|

काठमाडौं : बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी जब २०७८ चैत १५ गते काठमाडौं उपत्यकामा वितरण थालियो, त्यसपछि काकाकुल उपत्यकावासीमा छाएको थियो खुशी।

पानी आउने मिति पटक–पटक सर्दा सर्दा वाक्क भएका उपत्यकावासी आयोजना सुरु भएको दुई दशकपछि पानी आएपछि अब निरन्तर पिउन पाइन्छ भन्ने सोचेका थिए तर उनीहरूको सपना अझैसम्म पनि पूरा हुन सकेको छैन। 

कहिले बाढी त कहिले सरकारको ढिलाइले दीर्घकालीन रुपमा पानीको उपयोग गर्न पाएका छैनन्। पानीको हाहाकारमा बाँचेका शहरवासीलाई पानी उपलब्ध गराउने बेला फेरि आयोजनाको मुहान (हेडवर्क्स) सारिने भएको छ।

हाल रहेको हेडवर्क्स क्षेत्रको भूबनोट तथा बाढीपहिरोको जोखिमका कारण सार्नुपर्ने भएको मेलम्ची खानेपानी आयोजना विकास समितिले जनाएको छ।

समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार एशियाली विकास बैंक (एडीबी) ले गरेको अध्ययन प्रतिवेदनका आधारमा आयोजनाको हेडवर्क्स अहिले भएको स्थानभन्दा करिब एक किलोमिटरमाथि सार्नुपर्ने सुझाव दिएको छ। एडीबी आयोजनाको दातृ निकाय हो। 

उनले भने, ‘बैंकले आयोजनालाई अध्ययन प्रतिवेदन बुझाइसकेको छ, अब सो सम्बन्धमा काम अगाडि बढाउन सरकारले निर्णय गर्नुपर्छ। निर्णयपछि नयाँ हेडवर्क्स बनाउन सिफारिस गरिएको ठाउँको भौगर्भिक अध्ययनका साथै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गर्न परामर्शदाता चयनका लागि अन्तरराष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्छ।’

उनले भौगर्भिक अध्ययन प्रतिवेदन स्वीकृत भएपछि हेडवर्क्स निर्माणका लागि निर्माण कम्पनी छनोट प्रक्रिया अगाडि बढ्ने बताए। 

दीर्घकालीन व्यवस्थापन नहुँदा मेलम्ची पानी पटक पटक बन्द

मेलम्ची खानेपानीको दीर्घकालीन व्यवस्थापन हुन नसक्दा पटक–पटक पानी बन्द भएको छ। बाढीले पनि उत्तिकै क्षति पुर्‍याउँदा राज्यलाई आर्थिक क्षतिसँगै भार पनि थपिरहेको छ।

पहिलो पटक ल्याउँदा पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण भयो तर २०७८ साल असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुग्यो। 

क्षति भएको ९ महिनापछि अर्थात् २०७९ वैशाख ११ गते अस्थायी रूपमा फेरि पानी काठमाडौं ल्याइयो। सरकारले पहिला जस्तो बाढीबाट क्षति हुन नदिन भन्दै २०७९ जेठ १७ गते मेलम्चीको पानी ल्याउन बन्द गरेको थियो। बर्खा सकिए पनि सरकारले समयमा पानी ल्याउन सकेन।

बन्द गरेको ६ महिनापछि मात्र मेलम्चीको पानी सरकारले काठमाडौं ल्यायो। क्षति मर्मतपछि गत मंसिर २३ गतेदेखि पानी वितरण भएको थियो। फेरि मेलम्ची खानेपानी विकास समितिले यो वर्षामा पनि मेलम्चीको पानी ल्याउन संरचना मर्मतको काम गरिने भन्दै गत जेठ ५ गतेदेखि १५ गतेसम्म अर्थात् १० दिन पानी पठाउन बन्द गर्‍याे।

उक्त संरचना मर्मतपछि पानी उपत्यकामा आयो। विकास समितिले वर्षा कालमा पनि पानी आउने जनाएको थियो तर पुनः बन्द गरियो र यस वर्षको बाढीले पनि आयोजनामा क्षति पुर्‍यायाे। मेलम्ची खानेपानी आयोजना विकास समितिका अनुसार २०७८ सालमा जस्तै गरी यस वर्षको बाढीले पनि आयोजनामा क्षति पुर्‍याएकाे छ।

हेडवर्क्स बनाउन ३ वर्ष लाग्ने

मेलम्ची खानेपानी आयोजना विकास समितिका अनुसार हेडवर्क्स निर्माण गरेर सञ्चालनमा ल्याउन करिब ३ वर्ष लाग्नेछ। खर्च लागतको विषयमा डीपीआर निर्माणपछि मात्रै यकिन हुने मेलम्ची खानेपानी आयोजना विकास समितिका प्रवक्ता पन्तले जानकारी दिए।

सरकारले यसअघि आयोजनामा शुरुमा १५ अर्ब रुपैयाँ लागत भनेकोमा कुल लागत ३५ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको जनाएको छ। 

अब पानीको समस्या झन् बढ्ने

मेलम्ची पानी आउने नआउने अनिश्चित भइरहँदा यता अब काठमाडौं उपत्यकामा भने झनै पानीको हाहाकार बढ्ने भएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रवक्ता प्रकाशकुमार राईले वर्षातमा भन्दा पनि हिउँदमा बढी पानीको समस्या हुने जानकारी दिए।

यस वर्षको मनसुन पनि नेपालबाट बाहिरिएको छ। उनका अनुसार उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ तर मेलम्चीको पानी बन्द हुँदा अरू स्रोतबाट दैनिक १५ देखि १६ करोड लिटर पानीको आपूर्ति हुन्छ।

झनै सुक्खा याममा घटेर दैनिक १०–११ करोड लिटर मात्रै आपूर्ति हुन्छ। ‘वर्षातको समयमा आकाशेपानी पनि उपयोग गरिने गरेकाले धेरै समस्या हुँदैन थियो तर वर्षातमा भने पानी वितरणमा समस्या हुन्छ,’ उनले भने।

यसो भन्छ खानेपानी मन्त्रालय 

खानेपानी मन्त्रालयका सूचना अधिकारी टेकनाथ दहालले भने अझै एशियाली विकास बैंक (एडीबी) ले गरेको अध्ययन प्रतिवेदन मन्त्रालयमा आइनपुगेको जानकारी दिए।

प्रतिवेदन पाएपछि मात्रै सरकारले नीतिगत निर्णय गर्ने उनले बताए। ‘हामीकहाँ अझै एडीबीको प्रतिवेदन आएको छैन, उनीहरूले बुझाएपछि के गर्ने भन्ने सरकारले नीतिगत निर्णय गर्छ,’ उनले थाहाखबरसँग भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.