|

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रथम राष्ट्रपति डा. रामवरण यादवले गिट्टी, ढुङ्गा, बालुवा उत्खनन गरी निकासी खुला गर्नेसम्बन्धी सरकारले हालै स्वीकृत गरेको विधेयकमा रहेका निकासीसम्बन्धी केही प्रावधान हटाउने विषयमा ध्यानाकर्षण गराएका छन्।

राष्ट्रपति पौडेललाई पूर्वराष्ट्रपति डा यादवले चुरे, जैविक विविधता, वन एवं कृषि विज्ञहरूसहित राष्ट्रपति भवन शीतलनिवासमा आज भेटेर ध्यानाकर्षण गराएका हुन्।

राष्ट्रपति पौडेलले पूर्वराष्ट्रपति डा यादवसहित विज्ञहरूले गरेको ध्यानाकर्षणप्रति आफू गम्भीर रहेको बताएका राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

पोखरेलका अनुसार राष्ट्रपति पौडेलले चुरे संरक्षण र देशको अन्न भण्डार रहेको तराई मधेसको जैविक विविधता संरक्षणमा आफू सचेत रहेको पूर्व राष्ट्रपति डा यादवलगायत विज्ञलाई बताएका थिए। मन्त्रिपरिषद्को यही असोज १६ गतेको बैठकले निर्माण सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक स्वीकृत गरी संसद्‍मा पेस गर्ने निर्णय गरेको थियो‌। 

प्रथम राष्ट्रपति डा यादवले सो विधेयक संसद्‍बाट जस्ताको त्यस्तै पारित भए राष्ट्रको अस्तित्व नै खतरामा पर्ने चिन्ता प्रकट गर्दै आफ्नो पनि राष्ट्रिय कर्तव्य भएकाले विज्ञहरूसहित राष्ट्रपतिसमक्ष आग्रह गर्न आउनुपरेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.