संसदको अंक गणितबारे ज्ञान नहुँदा याे परिणाम

|

विराटनगर : काेशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले केन्द्रीय गठबन्धनले लज्जास्पद निर्णय गरेपछि आफूहरू  विपक्षी भएको बताएका  छन्।

प्रदेशसभामा मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि एमालेको तर्फबाट धारणा राख्दै निवर्तमान मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन्। 

‘यो संविधान अनुकूल भएन। गबठन्धनले यहाँका अमुक नेताको नाममा सहमति गरेको विज्ञप्ति आयो। त्यसपछि हामी रन्थनियौँ। त्यही बेला केदार कार्कीले हिम्मत गर्नुभयो। हामीले समर्थन गर्यौं। मध्यावधिमा जानसक्ने चक्रको अन्त्य गर्यौं। के यो गल्ती भयो ? संविधानको उपधारा ५ मा हामीले पुर्याएका हौँ?’ उनले भने,  ‘यस विषयमा एमालेले गल्ती गरेको रहेछ भने भोलि कुनै दिन माफी मागौँला। तर, हामीले गल्ती गरेका छैनौँ।’

उनले संविधानको प्रावधानअनुसार आफूले प्रदेशमै निर्णय गरेको दावी पनि गरे। ‘माथिको आदेश पालना गरेर हामीले निर्णय गरेका होइनौँ। यो हिक्मत कार्की नेकपा एमाले संसदीय दलको नेताको हैसियतले गरेको हो,’ उनले भने।

उनले केन्द्रीय सत्ता गठबन्धनमा हिजो पनि नभएको र आज पनि नहुने बताए। उनले संसदको अंक गणितका बारेमा सामान्य ज्ञान नहुँदा अहिलेको परिणाम आएको बताए।

‘गणितको समेत सामान्य ज्ञान नराखी हामी यो जनादेशलाई समेत भुलेर सरकार गठन र विघटनमा रुमल्लिरहेका छौँ। यो कारणले मध्यावधि निर्वाचनमा जाने त होइन भन्ने अवस्थामा आइपुगेका छौँ। यो कुरालाई हेक्का राखेर काम गर्नुपर्नेछ। हाम्रो निर्वाचन प्रणालीमा समस्या छ। कसैको पनि बहुमत नआउने खालको निर्वाचन प्रणाली छ,’ उनले भने, ‘दुई वा दुईभन्दा बढी दलहरू मिलेर मात्रै बहुमत पुग्ने अवस्था छ। यो विषय हामीले नबुझेजस्तो गर्नु हुँदैन। हामी मेजर दलहरू पनि यो कुराबाट चुकिरहेका छौँ। त्यसकारण कहिले यो र कहिले त्यो भनेर लागिरहेका छौँ।’ 

उनले सहमतिले संविधान निर्माण गरेको दृष्टान्त दिँदै मूल धेयमाथि नकारात्मक नबन्न सबैलाई आग्रह पनि गरे।  ‘कमजोरी लुकाउन अनेक कमजोरी भए। संविधान मिच्न अनेक काम गर्दै गयौँ,’ उनले भने,  ‘हामी आफैँले संविधानको व्याख्या गर्न थालेपछि समस्या भयो,’ कार्कीले भने। 

कार्कीले अहिलेको परिस्थिति आउनका लागि गठबन्धन नै जिम्मेवार रहेको संकेत गरे।  ‘संविधानको धाराको प्रयोग गर्दैजाँदा कहाँ पुग्छौँ भन्ने हेक्का नराख्दा अहिलेको स्थितिमा आएका हौँ,’ कार्कीले भने,  ‘बजेट ल्याउन नदिने, बजेटको मुखमा सरकार छाड्ने जस्ता काम भए। संविधानको धारा २ र ३ का सरकारलाई विश्वासको मत दिन सकेनौँ। त्यसपछि अहिले कुण्ठा र आक्रोश पोख्ने ठाउँमा पुग्यौँ।’

संविधानको धारा १६८ (३) लाई विश्वासको मत दिन भन्दै आफू केन्द्रका नेतालाई पनि भनेको बताउँदै उनले उपधारा (५) मा बनिबनाउ बहुमत भएजस्तो कुरा गरेका कारण अहिलेको अवस्था आएको उनले बताए।

‘संविधानको धारा १६८ को उपधारा ५ मा पुगेपछि दलको मात्रै कुरा हुँदैनन्, सांसद स्वतन्त्र हुन्छन् भन्ने हेक्का राखेको पाइएन,’ कार्कीले भने,  ‘हामीले कांग्रेस, माओवादीसँग पनि कुरा गर्दा संस्थागत सहमति हुन सकेन। केन्द्रमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू कसैले पनि सकारात्मक जवाफ नदिएका कारण मैले राजीनामा दिएको हुँ।’ 

वातावरण सकारात्मक बन्नसक्ने देखेरै आफूले राजीनामा दिएको उनले बताए। कार्कीले हलो अड्काएर गोरु कुट्ने काम नगर्न आग्रह गर्दै मध्यावधिमा लाने प्रयास नगर्न चेतावनी पनि दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.