|

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको मुहान (हेड वर्क्स) सारिने भएको छ। अहिले सिन्धुपाल्चोकको हेलम्बुमा रहेको हेडवक्र्स सो क्षेत्रको भूबनोट तथा बाढीपहिरोको जोखिमका कारण सार्नुपर्ने भएको मेलम्ची खानेपानी आयोजना विकास समितिले जनाएको छ।

सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले एसियाली विकास बैंक (एडीबी) ले गरेको अध्ययन प्रतिवेदनका आधारमा आयोजनाको हेड वर्क्स अहिले भएको स्थानभन्दा करिब एक किलोमिटर माथि सार्नुपर्ने भएको जानकारी दिए। एडीबी आयोजनाको दातृ निकाय हो। मेलम्ची खोलामा आएको पटक–पटकको बाढीपहिरोले हेड वर्क्स क्षतिग्रस्त हुँदै आएको छ।

‘बैंकले आयोजनालाई अध्ययन प्रतिवेदन बुझाइसकेको छ। अब सो सम्बन्धमा काम अगाडि बढाउन सरकारले निर्णय गर्नु पर्छ। निर्णयपछि नयाँ हेडवर्क्स बनाउन सिफारिस गरिएको ठाउँको भौगर्भिक अध्ययनका साथै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गर्न परामर्शदाता चयनका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नु पर्छ’,उनले भने, ‘भौगर्भिक अध्ययन प्रतिवेदन स्वीकृत भएपछि हेड वर्क्स  निर्माणका लागि निर्माण कम्पनी छनोट प्रक्रिया अगाडि बढ्छ।’

कम्पनी छनोट भइसकेपछि हेड वर्क्स निर्माण गरी त्यसको सञ्चालन गर्न करिब तीन वर्ष समय लाग्न सक्ने प्रवक्ता पन्तको भनाइ छ। नयाँ हेडवर्क्स निर्माण गरी सञ्चालनमा ल्याउन लाग्न सक्ने लागतको यकिन डीपीआर निर्माणपछि मात्र स्पष्ट हुने उहाँको भनाइ छ।

मेलम्ची खानेपानी आयोजनाको समय दुई दशक थप गरिए पनि अहिलेसम्म सो आयोजना स्थायी रूपमा सञ्चालनमा आउन सकेको छैन। शुरुमा १५ अर्ब रुपैयाँ लागत भनिएकोमा कुल लागत ३५ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेर अस्थायी रूपमा निर्माण गरिएको आयोजनाबाट अहिलेसम्म नियमित रूपमा पानी वितरण गर्न सक्ने अवस्था छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.