|

काठमाडौं : एक वर्षको अवधिमा बजारमा जिराको मूल्य तेब्बरले बढेको छ। गत वर्ष प्रतिकेजी ४५० रुपैयाँ रहेको जिराको मूल्य एक वर्षको अवधिमा आठ सयले बढेर हाल बजारमा एक हजार २५० देखि एक हजार ४०० रुपैयाँ हाराहारीमा पुगेको छ।

मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ, जिरा आन्तरिक उत्पादन नभई बाहिरी मुलुकबाट आयात हुने गर्छ। भारतमा जिराको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो। ५–६ महिनादेखि लगातार जिराको मूल्य बढ्दा त्यसको प्रभाव उपभोक्तालाई परेको छ। थोक बिक्रेता संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले भारतमै जिराको मूल्य बढेर आएकाले स्थानीय बजारमा मूल्य बढ्न गएको बताए।

‘भारत वा विश्वबजारमा जिराको मूल्य बढ्दा प्रत्यक्ष असर नेपालमा पर्ने नै हो किनभने हामीकहाँ यसको खेती छैन’, उनले भने, ‘नेपालमा उपभोग हुने जिराको कुल परिमाणमध्ये झन्डै ९० प्रतिशत भारत र आठ प्रतिशत टर्कीबाट आयात हुन्छ, बाँकी दुई प्रतिशत कतार र बेल्जियमबाट आयात हुन्छ।  जिरामा नेपाल भारतमाथि निर्भर भएकाले भारतमा जिराको मूल्य उतारचढाव हुँदा त्यसको प्रत्यक्ष असर नेपालीको भान्छामा पर्ने उनको भनाइ छ। 

अन्य समयको तुलनामा चाडपर्वका बेला खपत पनि धेरै हुन्छ। भारतमा उत्पादन कम हुँदा मूल्य बढ्न गएको व्यवसायीको भनाइ छ। हाल बजार माग धान्न चीनबाट समेत जिरा आउन थालेको व्यवसायीको भनाइ छ। टर्की र इरानबाट समेत जिरा आउने गरेको छ। जिरा उत्पादनमा भारत पहिलो मुलुक हो, विश्वबजारमा जिराको मूल्य अत्यधिक बढ्दा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको छ। 

व्यापार प्रवर्धन तथा निकासी केन्द्रको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको भदौ महिनामा विभिन्न मुलुकबाट नेपालमा ४८ करोड ५६ लाख ५० हजार रुपैयाँ बराबरको जिरा आयात भएको छ। मुलुकमा जिरा उत्पादन गर्न सक्ने सम्भावना भए पनि स्थानीय उत्पादन नहुँदा आयातमै भर पर्नु परेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.