरेको वाचाअनुसार गाउँगाउँमा गएर सेवा दिने बताए।

यसरी पहिलोपटक आँखा शिविर गाउँगाउँमा गएको समेत बताएका छन्।

शिविर आयोजना गरी विपन्न वर्गलाई निःशुल्क सेवा प्रदान गरिएको मेडिकल डाइरेक्टर डा. मनीष खतिवडाले बताए। आफ्नो यो शिविर १६ औँ रहेको र आगामी दिनमा पनि यसले निरन्तरता पाउने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.