|

काठमाडौं : नेपालबारे युरोपमा चासो बढेको छ। सन् २०२६ मा विकासोन्मुख मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदै गर्दा नेपालले अब के कस्तो प्रक्रियाबाट आफूलाई बलियो बनाएर लैजान्छ भन्ने चासो युरोपेली संघ (ईयू)मा बढेको हो। 

शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, बेल्जियमस्थित युरोपेली संघको मुख्यालयसँगै यसका विविध निकाय अवस्थित छ, जसले आफूले विभिन्न माध्यमबाट सहयोग गरिरहेका नेपाललगायतका मुलुकबारे विगत र वर्तमानमा भइरहेको परिवर्तनको लेखाजोखा गरिरहेको छ। 

नेपाल सरकारले स्तारोन्नतिका लागि आफ्नोतर्फबाट गृहकार्य थालिसकेको बेल्जियमका लागि नेपालका राजदूत गेहेन्द्र राजभण्डारीले बताए। विकासोन्मुखबाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि आवश्यक तयारीसँगै त्यसपछि लिन सकिने सहयोगबारे पनि सरकारले पहल थालेको उनले जानकारी दिए। 

उनले युरोपेली संघ नेपालको प्रमुख सहयोगी मुलुकमध्येको एउटा भएकाले पनि सरकार सचेत रहेर काम गरिरहेको औँल्याए। उनले ईयू नेपाल सम्बन्ध थप प्रगाढ बनाउन नेपाल सरकार र परराष्ट्र मन्त्रालयको निर्देशनमा दूतावासले ईयूका उच्च अधिकारीसँग कुराकानी गर्ने, थप प्रक्रियाबारे बुझ्ने काम गरिरहेको बताए।

ईयूले अन्य विविध सहयोगको दायरा फराकिलो बनाउँदै अघि बढ्ने विषयमा नेपालका अध्ययन प्रतिवेदनलाई गहनतासाथ नियालिरहेको मानव अधिकारका लागि ईयूका विशेष प्रतिनिध इमोन गिलमोरले बताए। उनले मानव अधिकारसहित विभिन्न पाँच आधारशिलामा युरोपेली संघको विदेश नीतिले काम गर्ने भएकाले त्यही अनुसार नेपालले तयारी गर्नुपर्नेमा जोड दिए।  

त्यस्तै ईयूको एसिया प्रशान्त महाशाखाका निमित्त प्रबन्ध निर्देशक पाओला पाम्पोलिनीले ईयू नेपालको संयुक्त आयोगको बैठकले तय गरेका निर्णयमा नेपालले ध्यान दिनुपर्ने सुझाए। संयुक्त राष्ट्रसंघको बडापत्रको आधारभूत विषयलाई सम्मान गर्दै ईयूले अत्यधिक महत्वपूर्ण पाटोका रूपमा राखेको मानव अधिकारको विषयलाई सुधार गर्नुपर्नेमा उनले जोड दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.