|

पर्वत : नेकपा (माओवादी केन्द्र) ले गत भदौ १६ गतेदेखि थालेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ अन्तर्गत माओवादीका नेताहरू यति बेला जनताका घर–घरमा पुगिरहेका छन्। जनतासँग प्रत्यक्ष भेटघाट गरेर आफ्नो पार्टीप्रतिको विश्वासलाई बढाउनुको साथै समग्र राजनीतिक सोचमा पनि रूपान्तरण गर्ने उद्देश्य बोकेर माओवादीका नेता तथा कार्यकर्ताहरू कोही आफ्नै क्षेत्रमा खटिरहेका छन् त कोही फरक क्षेत्रमा पुगेर पनि जनतासँग कुराकानी गरिरहेका छन्।

तीन महिने अभियानका लागि पार्टीका केन्द्रीय सदस्यलाई जिल्ला र पालिकाको जिम्मेवारी दिइएको छ। यो अभियानमा सात प्रदेशका सात वटा वडामा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल विशेष जिम्मेवारीसहित सहभागी हुने यसअघि नै घोषणा भइसकेको छ। पार्टीको केन्द्रीय समितिको बैठकमा पार्टी विघटनको अवस्थामा पुगेको भन्दै नेतृत्वको आलोचना भएपछि सुरु भएको तीन महिने अभियानले माओवादीलाई जनतासँग जोडेको छ।

जनतालाई भेट्न घरमा पुगेका माओवादीका नेता तथा कार्यकर्ताहरूले आफ्नो पार्टी राम्रो भएको त बताएकै छन् त्यो बाहेक जनमैत्री काम गर्नमा पनि उनीहरू तल्लीन देखिन्छन्। कुराकानी गरेर मात्रै भन्दा पनि सामाजिक कामहरू गरेरै जनताको विश्वासमा आफूहरू बस्न खोजेको नेताहरूका कामले देखाएको छ। यसैको एउटा उदाहरण हो जिल्लको जलजला गाउँपालिका–७ धाइरिङको खानीगाउँमा माओवादीका नेता तथा कार्यकर्ताहरूबाट श्रमदान गरेर खानेपानी योजनाको मर्मत कार्य।

स्थानीय देउराली आधारभूत विद्यालयमा आपूर्ति गरिएको खानेपानीको लाइनमा समस्या देखिएपछि उनीहरूले खानेपानीको मुहान र पाइपलाइन मर्मत गरे। श्रमदान मार्फत एक वर्षपछि विद्यालयमा खानेपानी आपूर्ति गराइएको माओवादी केन्द्रको जलजला गाउँपालिका अध्यक्ष समेत रहेका गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए।

‘एक वर्षदेखि विद्यालयमा पानीको आपूर्ति नै नभएको रहेछ। यो बारेमा थाहा पाएपछि अभियानकै क्रममा श्रमदान गरेर पाइपलाइन मर्मत गरेका छौँ। हामी आफैले दुई सय मिटर पाइप लगेर यो काम गरेका हौँ’, उनले भने, ‘सरसफाइ सहितका अन्य कामहरू पनि गर्ने तयारीमा हामीहरू छौँ। हाम्रो कामले जनतामा जागेको छ। हामी जनतासँग सिधै जोडिएका कामहरू गरिरहेका छौँ। हाम्रो पार्टीभित्र गर्नुपर्ने सुधारका लागि सुझाव पनि मागिरहेका छौँ।’ जलजला–४ कै काजिन्ने भन्ने ठाउँमा पुगेर माओवादी कार्यकर्ताहरूले करिब ५० मिटर लामो बाटोमा सरसफाइ गर्नुका साथै जीर्ण भएको सडक मर्मत अन्तर्गत सिँढी निर्माण गरेर पुण्यको काम गरेका छन्।

माओवादी कार्यकर्ताहरूले नै कुश्मा नगरपालिका–५ मा रहेको पर्वत अस्पतालमा सरसफाइ गरे। केन्द्रीय सदस्य बलावती शर्मा सहित हातमा कुचो बोकेर गएका उनीहरूले अस्पतालको परिसरमा रहेको फोहोर सहित झाडी र झारपात पनि सफा गरे। जनताको दैनिकी परिवर्तनकै लागि जनयुद्ध गरेका माओवादीले अब जनताको दैनिकीकै लागि सामाजिक परिवर्तन पनि गर्नुपर्ने भएकाले आफूहरू जनताको काममा लागेको सोही सरसफाइ कार्यक्रममा सहभागी नेकपा (माओवादी केन्द्र) कुश्मा नगर कमिटीका अध्यक्ष शङ्कर गिरीले बताए। माओवादीले गरेका राम्रा कामहरूको बारेमा जनता अनविज्ञ रहेकोले यो अभियानमा ती कामहरूको बारेमा पनि बुझाइने उनको भनाइ छ।

‘माओवादीले धेरै कामहरू गरिरहेको भए पनि ती कामहरूको बारेमा जनताका माझमा बताइएको छैन। नेपालको राजनीतिक सुदृढीकरणका लागि पनि यो अभियानले काम गरेको छ’, पर्वत अस्पतालका अध्यक्ष समेत रहेका गिरीले भने ‘यो सुदृढीकरण केवल माओवादी पार्टीको लागि मात्रै नभएर समग्र देशको सुदृढीकरण, राजनीतिक आन्दोलनको शुद्धीकरणका लागि पनि हो। घुसखोरी, भ्रष्टाचार, कालोबजारी, मिटर ब्याज लगायतका जनता मारा अन्याय र अत्याचार नियन्त्रणका लागि जनतामा ऊर्जा जगाउने काम पनि यो अभियानमा चलिरहेको छ।’

माओवादीका केन्द्रीय सदस्य सूदीप कुँवर यही अभियान अन्तर्गत बागलुङमा खटिरहेका छन्। केही दिन अगाडि भइरहेको सिमसिमे वर्षाकै बीचमा पनि उनी सहितका नेता कार्यकर्ताहरूले निसीखोला गाउँपालिका–२ मा रहेको एक माध्यमिक विद्यालय नजिकै रहेको पहिरो पन्छाए। नजिकै रहेको मोटर बाटो र पैदल यात्रीको बाटोमा पनि खाडल थिए। हिलाम्मे बाटोमा आउजाउ गर्न सधैँ समस्या भोग्दै आइरहेको विद्यार्थीहरू सहजताका लागि उनीहरूले राम्रैसँग श्रमदान गरे। लाइन नै लगाएर ढुङ्गा पन्छाए। निसीखोला–५ मा पनि सडक सरसफाइदेखि विभिन्न कामहरू गरिएको केन्द्रीय सदस्य कुँवरले बताए।

नागरिकसहित माओवादीकै कार्यकर्ता जनयुद्धका मुद्दामाथि निराश भइरहेको बेलामा नेता तथा कार्यकर्ता रूपान्तरण हुने, सहिद परिवारसँग भेटघाट गर्ने, सुशासन कायम गर्ने सरकारका काम जनतासामु लैजाने, माओवादीप्रति भइरहेका भ्रमहरू चिरफार गर्ने लगायतका  कामहरू पनि विशेष रूपान्तरण अभियान भइरहेको माओवादीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.