|

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाको आन्तरिक खिचलोका कारण निजी स्रोतका शिक्षकको तलब रोकिएको छ। दसैँका बेला तलब थाप्न नपाएपछि उनीहरू निराश बनेका छन्।

यसैबीच दसैँका बेला बेखर्ची भएका निजी स्रोतका शिक्षकलाई दीपनगर आधारभूत विद्यालयका प्रधानाध्यापक धर्मा भण्डारीले आफ्नै तलव वापतको रकम वितरण गरेका छन्।

उनले साउनदेखि असोज महिनासम्मको पाएको तलबबापतको रकम विद्यालयमा कार्यरत निजी स्रोतका छ जना शिक्षक शिक्षिकालाई बराबर पुग्ने गरी बाँडेका छन्।

‘दसैँका बेला मेरो खातामा तलब आइपुग्यो,’उनले भने,‘आफूसँग विद्यालयमा पढाउने अति लगनशील शिक्षकलाई दसैँ जस्तो महत्वपूर्ण पर्वको समयमा खाली हात पठाउनसक्ने कुरै भएन, बरु आफू खाली हुनु ठिक छ भनी पाएको तलब पछि सोध भर्ना हुनेगरी बाँडिदिए।’

 दशैँको बिदा हुनै लाग्दा निजी स्रोतका शिक्षक तलब नपाएर निरास भएपछि बाँडेको उनले बताए। ‘दसैँको बिदा हुनै लाग्दा निजी स्रोतका शिक्षक तलब नपाइएपछि खाली हात घर जान थाले, भावुक भएर हेर्न थाले, मुटु भक्कानियो, मन थाम्न सकिन, त्यसपछि आफ्नै तलबबाट रकम बाँड्ने निधो गरे, बाँडे,’उनले भने। 

तलब नपाएर हैरान भएकाबेला प्रधानाध्यापकले आफ्नै तलबबाट दसैँ खर्चका लागि रकम उपलब्ध गराएपछि निकै सहज भएको विद्यालयका शिक्षक कर्णबहादुर कुवँरले बताए। थोरै रकम पाए पनि दसैँका लागि खर्च गर्न पुग्ने भएकाले खुसी भएको उनले बताए। ‘स्थायी शिक्षक जस्तै हामीले पनि विद्यालयमा पठनपाठनको काम गरेका छौँ,’ उनले भने,‘विद्यालय व्यवस्थापन समितिले राखेकाले उसैले तलब व्यहोरोस् भनेर नगरपालिकाले पठाउने अनुदान रोक्दा निकै हैरान छौँ, हतास मनस्थितिमा पनि छौँ।’

उनले गुणस्तरीय शिक्षाको नारा दिएर चुनाव जितेका जनप्रतिनिधिले नगर शिक्षक राख्ने बहानामा विद्यालयमा वर्षौंदेखि पठनपाठनको काम गर्दै आएका शिक्षकलाई विस्थापन गराउन तलब रोक्ने निर्णय कतिको ठीक हो भन्दै प्रश्न गरे।

कक्षा १ देखि ८ सम्म पठनपाठन हुने विद्यालयमा एक जना स्थायी र एक जना राहतबाहेक अन्य छ जना शिक्षक निजी स्रोतमा कार्यरत रहेका छन्। विद्यार्थीको सङ्ख्या एक सय ६२ रहेको छ। नगरपालिकाले निजी स्रोतका शिक्षकको तलब रोके पनि वडा कार्यालयले विद्यालयलाई रु दुई लाख अनुदान रकम उपलब्ध गराउने गरी बजेट विनियोजन गरे पनि खाता सञ्चालन नहुँदा विद्यालयको खातामा रकम आई पुगेको छैन।

खातामा रकम नआइपुग्दा निजी स्रोतका शिक्षकले तलब पाउन नसकेका हुन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्ना लुहार विद्यालयमा पढ्नेमध्ये ८० प्रतिशत बढी विद्यार्थी दलित समुदायको रहेको बताउँछिन्।

‘अभिभावकको आर्थिक अवस्था कमजोर हुँदा निजी स्रोतका शिक्षकको तलब जुटाउन सकेका छैनौँ,’उनले भनिन,‘नगरपालिकाले अनुदान रकम रोक्दा विद्यालय सञ्चालन गर्न निकै अप्ठ्यारो भएको छ,नगरपालिकाले विद्यालयले निजी स्रोत शिक्षकको तलबबापतको अनुदान रकम रोक्ने हो भने विद्यार्थी अनुपातमा दरबन्दीका शिक्षकको व्यवस्था गर्न सक्नुपर्छ, विद्यालयलाई राजनीति गर्ने थलोका रुपमा विकास नगरी स–साना बालबालिकाको भविष्यका बारेमा सोच्नुपर्छ।’ 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.