|

काठमाडौँ : सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले खेलकुद विश्वविद्यालय स्थापनाका लागि आफूले सरकारसँग छलफल गर्ने बताएका छन्।

पार्टी निकट नेपाल खेलकुद महासंघ समाजवादीले शनिवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै खेलकुद क्षेत्र मुलुकको इज्जत, मान र प्रतिष्ठानसँग जोडिएकाले त्यसको विकासका लागि आफ्नो पार्टीले सक्दो सहयोग गर्ने बताए।

उनले खेल क्षेत्रको विकासका लागि विशेष ध्यान दिन स्थानीय सरकारहरूलाई पनि आग्रह गरे। तलैदेखि खेलकुद क्षेत्रको विकासमा ध्यान दिन सके खेलाडीहरूको टिम राम्रो बन्ने अध्यक्ष नेपालको भनाइ थियो। उनले खेलाडीहरूलाई हौसला प्रदान गर्न र प्रोत्साहित गर्न पनि सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए।

अध्यक्ष नेपालले भने, ‘खेललाई अगाडि बढाउन ७५३ वटै पालिकाले विशेष ध्यान दिनु आवश्यक छ। वडाले पनि विद्यालय तहको खेल अघि बढाउन सहयोग गर्नुपर्छ, हौसला दिनुपर्छ। यसरी हामीले राम्रो खेलाडीको टिम बनाउन सक्छौं। तपाईंहरूले विश्वविद्यालय र छुट्टै हस्पिटलको व्यवस्थाको कुरा उठाउनुभएको छ। त्यसमा सरकारसँग छलफल गर्छु।’

कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले खेलकुद क्षेत्रको पूर्वाधार विकासमा सक्दो सहयोग गर्ने आश्वासन दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.