|

काठमाडौं : इलेक्ट्रिक चुरोट भेपमा लुकाएर सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले राहुल महरासहित चारजनालाई प्रतिवादी बनाउन सुझाएको छ।

आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको सीआईबीले पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरापुत्र राहुल, लोकेन्द्रकुमार पौडेल र तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसहित चारजनालाई प्रतिवादी बनाउन राय दिएको हो।

प्रतिवादी बनाउन राय दिइएकामध्ये एकजना अझै फरार छन्। चिनियाँ सुन तस्कर दाओजिन वाङसहित ६ जनालाई पछि खुलेको अवस्थामा प्रतिवादी बनाउन राय दिइएको सीआईबीले जनाएको छ।

भन्सारसम्बन्धी कसुर र संगठित अपराधमा सीआईबीले प्रतिवादीहरूबाट ८ करोड ५७ लाख रुपैयाँ बराबरको बिगो कायम गर्नुपर्ने राय दिएको छ।

सीआईबीको अनुसन्धान प्रतिवेदन अध्ययन गरी तीनचार दिनभित्रै मुद्दा दायर गरिने सरकारी वकिल कार्यालय प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए।

सीआईबीले भेपमा लुकाएर सुन तस्करी गरेको प्रकरणमा राहुल महरालाई भदौ १३ गते पक्राउ गरेको थियो।

यसै प्रकरणमा नाम मुछिएपछि सीआईबीले पूर्वसभामुख महराको पनि बयान लिएको थियो। बयानका क्रममा महराले आफूले तत्कालीन भन्सार प्रमुखलाई फोन मात्रै गरेको जिकिर गरेका थिए।

चिनियाँ सुन तस्कर दाओजिन वाङसँग आफ्नो पुरानो चिनजान रहेको स्वीकार गरेको पूर्वसभामुख महराले वाङले आफूलाई फलफूल व्यापारीको रूपमा नेपालमा व्यापार गर्ने भनी चिनाएको बयान दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.