‘बढी भाडा लिए सम्बन्धित ठाउँमा जानकारी दिनू’

|

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले आइतबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ११ रूपैयाँ घटाएको छ। यसैगरी डिजेलको मूल्य प्रतिलिटर ५ रूपैयाँ घटेको छ।

यो मूल्य घटेसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रूपैयाँ पर्नेछ भने डिजेलको १६८ रूपैयाँ पर्नेछ। निगमले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको जनाएको छ। निगमले भारतीय आयल कर्पोरेशन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको बताएको छ।

तर पेट्रोलियम पदार्थको मूल्य घटे पनि सार्वजनिक यातायातको भाडा भने नघट्ने भएको छ। यातायात व्यवस्था विभागले अन्तर प्रदेश र उपत्यकामा चल्ने सार्वजनिक बसको भाडा नघट्ने जनाएको छ। 

यातायात व्यवस्था विभागका सूचना अधिकारी इश्वरीदत्त पनेरूले डिजेलको मूल्य घटे पनि वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालित रूपमा ५ प्रतिशत तलमाथि नभएका कारण भाडादर नघट्ने जानकारी दिए।

उनका अनुसार सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालित रूपमा भाडा घटाउने र बढाउने गरिएको छ। यसमा १३ वटा सूचकसहित मापदण्ड बनाइएको छ।

‘यसमा इन्धनको हकमा ३५ प्रतिशत छुट्याएको छ, ५ प्रतिशत तलमाथि हुनुपर्छ,’ उनले भने, ‘५ प्रतिशतभन्दा बढी डिजेलको मूल्य घट्यो भने मूल्य घट्ने हो र ५ प्रतिशत वृद्धि भएमा भाडा बढ्ने हो तर यसमा ५ प्रतिशत तलमाथि भएन, त्यसैले भाडा घट्न सकेन।’ 

गत साउन १ गते इन्धनको मूल्य घटेको बेला विभागले अन्तर प्रदेशमा चल्ने सार्वजनिक र मालवाहक सवारीसाधनको भाडा २ दशमलव १३ प्रतिशतले घटाएको थियो। यसैगरी, मालवाहक सवारीमा पहाडमा २ दशमलव ७८ र तराईमा ३ दशमलव ०९ प्रतिशतले भाडा घटेको थियो।

पछि चौतर्फी आलोचना भएपछि ११ गते बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले पनि बागमती प्रदेशभर चल्ने सार्वजनिक सवारीसाधनको भाडा घटायो।

प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका अनुसार प्रदेशभर चल्ने लामो रूटको सवारीमा २.३० प्रतिशत, सिटी बसहरूमा ३.२६ प्रतिशत र मालवाहक सवारीसाधन (ट्रक)मा ३.१ प्रतिशतले भाडा घटाइएको थियो। तर यो पटक भने पेट्रोलियम पदार्थको मूल्य घटे पनि भाडादर नघट्ने भएको हो।

विभागले भन्यो : बढी भाडा लिए सम्बन्धित ठाउँमा जानकारी दिनू

सरकारले दशैँको लागि अग्रिम टिकट खोलेसँगै यतिखेर गोँगबुस्थित नयाँ बसपार्क लगायत अन्य टिकट काउन्टरहरूमा टिकट लिनेको भीड लागेको छ। कतिपय यात्रुहरू टिकट काटेर पनि गाउँ गइसकेका छन्।

पछिल्लो समय टिकट नपाएको र सरकारले निर्धारण गरेको भाडाभन्दा बढी यातायात व्यवसायीहरूले भाडा लिएको पनि गुनासो सर्वसाधारणहरूले गरेका छन्।

चाडपर्वको मौका छोपेर आफूखुसी भाडा लिएको तर सरकारले अनुगमन गरी नियमन गर्न नसकेको यात्रुहरूले भनेका छन्। यता, यातायात व्यवस्था विभागले त्यसरी बढी भाडा लिएमा सम्बन्धित निकायमा प्रमाणसहित जानकारी गराउन अनुरोध गरेको छ।

विभागका सूचना अधिकारी पनेरूले प्रमाणसहित जानकारी गराउन आग्रह गरे। उनले भने,‘सरकारले ठाउँ ठाउँमा यात्रु सहायता कक्षा खोलेको छ, टिकट नपाए वा बढी लिए प्रमाणसहित जानकारी दिन सक्नुहुन्छ, तुरून्तै कारबाही हुन्छ,’ उनले भने।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार पछिल्लो तीन दिनमा १ लाख ५० हजार ३०९ यात्रु उपत्यकाबाट बाहिरिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.